सम्पादकीय: उपचारमा जागेको आशा

समाधान संवाददाता २०७९ फागुन १४ गते १२:००

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा जटिल अवस्थाको मुखभित्रको क्यान्सरको सफल शल्यक्रिया (अप्रेसन) हुनु गण्डकी प्रदेशको स्वास्थ्य सुविधा स्तरोन्नति भएको सुखद खबर हो । यो अस्पताल स्थापनाको हीरक वर्षसमेत नाघिसकेको भए पनि विशिष्टीकृत सेवाहरुको अभावमा नाम जस्तै पञ्चिमाञ्चल क्षेत्रीय अस्पताल बन्न नसकेको कटुसत्य हो ।

हालैमात्र यही अस्पतालमा मिर्गाैला प्रत्यारोपण भएको थियो, त्यसपछि क्यान्सरको समेत शल्यक्रिया उपचार हुनु सुखद हो । मृटु, मिर्गाैला, मस्तिष्क वा क्यान्सर जस्ता महारोगहरुको उपचारका लागि अझै पनि गण्डकी प्रदेशवासी राजधानी काठमाडौंकै भर परिरहनुपरेको छ । प्रदेशको राजधानी भइसकेको ठाउँमा स्वास्थ्योपचारको गतिलो र भरपर्दाे सेवा सुविधा नहुनु आफैमा बिडम्वनाको अवस्थामा क्यान्सर उपचार र शल्यक्रियाको खबरले आशाको सञ्चार गरेको छ ।

क्यान्सर उपचार र शल्यक्रिया जुन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सम्भव भयो, त्यो विशेषज्ञ जनशक्ति हुँदाको परिणाम हो । प्लास्टिक सर्जन डा. पीयूष गिरीसहित प्लास्टिक सर्जरी टिम र म्याग्जिलोफेसियल सर्जन डा. नारायण शर्मा लामिछानेसहितले अप्रेसन सफल बनाए । डा गिरीले अमेरिकामा लिएको तालिमको सफल सदुपयोग पनि यहाँ भएको छ ।

Advertisement

अब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा क्यान्सरको शल्यक्रिया र उपचारले निरन्तरता पाउनुपर्छ । त्यसका लागि अस्पताल व्यवस्थापनले ध्यान दिन जरुरी छ । संघीय सरकार अन्तर्गतको यो अस्पतालमा विशेषज्ञ सेवा र विशिष्टीकृत सुविधा उपलब्ध गराउने दायित्व उसैको हो । तर संघ काठमाडौंमा छ, त्यसैले ध्यान पुगेको छैन । संघ सरकारलाई घच्घच्याउने काम गण्डकी प्रदेश सरकारले पनि गर्न सक्छ ।

क्षेत्रीय अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध गराउनुपर्ने दायित्व एकातिर भइरहँदा यसका साधारण सेवाहरुमा पनि स्तरोन्नति गर्न अत्यावश्यक छ । सजिलै कुनै पनि बिरामीले सेवा पाउने वातावरण यो अस्पतालमा बनाउनै पर्ने छ । शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकता राज्यको दायित्व भएको हुँदा पनि सरकारी स्वामित्वको यो अस्पतालका सबैखाले सेवा र सुविधा सर्वसुलभ र सहज हुन आवश्यक छ ।

Advertisement

क्यान्सर उपचारले जसरी आशा जगाएको छ, त्यससँगै सबै सेवा सुविधा वृद्धि होस् । शल्यक्रिया भएका बिरामीलाई स्वास्थ्य लाभ र दीर्घायूको कामना । शल्यक्रिया सफल बनाउने चिकित्सक, अस्पताल प्रशासन र सबै सरोकारवालालाई बधाई ।

तपाईको प्रतिक्रिया