पर्वतीय दौडमा नरेन्द्र प्रथम

समाधान संवाददाता २०७९ फागुन १४ गते १५:४६

पोखरा ।
घिरिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा भएको १५ किलोमिटर पर्वतीय दौड प्रतियोगितामा नरेन्द्र सिं रावत प्रथम भएका छन् । रावतले ५० मिनेट ३७ सेकेन्डमा निर्धारित दुरी पूरा गरेका थिए । ५० मिनेट ३९ सेकेन्डमा निर्धारित दुरी पूरा गरेर सुवास कार्की द्वितीय र ५२ मिनेट २८ सेकेन्डमा दुरी पूरा गरी राजन मेयोङ्बा तृतीय हुन सफल भएका छन् ।

उनीहरु सबै त्रिभुवन आर्मी क्लब काठमाडौंबाट प्रतियोगितामा सहभागी भएका हुन् । उनीहरुले प्रथम पुरस्कार ४० हजार, द्वितीय पुरस्कार २० हजार, तृतीय पुरस्कार १० हजार रुपैयाँसहित प्रमाणपत्र र मेडल प्राप्त गरे । प्रतियोगितामा ७४ जना धावकले भाग लिएका थिए । दौड प्रतिस्पर्धाबाट ७ जनाले ३ हजार रुपैयाँ दरले सान्त्वना पुरस्कार पाए ।

होमलाल श्रेष्ठ काठमाडौं, विशाल गुरुङ भीमाद ३, सनम गुरुङ आँबुखैरेनी, जुनेस खड्का काठमाडौं, मोहनदेव जोशी बैतडी, सरोज शर्मा कास्की, देवराज महतरा काठमाडौंले सान्त्वना पुरस्कार पाएका हुन् । घिरिङभित्रबाट वडा नम्बर ३ का दशरथ आले प्रथम, वडा नम्बर ५ का तिलबहादुर थापा द्वितीय र वडा नम्बर ३ का विशाल थापा तृतीय भए । उनीहरुले पनि ३ हजार रुपैयाँको दरले पुरस्कार पाए ।

Advertisement

तनहुँ जिल्लाको दक्षिण भेगमा पर्ने स्याङ्जा, पाल्पा र नवलपुरको सिमाना रहेको घिरिङ गाउँपालिकामा पहिलोपटक दौड प्रतियोगिता भएको हो । घिरिङ गाउँपालिका वडा नम्बर ३ रानीपोखरीबाट शनिबार गाउँपालिका अध्यक्ष होमबहादुर थापाले प्रतियोगिताको शुभारम्भ गरेका थिए ।

कार्यक्रम समापन घिरिङ स्वास्थ्य चौकी प्रांगणमा गरिएको थियो । घिरिङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष मनबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशकी उपसभामुख बिनाकुमारी थापा मगरले विजेताहरुलाई पुरस्कार वितरण गरेकी थिइन् ।

Advertisement

गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महत, घिरिङ गाउँपालिका अध्यक्ष होमबहादुर थापा, खेलकुद परिषद गण्डकी प्रदेश कार्यकारी सदस्य तारा थापा मगर, घिरिङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल, घिरिङ गाउँपालिका निवर्तमान अध्यक्ष रनबहादुर राना लगायतले कार्यक्रममा बोलेका थिए ।

गाउँपालिका उपाध्यक्ष राधादेवी अधिकारी, वडा अध्यक्षहरु र राजनीतिक दलका प्रतिनिधिहरु कार्यक्रममा सहभागी थिए । कार्यक्रम सञ्चालन नवराज श्रेष्ठले गरेका थिए । स्वागत मन्तव्य हुम आलेले गरेका थिए ।

तपाईको प्रतिक्रिया