भिटोफको योजना: एक जिल्ला एक प्रवद्र्धनात्मक कार्यक्रमसँगै होमस्टे मार्ट

समाधान संवाददाता २०७९ फागुन १४ गते ११:३९

पोखरा ।
ग्रामीण पर्यटनको विकास र विस्तारलाई प्राथमिकतामा राख्दै सम्भाव्यता र गन्तव्यहरु खोजी गरिरहेको गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ)ले आफ्ना कार्ययोजना सार्वजनिक गरेको छ । सहर केन्द्रित पर्यटन व्यवसायलाई गाउँ/गाउँमा पुर्‍याउन भिटोफ गण्डकीले आगामी कार्ययोजना सार्वजनिक गरेको हो ।

Advertisement

शनिबार पोखरा २२ भुम्दीस्थित टुनार सामुदायिक होमस्टेमा आठौं वार्षिक साधारणसभा मार्फत सचिव सुशीला भण्डारीले आगमी कार्ययोजना सार्वजनिक गरेकी हुन् । सचिव भण्डारीले वार्षिक प्रतिवेदन मार्फत आगमी दिनमा गण्डकी प्रदेशभित्र एक जिल्ला एक प्रवद्र्धनात्मक कार्यक्रम गर्ने योजना सुनाइन् । ‘प्रदेशका ११ जिल्लामा पुगेर पर्यटन प्रवद्र्धन गर्छौं । त्यहाँ पुगेर गाइड तालिम, पूर्वाधार विकास अध्ययन, मोडल गाउँको सम्भाव्यता खोजी पनि गर्छौँ,’ उनले भनिन् ।

होमस्टे मार्ट तथा कार्यशाला आयोजना गर्ने भिटोफको योजना छ । गण्डकीमा रहेका होमस्टेहरुलाई सहभागी गराइ बजारीकरण, सम्भावनाको थप उजागर, होमस्टेबिच सञ्जालीकरण र गन्तव्य प्रवद्र्धन गर्ने भिटोफको योजना हो ।
होम स्टे मार्ट २०७९/०८० सञ्चालन, होमस्टे सम्भाव्यता अध्ययन, होम स्टे मोबाइल एप्स अध्यावधिक र उत्कृष्ट गन्तव्य घोषणा गर्ने सचिव भण्डारीले जानकारी गराइन् ।

साधारण सभाको उद्घाटनपछि गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले बुहभाषा, बहुसंस्कृति भएको देशमा एकले अर्कोलाई सघाई मिलेर अगाडि बढ्नु पर्न खाँचो औंल्याए । प्रकृति, परिस्थिति र समय अनुसार अगाडि बढुनुपर्ने उनको भनाइ थियो ।

‘पर्यटन हाम्रो प्रदेशको मुख्य आयस्रोत मध्येको एक हो । पर्यटन प्रवद्र्धन गर्न होमस्टेहरुले महत्वपूर्ण योगदान गरेका छन्,’ उनले भने, ‘कोभिड र पोखरामा प्लेन दुर्घनापछि पर्यटक घटे पनि अब यस्ता होमस्टेमार्फत आन्तरिक पर्यटन वृद्धि गर्न सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्छ ।’

Advertisement

भिटोफ गण्डकीका अध्यक्ष उदय सुवेदीले एउटा होमस्टेलाई अर्को होमस्टेसँग जोडेर दुई, तीन दिनको प्याकेज निर्माण गर्ने र पर्यटकको बसाई लम्ब्याउने योजना सुनाए । होमस्टेहरुलाई अझ व्यवस्थित र गुणस्तरीय बनाउन आवश्यक तालिम प्रदान गर्नुका साथै तिनको प्रवद्र्धन र प्रचार गरिने उनको भनाइ थियो ।

‘होमस्टे व्यवस्थापन तालिम, क्षमता अभिवृद्धि तथा गुणात्मक सुधार पनि समयसापेक्ष गर्नुपर्छ । होमस्टे व्यवस्थापन र सञ्चालनमा देखिएका चुनौती सम्बोधन हामी सबै मिलेर गर्छौं । यसका लागि हामीहरु सम्बन्धित सरोकारवाला निकाय र प्रदेश सरकारको ध्यानाकर्षण गराउँछौं,’ अध्यक्ष सुवेदीले भने ।

भिटोफ कास्की जिल्ला संयोजक प्रकाश गुरुङ, भुम्दी टुनार सामुदायिक होमस्टेका अध्यक्ष, रामबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष राधा गुरुङ, भिटोफ–नेपाल, गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा पोखरा पर्यटन परिषदका उपाध्यक्ष तारानाथ पहारी, पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष कृष्ण भण्डारी, गाउँ पर्यटन प्रवद्र्धन मञ्चका केन्द्रीय अध्यक्ष गोपाल थापा, सल्लाहकार प्राडा प्रेम शर्मा, भिटोफ– नेपाल, गण्डकी प्रदेशका सल्लाहकार टीकाराम सापकोटा र संस्थाकी उपाध्यक्ष शोभा अधिकारीले बोलेका थिए ।

उनीहरुले युवा पलायनलाई रोक्न र दिगो पर्यटन विकासमा केन्द्रित हुन जोड दिए । कार्यक्रममा एनटी एचएमसी कलेजका प्राचार्य प्रकाश रेग्मी, पन्छी समाज पोखराका अध्यक्ष मनशान्त घिमिरे र पोखरा २२ का वडाध्यक्ष हिमलाल बराल पनि सहभागी थिए ।

तपाईको प्रतिक्रिया