
गलकोट ।
उपयुक्त जग्गा अभावमा १० वर्षदेखि बागलुङमा चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालनमा आउन सकेको छैन । धौलागिरि यातयात व्यवस्था कार्यालयका अनुसार उपयुक्त जग्गा अभावमा १० वर्षदेखि रोकिएको लाइसेन्स परीक्षा (ट्रायल) का लागि आवश्यक जग्गा भाडामा भए पनि लिन खोजिएको छ ।
मापदण्ड अनुसारको उपयुक्त जग्गा भाडामा लिएर चार पाङ्ग्रे सवारीको लाइसेन्स परीक्षा लिने व्यवस्था गर्न यातायात व्यवस्था कार्यालय क्रियाशील छ । नयाँ मापदण्ड लागू भइसकेपछि यातायात व्यवस्था कार्यालय बागलुङले लिँदै आएको चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीको चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा स्थगन गरियो ।
पछि दुई पाङ्ग्रे सवारीसाधनको लागि भाडामा जग्गा लिएर ट्रायल परीक्षा सञ्चालन गरे पनि चार पाङ्ग्रेको ट्रायललाई भाडामा लिन उपुयक्त जग्गा र पूर्वाधार अभावमा १० वर्षदेखि परीक्षा सञ्चालन गर्न नसकिएको हो । धौलागिरि यातायात व्यवस्था कार्यालयले पूर्वाधारसहितको जग्गा भाडामा लिएर चार पाङ्ग्रे लाइसेन्सको परीक्षाको तयारी थालेको सूचना अधिकारी बद्रीनाथ गौतमले जानकारी दिए ।
दुई पाङ्ग्रे सवारीको ट्रायल परीक्षा सञ्चालन गर्न लिइएको बागलुङ नगरपालिका १ रामरेखाको माझी बस्ती नजिकैको जग्गामा चार पाङ्ग्रे सवारीको परीक्षा सञ्चालनलाई जग्गा भाडामा ल्याउने तयारी भइरहेको छ ।
‘दुई पाङ्ग्रे सवारीसाधनको ट्रायललाई भाडामा लिइएको जग्गाको मिति सकिँदैछ, पुनः ठेक्कामा लैजाने भनेका छौँ, त्योसँगै चार पाङ्ग्रेका लागि आवश्यक पूर्वाधार मापदण्डसहितको फेला परेमा भाडामै लिएर भए पनि एक वर्षभित्रै चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा लिने योजना छ’, गौतमले भने, ‘कार्यालयलाई भाडामा जग्गा लगाएको धौलागिरि ड्राइभिङ इन्स्टिच्युटले दुईपाङ्ग्रे ट्रायल सेन्टर नजिकै चार पाङ्ग्रेका लागि ट्रायल दिन आवश्यक पूर्वाधार बनाइसकेको छ, उक्त पूर्वाधार मापदण्ड अनुसारको पाइएमा एकै स्थानमा दुई पाङ्ग्रे र चार पाङ्ग्रेको ट्रायल दिने व्यवस्था मिलाइनेछ ।’
अहिले निजीस्तरबाट सञ्चालनमा आएका ट्रायल सेन्टर सिक्न उपयुक्त भए पनि परीक्षालाई मापदण्ड अनुसारको नभएको सवारी चालक अनुमतिपत्र शाखा प्रमुख श्याम थापा बताउँछन् । ‘परीक्षालाई केही थप पूर्वाधारसमेत चाहिन्छ, सिसी टिभी जडानसहित परीक्षाका दिने र लिनेलाई केही कोठासहितको खुला पूर्वाधार आवश्यक पर्दछ’, थापाले भने, ‘ट्रायल निर्देशिकाको मापदण्ड अनुसार निर्माण भएको जुनसुकै संरचना भए पनि भाडामा लिएर परीक्षा दिने व्यवस्थामा लाग्छौँ ।’
जिल्लामा सवारीसाधनको चाप बढ्दै गएको र लाइसेन्स लिन पोखरा लगायतका ठूला सहरमा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै १० वर्षपछि चार पाङ्ग्रे सवारी साधानको परीक्षा लिने तयारी भएको हो । अहिले धौलागिरि यातायात व्यवस्था कार्यालयले दुई पाङ्ग्रे सवारीसाधनको ट्रायल तथा लिखित परीक्षाका लागि आइतबार, सोमबार, मंगलबार र बुधाबार बायोमेट्रिक, बिहीबार रिट्रयालको राजस्व बुझाउने, मंगलबार रिट्राय लर बुधबार ट्रायल परीक्षा सञ्चालन गरिरहेको छ ।
जग्गा अभावका कारण बागलुङमा चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा नहुँदा ठूलो खर्च गरेर परीक्षा दिनका लागि पोखरासहितका अन्य ठूला सहरमा जानुपर्ने बाध्यता रहेको स्थानीय सविन पुनले गुनासो गरे । विसं २०६९ देखि सवारी चालक अनुमतिपत्र परीक्षाको नयाँ मापदण्ड लागू भएसँगै जग्गा अभावमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा बन्द भएको थियो ।
दुई पाङ्ग्रेका लागि माझीबस्ती नजिकै भाडामा जग्गा लिएर २०७४ सालदेखि दुईपाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः सञ्चालनमा आए पनि चार पाङ्ग्रेको परीक्षा हुन नसकेको धौलागिरि यातायात व्यवस्था कार्यालय बागलुङका कार्यालय प्रमुख पारसिंह थापाले बताए ।
साविक धौलागिरिको चार जिल्ला हेर्ने गरी धौलागिरि यातायात व्यवस्था कार्यालय २०६५ सालमा स्थापना थियो । अहिले धौलागिरि यातायात व्यवस्था कार्यालयले दैनिक ४० मोटरसाइकल र २० स्कुटर गरी ६० जनाको फर्म दर्ता गर्दै आएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।
तपाईको प्रतिक्रिया