गल्फमा भुवनलाई अग्रता

समाधान संवाददाता २०७९ फागुन ११ गते ११:३७

पोखरा ।
सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन भुवन नगरकोटी २ अन्डर ६७ सहित शीर्षस्थानमा छन् । पोखरा स्थित ६९ पारको हिमालयन गल्फ कोर्समा जारी प्रतियोगितामा भुवनले सञ्जय लामा र एमेच्योर खेलाडी प्रज्वल गुरूङलाई ३ स्ट्रोकले पछि पारे ।

Advertisement

सञ्जय र प्रज्वल १ ओभर ७० स्कोर गर्दै संयुक्तरुपमा दोस्रो स्थानमा छन् । दलबहादुर लामा, रामे मगर र राष्ट्रिय टिमका सदस्य एमेच्योर खेलाडी सद्भाव आचार्यले २ ओभर ७१ सहित चौथो स्थान बाँडे । १३ औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता एमेच्योर खेलाडी सुवास तामाङ र प्रो धनबहादुर थापाले ३ ओभर ७२ को स्कोर कार्ड बनाए ।

दुवै खेलाडी संयुक्तरुपमा सातौं स्थानमा छन् । ४ ओभर ७३ स्कोरका साथ नेपाल नम्बर एक शुक्रबहादुर राई, दिनेश प्रजापति, कमल तामाङ तथा एमेच्योर गल्फरहरू महेन्द्र फगामी र सुरेश तामाङ संयुक्त रुपमा नवौं स्थानमा छन् । नेपालकै कठिन मानिने हिमालयन गल्फ कोर्समा सहभागी ४५ खेलाडीमध्ये भुवनले मात्र अन्डर पारमा खेल सकाए ।

पहिलो होलमा बोगीको सामना गरे पनि चौंथो र छैटौं होलको बर्डीले फ्रन्ट नाइन १ अन्डर ३३ मा सकाए । यसपछि १० औं, १३ औं र १७ औं होलमा एक, एक सट बचाए भने १३ औं र १६ औं होलमा बोगी खेपे । उनले ब्याक नाइन १ अन्डर ३४ मा पूरा गरे । यसरी उनले दिनकै उत्कृष्ट २ अन्डरको स्कोर कार्ड बनाए ।

सञ्जय लामाले दोस्रो होलको बोगीले फ्रन्ट नाइन १ ओभर ३५ मा सकाए । यसपछि १५ औं होलमा बर्डी प्रहार गरे पनि १६ औं होलमा १ सट खेर फल्दै ब्याक नाइन इभन पार ३५ मा पूरा गरे । प्रज्वल गुरूङले राम्रो सुरुवात गर्दै चौंथो, पाँचौ र सातौं होलमा बर्डीको सफलता प्राप्त गरे ।

Advertisement

आठौं होलमा बोगीको सामना गर्दा फ्रन्ट नाइन २ अन्डर ३२ को नतिजामा सकाए । ब्याक नाइनमा लय गुमाउँदा १२ औं, १५ औं, १६ औं र १८ औं होलमा ४ वटा बोगी खेपे । १४औं होलको बर्डीले ब्याक नाइन ३ ओभर ३८ मा सकाए । पहिलो दिनको खेलमा ९० वा सो भन्दा माथि स्कोर गरेका ३ एमेच्योर खेलाडी विदुर तामाङ, प्रकाश गुरुङ र जितेन्द्र राई प्रतियोगिताबाट बाहिरिएका छन् ।

५४ होलको प्रतियोगितामा ३१ व्यावसायिक र १४ एमेच्योर गरी कुल ४५ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । ३६ होलको खेलपश्चात उत्कृष्ट २१ प्रोफेसनल र कम्तीमा ६ एमेच्योरले अन्तिम १८ होलका लागि कट बनाउनेछन् ।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा भइरहेको प्रतियोगिताका विजेताले १ लाख ४० हजार, उपविजेताले ९० हजार र तेस्रो हुने खेलाडीले ६७ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

कुल ८ लाख नगद पुरस्कार रहेको प्रतियोगिताको शीर्ष २१ मा रहने अन्य व्यावसायिक खेलाडीले पनि नगद पुरस्कार हात पार्ने छन् । शनिबार हुने प्रो एमसँगै प्रतियोगिता सकिनेछ ।

तपाईको प्रतिक्रिया