कवि वियोगीलाई कपिलवस्तुमा सम्मान

समाधान संवाददाता २०७९ फागुन १२ गते ११:२५

पोखरा ।
छन्द कवि माधव वियोगी २०७९ सालको शिवतुलसा छन्दरथी साहित्य पुरस्कार र दधिस्मृति साहित्य सम्मानबाट सम्मानित भएका छन् । दधिस्मृति साहित्य समाज कपिलवस्तुद्वारा बाणगंगास्थित माछापुच्छ्रे होटलको सभाहलमा मंगलबार आयोजित एक विशेष समारोहमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थी र प्राज्ञ बुँद रानाले उक्त पुरस्कार र सम्मान प्रदान गरेका थिए ।

छन्द बचाऊँ अभियान–२०५३ र महाकाव्य लेखन अभियान –२०६० का माध्यमबाट छन्द र महाकाव्यको विस्तार र स्तरोन्निमा विशिष्ट योगदान गरेकाले कवि वियोगीलाई उक्त पुरस्कार र सम्मान प्रदान गरिएको हो । स्वास्थ्य मन्त्री पन्थीले स्रष्टाहरूको कदर गर्नु सबैको कर्तव्य भएको जनाउँदै छन्दको विकास प्रतिबद्ध स्रष्टाको सम्मान गर्न पाउँदा आफूलाई खुसी लागेको जनाए ।

प्राज्ञ बुँद रानाले छन्दको खडेरी परेका बखत आफ्नो सम्पूर्ण शक्ति लगाएर अभियानमार्फत् छन्द बचाउने उत्कृष्ट र यसलाई विश्वव्यापी पार्ने कार्यमा वियोगीको उत्कृष्ट योगदान रहेको बताए । सम्मानित स्रष्टा छन्दकवि वियागीले आफूले छन्द र महाकाव्यको क्षेत्रमा गरेको योगदानको कदर भएकोमा प्रशन्नता व्यक्त गरे ।

Advertisement

पुरस्कार र सम्मानले आगामी दिनमा अझ बढी भाषासाहित्यको सेवामा प्रतिबद्ध रहन प्रेरणा प्राप्त भएको उनले बताए । समाजका संस्थापक ऋषिकेशव भारद्वाजले स्रष्टा परिचय प्रस्तुत गरेका थिए । साहित्यकारहरू देवी पन्थी, राजेन्द्र आचार्य, बाणगंगा नगर प्रमुख चक्रपाणि अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

जोशिका कँडेल, आर्या त्रिपाठी, कविता अधिकारी, छन्दिका घिमिरेले कविता वाचन गरेका थिए । सो अवसरमा साहित्यकारहरू देवी पन्थी, राजेन्द्र आचार्य, दिलीप कार्की, मोहन ज्ञवाली, पार्वता शर्मा र आशुतोष कँडेललाई पनि सम्मान गरिएको थियो ।

Advertisement

समाजका अध्यक्ष लेखनाथ घिमिरेकोअध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन दुर्गा अधिकारीले गरेका थिए । जनप्रिय बहसमुखी क्याम्पसका पूर्व प्रमुखसमेत रहेका कवि वियोगीका ८ महाकाव्यसहित ३१ कृति प्रकाशित छन् । उनी छन्द विश्वविद्यालय स्थापनार्थ पनि सक्रिय छन् ।

तपाईको प्रतिक्रिया