स्याङ्जाको कालीगण्डकीमा खेलकुद महोत्सव

पोखरा ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा खेलकुद महोत्सव एवं अध्यक्षकप प्रतियोगिता १० गते सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गर्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले खेलकुदका लागि कालीगण्डकी गाउँपालिकाले लिएको नीतिको प्रशंसा गरेका थिए ।
सभामुख घिमिरेले गाउँपालिकाको झण्डाका डिजाइनकर्ता वडा नम्बर ७ का मदन भट्टराई, गाउँपालिका छापका डिजाइनकर्ता वडा नम्बर ५ का रितिजा श्रेष्ठ, नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वान्दो खेलतर्फ सहभागी भई पदक प्राप्त गर्ने कालीगण्डकी गाउँपालिकाका खेलाडीहरु वडा नम्बर १ का राजन रसाइली (स्वर्णपदक), भीमबहादुर गाहा (स्वणपदर्क) र मनीषा घर्ती मगर (कास्यपदक) लाई नगद र प्रमाणपत्रसहित सम्मान गरेका थिए ।
विभिन्न ६ खेलका १९ विधामा अन्तर वडागत प्रतिस्पर्धा भएको उक्त प्रतियोगितामा वडा नम्बर ५ ले ५ स्वर्ण र ५ रजत गरी १० पदकसहित प्रथम स्थान हासिल गरी रनिङ सिल्ड हासिल गरेको थियो ।
वडा नम्बर ७ ले ५ स्वर्ण, १ रजत र ५ कास्य गरी ११ पदक प्राप्त गर्दै द्वितीय स्थान र वडा नम्बर १ ले ४ स्वर्ण, १ रजत र ६ कास्य गरी ११ पदकसहित तृतीय स्थान हासिल गरेको थियो । ६५४ खेलाडीले प्रतिस्पर्धा गरेकामा २५२ जना खेलाडीहरु सिल्ड, मेडल, प्रमाणपत्र र नगदसहित पुरस्कृत भएका थिए ।
पुरस्कार वितरण गर्दै गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले गाउँपालिकाभित्रका खेलाडीको क्षमता विकासका लागि गाउँपालिकाले सदैव अवसर प्रदान गरिरहने बताए । सभामुख घिमिरेले १५ शड्ढयाको कालीगण्डकी अस्पताल भवन निर्माण कार्यको शिलान्याससमेत गरेका थिए ।
तपाईको प्रतिक्रिया