मिसन ग्रासरुट तयारीमा अन्नपूर्ण

पोखरा ।
नेकपा (एमाले) अन्नपूर्ण गाउँपालिका गाँउ कमिटीले मिसन ग्रासरुट अभियानलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । कमिटीको पूर्ण बैठकले कमिटीलाई व्यवस्थित र संगठनलाई सुदृढीकरणलाई ध्यान दिएर अभियानलाई सञ्चालन गर्ने गाउँपालिका कमिटीका अध्यक्ष विवेक देवकोटाले जानकारी दिए ।
पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभाका पूर्व सदस्य राजीव पहारीले पार्टीले सबै शक्ति र सामर्थलाई मिसन ग्रासरुट अभियानमा परिचलान गर्ने बताए । ‘सत्ता र सरकार साध्य नभएर फगत साधनमात्र हो,’ उनले भने, ‘विकसित घटनाक्रमलाई एमालेले अवसरको रुपमा बदल्छ ।
पार्टी निर्माण र जनतासँगको सम्बन्धलाई प्रगाढ पार्ने एउटा कडीको रुपमा मिसनग्रास रुट अभियानलाई लिन्छ ।’ उनले अभियानपछि पार्टी कमिटी चुस्त, दुरुस्त र व्यवस्थित बन्ने दाबी गरे । प्रतिनिधि सभाका सदस्य दामोदर बैरागीले अभियान पार्टीको संगठन सुदृढीकरण तथा विस्तार अभियानका लागि प्रभावकारी बन्ने दाबी गरे ।
अभियानको उद्देश्य, कार्ययोजना र कार्यादेशसहित सबै केन्द्रीय कमिटी सदस्य पालिका तहमा २ महिनाको जिम्मेवारीसहित खटिने जानकारी दिँदै उनले आगामी वैशाख ९ गते अभियान सकिने बताए । उनले हरेक पालिका र वडा तहसम्मको जनसंख्या, त्यहाँका मतदाता, एमालेले प्राप्त गरेको मत र अभियानपछि बढाउन सकिने मतदाताको संख्यालाई समेत मिहीन ढंगले आँकलन गरिने उल्लेख गरे ।
कार्यक्रममा नेकपा गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य तथा जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेल, गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य दीपक पौडेल, जिल्ला कमिटी कास्की उपाध्यक्ष तेजनारायण अधिकारी, सचिव बैनबहादुर अधिकारी क्षत्री, जिल्ला कमिटी कास्कीका सदस्यहरु भरतमान गुरुङ, शिवप्रसाद अधिकारी र मदन पौडेल, पार्टीका प्रदेश प्रचार विभागका सदस्य तथा प्रेस चौतारी नेपाल लेखा आयोगका उपाध्यक्ष रामजी लम्साल, प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटी अध्यक्ष ईन्द्रप्रसाद पौडेलले अभियानका बारेमा बोलेका थिए ।
तपाईको प्रतिक्रिया