राष्ट्रपतिमा २ पूर्वसभामुखको प्रतिस्पर्धा

काठमाडौं ।
राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र एमाले नेता सुवासचन्द्र नेम्बाङले उम्मेदवारी दर्ता गरेका छन् । २५ गते हुने राष्ट्रपति चुनावका लागि उनीहरुले शनिबार उम्मेदवारी दर्ता गरेका हुन् । पौडेल र नेम्वाङ दुवैजना पूर्व सभामुख हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल आउँदो २८ गते सकिँदैछ ।
राष्ट्रपति उम्मेदवार पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोककुमार राई र अब्दुल खान छन् । महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डेले समर्थन जनाएका छन् । कांग्रेसको बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
अर्का उम्मेदवार नेम्बाङको प्रस्तावकमा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेताहरु पृथ्वीसुब्बा गुरूङ, गोकर्ण विष्ट, रघुवीर महासेठ र छविलाल विक छन् । समर्थकमा नेताहरु योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के छन् ।
शनिबार बिहान बसेको एमाले केन्द्रीय सचिवालय बैठकले नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । एमाले उपाध्यक्ष नेम्बाङ इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
यसअघि उपप्रधानमन्त्री भइसकेका राष्ट्रपति उम्मेदवार पौडेल गएको मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य चुनावमा तनहुँ–१ बाट निर्वाचित भएका हुन् । नेता पौडेल मंसिर ४ गतेको प्रतिनिधिसभा सदस्य चुनावमा तनहुँ–१ बाट फराकिलो मतान्तरसहित विजयी भएर छैटौँपटक संसदमा प्रवेश गरेका हुन् ।
राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले संविधानको भावनालाई अक्षरसः पालना गर्नु आफ्नो कर्तव्य हुने बताए । उम्मेदवारी दर्तापछि नेम्वाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वासका साथ आफू राष्ट्रपतिको उम्मेदवार भएको सुनाए ।
नेम्बाङ एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै अहिले उपाध्यक्ष हुन् । विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य बनेका उनी त्यसलगत्तै पुनः राष्ट्रियसभा सदस्य भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०५६ मा इलाम–२ बाट निर्वाचित उनी संविधानसभा निर्वाचन २०६४ र २०७० मा इलाम–२ बाट निर्वाचित भएका थिए ।
२०५१ मा न्याय कानुन तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री भएका नेम्बाङ सामान्य प्रशासन मन्त्री र स्थानीय विकास मन्त्री भइसकेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्बाङ अनुभवी, कानुनका जानकार र लामो समय सभामुखको गरिमामय पदको अनुभव संगालेका योग्य उम्मेदवार भएको बताएका छन् ।
तपाईको प्रतिक्रिया