प्रहरीका समस्या सुन्दै आन्तरिक मामिला मन्त्री

पोखरा ।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रोशन बहादुर गाहा थापाल नवलपुरका विभिन्न प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालय निरीक्षण गरेका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उनले पहिलो पटक गृह जिल्ला पुगेर प्रहरी कार्यालय र त्रिवेणी भन्सारको स्थलगत अनुगमन गरेका हुन् ।
मन्त्री गाहामगरले छिमेकी राष्ट्र भारतसँगको सिमानामा रहेको इलाका प्रहरी कार्यालय त्रिवेणी, सोही सीमामै रहेको सशत्र प्रहरी बलको विओपी, बुलिङटार प्रहरी चौकी र इलाका प्रहरी कार्यालय डेढगाउँको निरीक्षण गरे । प्रहरी कार्यालयलाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक रहेकाले सोही अनुरुपअघि बढ्ने मन्त्री गाहामगरले बताए । ‘अनुगमनपछि मैले सिमित स्रोत र साधनले उच्च मनोबलसहित देश र जनताको सेवामा समर्पित भएको देखे,’ मन्त्री गाहामगरले भने, ‘राष्ट्रसेवकहरुको न्यूनतम र आधारभूत आवश्यकतालाई सम्बोधन गर्नेगरि तयारी थाल्नेछौं ।’
उनले अनुगमन गरेका २ इलाका प्रहरी कार्यालय १ वटा बिओपी र एक प्रहरी चौकीको बेग्लाबेग्लै समस्या रहेको बताउँदै समाधान गर्न मन्त्रालयपछि नहट्ने बताए । सीम ाक्षेत्रमा खटिएका प्रहरी तथा सशत्र प्रहरीका लागि विपद् व्यवस्थानका लागि उद्धारका समाग्री, सुरक्षा र गतिविधिको प्रत्यक्ष निगरानी बढाउने उद्देश्यसहित सिसिटिभी जडान, प्रहरी कार्यालयको कम्पाउन्डिङ गरिनुपर्ने सम्बन्धित प्रहरी कार्यालयले जनाएका थिए ।
सो मागहरु पूरा गर्नका लागि मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले सम्बन्धित स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने बताए । ३ दिने स्थलगत अवलोकनसहित गृहजिल्ला नवलपुर पुगेका मन्त्री गाहामगरलाई विभिन्न सामाजिक संस्थाले सम्मान गरेका छन् ।
तपाईको प्रतिक्रिया