मुस्ताङमा प्रसूति शल्यक्रियाको दोस्रो सफलता

सुन्दरकुमार थकाली २०७९ फागुन १२ गते १०:४२

जोमसोम ।
हिमाली तथा उच्चपहाडी कतिपय दुर्गम स्थानका जिल्लामा अस्पताल स्थापना भए पनि सामान्य उपचार नपाउँदा बिरामीले वर्षौ वर्षदेखि बिरामीले अकालमा ज्यान गुमाउन बाध्य छन् । दुर्गमका जिल्लामा आवश्यक दक्ष जनशक्ति र आवश्यक उपकरण नहुँदा गरिब तथा विपन्न जनताले भरपर्दो स्वास्थ्य उपचार पाउन बञ्चित छन् ।

मुस्ताङ जिल्ला अस्पताल यस्तै हिमाली भौगोलिक विकटताको पीडा झेल्दै आइरहेको छ । २०३१ सालमा १५ शड्ढयाबाट सुरु भएको मुस्ताङ जिल्ला अस्पतालको इतिहास ४८ वर्ष पूरा भइसकेको छ । संघीयतापछि यो अस्पताल प्रदेश सरकारको मातहतमा आयो । त्यसपछि अस्पताललाई १५ शड्ढयामा स्तरवृद्धि गरियो ।

संघीयताअघि सीमित जनशक्ति र आवश्यक उपकरण नहुँदा मुस्ताङका धेरैजसो सेवाग्राही भरपर्दो स्वास्थ्य उपचार पाउँनबाट बञ्चित भए । अहिले जोमसोम अस्पतालमा बिस्तारै आवश्यक चाहिने उपकरणको व्यवस्थापनको जोहो भइसकेको छ । यद्यपि स्वास्थ्य उपकरणको व्यवस्थापनको समस्या टर्दै गइरहे पनि जनशक्तिको समस्या भने ज्यूँका त्यूँ छ । मुस्ताङ अस्पतालमा अझै एक्सरे, भिडिओ एक्सरे र ल्याबमा आवश्यक जनशक्ति पदपूर्ति हुन सकेको छैन ।

Advertisement

मुस्ताङ अस्पतालमा एकजना नवौं तहको एमडी उत्तीर्ण डक्टरको स्थायी दरबन्दी छ । तर यो दरबन्दी ४८ वर्षदेखि नै खाली छ । भौगोलिक विकटताकै कारण मुस्ताङ अस्पतालमा दक्ष जनशक्ति पदपूर्ति नहुँदा सामान्य अप्रेसन लगायत शल्यक्रिया सेवा प्रभावित बन्दै आइरहेको थियो ।

अस्पताल सेवालाई स्तरोन्नति र सेवा विस्तार गर्ने उद्देश्यसहित मुस्ताङ अस्पतालले गत वर्षदेखि पहल थाल्यो । यसको अगुवाइ अस्पतालका निमित्त मेसु डा. विशाल तिवारीले गरे भने आर्थिक व्यवस्थापन गर्नेतर्फ स्थानीय तहले सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

Advertisement

यसैको परिणाम मुस्ताङ जिल्ला अस्पतालले ४८ वर्षको दौरानमा नवौं तहका एमडिजीपी डाक्टर कुन्दन कर्णलाई करारमा नियुक्त गरियो । उनी आएसँगै शल्यक्रिया उपकरण व्यवस्थापन गरियो । केही स्वास्थ्यकर्मीलाई प्रदेश सरकारको सहयोगमा तालिम लिन पोखरा पठाइयो ।

त्यसपछि डा.कर्णसहितको स्वास्थ्यकर्मी टोलीबाट चालु वर्षको भदौमा पहिलो पटक प्रसूतिको सफल शल्यक्रिया गरी बच्चा जन्माइयो । पहिलोपटक जिल्लामै अप्रेसन शल्यक्रिया हुँदा मुस्ताङी जनता निकै उत्साहित बने । तर, डाक्टर अप्रेसन सफल भएको दुई हप्तामै अस्पताल छोडेर सरुवा भए ।

त्यसपछि एमडिजीपी डाक्टर नहुँदा ६ महिनादेखि शल्यक्रिया सेवा ठप्पै बन्यो । सामान्य अप्रेसन गर्नुपर्ने बिरामी पनि जिल्ला बाहिरका अस्पतालमा जानुपर्ने बाध्यता रह्यो । अस्पतालले पटक/पटक नवौं तहको एमडिजीपी डाक्टर राख्ने पहल गरे पनि कोही आउन मानेनन् ।

शल्यक्रिया सेवा जनशक्ति अभावमा ठप्प हुँदा अस्पतालका निमित्त मेसु तिवारीले डाक्टर खोज्न भौतारिए । यसैमा उनको भेट मनाङमा कार्यरत एमडिजीपी डाक्टर मुखिया घलेसँग भयो । अस्पतालले उनलाई दिने आन्तरिक सेवा सुविधामा सम्झौता भएपछि डा. घरले मनाङ छोडेर पुस १७ गते मुस्ताङ अस्पताल आए । उनी आएसँगै पुन अवरुद्ध शल्यक्रिया सेवा सञ्चालनमा आयो ।

नवौं तहका एमडिजीपी डा. घले मुस्ताङ अस्पतालमा भर्ना भएको करिब दुई महिनापछि मंगलबार दोस्रोपटक एक महिलाको सफल शल्यक्रिया गरी बच्चा जन्माइएको छ । डा. घलेसहितको स्वास्थ्यकर्मी टोलीले घरपझोङ गाउँपालिका–२ मार्फाकी ३० वर्षीया अनीता परियारको कोखमा रहेको अन्दाजी साढे ३ केजी तौलको बच्चा अप्रेसन गरी बाहिर निकाल्न सफल भएको अस्पतालका निमित्त मेसु डा. विशाल तिवारीले जानकारी दिए ।

दोस्रोपटक शल्यक्रिया गरी जन्माइएको आमा र बच्चाको अवस्था सामान्य रहेको डा. तिवारीले उल्लेख गरे । अस्पतालका एमडिजीपी डाक्टर मुखिया घलेले दुर्गमको अस्पतालमा रहेर शल्यक्रिया मार्फत सुत्केरी गराउने अवसर पाउँदा खुसी लागेको बताए ।

मुस्ताङ अस्पतालले सामान्य अप्रेसनको सेवा सुविधा प्रदान गर्ने व्यवस्था गरिए पनि जनशक्तिलाई स्थिर राख्न भने चुनौती नै छ । दुर्गम अस्पतालमा सेवा गरेवापत पाउँने नवौं तहको खर्च व्यवस्थापन मुख्य चुनौती हो । पटक/पटक करारमा भर्ना हुने र केही समयपछि छोडेर जाने परिपाटीले शल्यक्रिया सेवाको निरन्तरता दिन स्थानीय तहको साथ सहयोग आवश्यक रहन्छ । यसका लागि प्रदेश तथा संघीय सरकारको सहयोग पनि उत्तिकै जरुरी पर्छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया