पोखरा–जोमसोम उडान १७ गतेदेखि

सुन्दरकुमार थकाली २०७९ फागुन १२ गते १०:३२

जोमसोम ।
गत मंसिर १५ गतेदेखि बन्द पोखरा–जोमसोम हवाई सेवा फागुनको तेस्रो सातादेखि नियमित सञ्चालनमा आउने भएको छ । समिट एअरले फागुन १७ र तारा एअरको जहाजले फागुन २२ गतेदेखि पोखरा–जोमसोम हवाई सेवा सुचारु गर्ने भएका छन् ।
अत्यधिक चिसो र हिमपातको जोखिम हुने भएकाले एअरलाइन्स कम्पनीले पोखरा–जोमसोम हवाई सेवा स्थगित गरेका थिए ।

हिउँद याम पर्यटकीय मौसम नभएकाले निजी एअरलाइन्स कम्पनीले पोखरा–जोमसोम हवाई सेवा अनिश्चितकालका लागि बन्द गरेका थिए । हिउँद याम समाप्तिसँगै वसन्त ऋतु आउँदै गरेको हुँदा पोखरा–जोमसोम हवाई सेवा नियमित सञ्चालनमा ल्याउने तयारी भइरहेको समिट एअरलाईन्सका पोखराका प्रबन्धक पोषणमणि त्रिपाठीले जानकारी दिए ।

समिटले फागुनको १७ गतेदेखि पोखरा–जोमसोम हवाई उडान सञ्चालनमा ल्याउन लागेको उनले बताए । जोमसोम उडानका लागि अग्रीम टिकट बुकिङ खुला भइसकेको समिट एअर पोखराका प्रबन्धक त्रिपाठीले उल्लेख गरे ।

Advertisement

यसैगरी पर्यटकीय सिजन सुरु भइसकेकाले पोखरा–जोमसोम उडानलाई नियमित गर्न पहल भइरहेको तारा एअर जोमसोमका प्रतिनिधि सुजन लालचनले जानकारी दिए । ‘तारा एअरले फागुनको २२ देखि सेवा सञ्चालनमा ल्याउने छ, बुकिङसमेत खुला गरिएको छ,’ जोमसोम प्रतिनिधि लालचनले भने, ‘मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन सुरु भइसकेको छ, अब उडानलाई नियमित गराइनेछ ।’

हिउँदयाममा पर्यटकको उपस्थिति एकदमै न्यून हुन्छ । यसैका कारण निजी एअरलाईन्स कम्पनीले हिउँदयामको समयमा उडान स्थगित गर्छन् । हिउँद यामको समाप्तिसँगै ३ महिनापछि पोखरा–जोमसोम हवाई सेवा सञ्चालनमा आउन लागेको हो ।

Advertisement

मुस्ताङमा फागुनदेखि मंसिरसम्म आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य आगमन हुन्छ । यहाँ बर्सेनि झन्डै ५ लाख आन्तरिक र ६० हजार बाह्य पर्यटक मुस्ताङ आउँछन् । अनुकुल मौसम सुरु भइसकेकाले पोखरा–जोमसोम हवाई उडानलाई नियमित गर्न निजी एअरलाइन्स कम्पनीले चासो देखाएका हुन् ।

मुस्ताङमा आन्तरिक पर्यटकले मुक्तिनाथ दर्शन र उत्तरी कोरलानाकाको अवलोकन गर्छन् । बाह्य पर्यटकमध्ये अधिकांश भारतीय पर्यटक मुक्तिनाथ दर्शन गर्न मुस्ताङ आउँछन् । तेस्रो मुलुक र केही सार्क राष्ट्रका पर्यटक भने उपल्लो मुस्ताङ र अन्नपूर्ण चक्रीय पदमार्गमा आउने मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङले जानकारी दिए ।

हिउँदयामपछि बशन्तऋतुको आगमन भइसकेको र अनुकुल मौसममा पोखरा–जोमसोम १५ देखि २० वटासम्म हवाई उडान हुने गरेको जोमसोम नागरिक उड्यन कार्यालयले जनाएको छ । हिउँद याममा पोखरा–जोमसोम हवाई उडान ठप्प हुँदा जोमसोम विमानस्थल सुनसान बनेको थियो । उडान नियमित भएमा पर्यटकीय गतिविधिसमेत वृद्धि हुने पर्यटन व्यवसायी गुरुङको भनाइ छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया