‘सडकको माग नसुने सिंहदरबार जान्छौं’

समाधान संवाददाता २०७९ फागुन १२ गते १०:०७

पोखरा ।
पोखराका उद्योगी, व्यवसायी बैंक तथा वित्तीय संस्थाले ज्यादती गरेको भन्दै सडकमा आएका छन् । आर्थिक संकटका बेला ब्याज बढाउने, धितो लिलामी गर्ने धम्की दिने, ब्याज र किस्ता तिर्न मानसिक यातना दिन गरेको भन्दै उद्योगी, व्यवसायी आन्दोलित भएका हुन् ।

Advertisement

पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा बिहीबार उद्योगी, व्यवसायी सडकमा ओर्लिएका हुन् । विभिन्न मागसहितका प्लेकार्ड र ब्यानरसहित उनीहरुले पोखराको चिल्लेढुंगाका चोकमा १ घन्टासम्म प्रदर्शन गरे । कार्यक्रममा पोखरा र लेखनाथ क्षेत्रमा रहेका विभिन्न वस्तुगत संघ, यातायात व्यवसायसँग सम्बन्धित संस्था, प्याब्सन, एनप्याब्सन लगायतको सहभागिता थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी अध्यक्ष सञ्जीवबहादुर कोइरालाले बैंकले कर्जामा गरेको ब्याजदर वृद्धिले उद्योगी, व्यवसायी उठ्नै नसक्ने अवस्थामा पुर्‍याएको दाबी गरे । उनले उद्योग, व्यवसाय बन्द हुनु भनेको अर्थतन्त्र धरासायी हुनु भएको बताए । यो समस्याप्रति राजनीतिक दलहरुको धारणा सार्वजनिक हुनुपर्ने मागसमेत उनले गरे ।

‘भूकम्प, बाढी, पहिरो जस्ता विपत्ति अनि राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिन्छ भने व्यवसायीको समस्यामा किन नखोज्ने ?,’ उनको प्रश्न छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले यो विरोधलाई सांकेतिक अभियानको रुपमा व्याख्या गर्दै बैंकको ज्यादतीविरुद्धको आन्दोलन देशव्यापी बनाउने उद्घोष गरे ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले बैंक तथा वित्तीय संस्थाबाट कर्जामा गरिएको व्याज वृद्धि, धरपकड एवं मानसिक आतंकले सीमा नाघेकाले बाध्य भएर सडकमा आउनु परेको बताए । उनले लामो समयदेखि निजी क्षेत्रले बैंकले कर्जामा बढाएको ब्याजदर घटाउन माग गरिरहे पनि नसुनिएको जिकिर गरे ।

Advertisement

‘हामीले ऋणको किस्ता र ब्याज तिर्दैनौं भनेकै छैनौं । हाम्रो माग भनेको एकाएक र एकतर्फी रुपले बढाइएको ब्याजदर घटाऊ र ऋणको किस्ताको पुनर्तालिकीकरण गर भन्नेमात्र हो,’ उनले भने,‘ अहिले अवस्था ठीक छैन, हाम्रो व्यापार छैन । व्यापार हुनासाथ कर्जा तिर्छौं, समय देऊ भन्ने सामान्य माग पनि नसुन्ने सरकार देखेर हामी दुखित भएका छौं ।’

उनले शान्तिपूर्ण आवाज नसुनिए काठमाडौं नै पुगेर आन्दोलन गर्ने चेतावनीसमेत दिए । ‘ब्याजदर घटेन भने हामी बाध्य भएर व्यवसायको ताला, चाबी सरकारलाई बुझाउँछौंैं,’ उनले भने । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले कार्यक्रममा सहभागीलाई आउँदा दिनमा गरिने सशक्त आन्दोलनको लागि तयार रहन आग्रह गरे ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठान्न सरकारलाई आग्रह गरे । निजी क्षेत्रको मागको सुनुवाइ नभएसम्म विरोधका कार्यक्रम जारी रहने र आवश्यक परे काठमाडौं नै पुगेर विरोध प्रदर्शन गरिने पनि उनले जनाए ।

तपाईको प्रतिक्रिया