‘मेरो गाउँँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ आह्वान

समाधान संवाददाता २०७९ फागुन १२ गते १३:४१

पोखरा

वि विल राइज फाउन्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ प्रतियोगितालाई निरन्तरता दिँदै सन् २०२३ को दोस्रो संस्करणका लागि शुक्रबारबाट भिडियो आह्वान गरेको छ ।


वृत्तचित्र निर्माणका लागि २०७९ फागुन १२ बाट ७० दिन अर्थात २०८० वैशाख २१ गतेसम्मका लागि समय दिइएको छ । विजेता प्रतियोगीको घोषणा १३ जेठ २०८० का दिन काठमाडौंमा हुने वि विल राइज फाउन्डेसनका परियोजना संयोजक एवं संस्थापक निर्देशक निर्मल श्रेष्ठले जानकारी दिए ।

Advertisement


सन् २०१९ मा पहिलोपटक आयोजित प्रतियोगितामा देशैभरबाट उत्साहजनकरुपमा १३२ वृत्तचित्र सहभागी थिए । पछिल्लोपटक सन् २०२० मा प्रतियोगिताका लागि भिडियो आह्वान भएपनि विश्वभर फैलिएको कोभिड १९ महामारीका कारण कार्यक्रम स्थगित हुनपुगेको थियो ।


भिडियो निर्माताहरुले प्रचुर पर्यटकीय सम्भावना भएरपनि ओझेलमा परेका कुनै पनि गाउ“ठाउँको प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, खानपान, कलासंस्कृति, जातजातिको पहिचान लगायतका विषयहरुलाई आधार बनाएर भिडियो तयार पार्न सक्नेछन् । वृत्तचित्र अधिकतम ५ मिनेटको हुनुपर्नेछ । प्राप्त भिडियोहरुमध्येबाट निर्णायकले छनोट गरेका उत्कृष्ट दशलाई नगदसहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड प्रदान गरिने फाउन्डेसनले जनाएको छ ।

Advertisement


कोरोनाका कारण थलिएको पर्यटन क्षेत्रलाई उकास्न र यस क्षेत्रलाई चलाएमान बनाउन यस्ता कार्यक्रमको उपादेयता अझ बढेर गएको निर्देशक श्रेष्ठले बताए । ‘प्रतियोगिताले देशैभर ओझेलमा रहेका पर्यटकीय थलोहरु पहिल्याउन महत्वपूर्ण भूमिका खेल्ने हाम्रो ठम्याइ छ,’ उनले भने, ‘प्राप्त वृत्तचित्रहरुको उचित प्रचारप्रसार गर्नसके योे स्वदेशी तथा विदेशी पर्यटन प्रवद्र्धनका लागि ठूलो सहयोगी हुनसक्नेछ ।’


यसअघि सन् २०२० को भिडियो च्यालेञ्जमा सहभागी प्रतियोगीहरुले आफूले पठाइसकेको भिडियोमा परिवर्तन गर्नुपर्ने आवश्यक ठानेमा सो भिडियो सम्पादन गरी वा नयाँ नै पनि पठाउन सक्ने आयोजकले जनाएको छ । ‘मेरो गाउँ, मेरो ठाउँ २०२३’ प्रतियोगितामा यसअघि सहभागी नभएका नयाँ प्रतियोगीले समेत सहभागिता जनाउन सक्ने जानकारी गराउँदछौं,’ फाउन्डेसनको विज्ञप्तिमा भनिएको छ ।


सहभागीले फाउन्डेसनको आधिकारिक वेबसाइट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपी www.wwrf.org.np मार्फत फर्म भरी सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा सहभागिता लागि कुनै किसिमको शुल्क लाग्दैन ।


पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएरपनि ओझेलमा परेका कुनै पनि महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातिको पहिचान, खानपान, कलासंस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही वि विल राइज फाउन्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ को आयोजना गर्दै आएको हो ।

तपाईको प्रतिक्रिया