अम्बर गुरूङ संगीत पुरस्कारको अक्षयकोषमा नमस्तेको ७७ हजार

समाधान संवाददाता २०७९ फागुन १४ गते १६:५२

पोखरा ।
नेपाली कला र संस्कृतिको उत्थानमा सशक्त योगदान गरेका अम्बर गुरुङको सम्मानार्थ पोखरेली युवा सांस्कृतिक परिवारले स्थापना गरेको ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ पुरस्कार अक्षयकोष वृद्धिका लागि नमस्ते ब्याण्डले ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको छ ।

नमस्ते ब्याण्डको ३४ औं वार्षिक उत्सवको अवसरमा ब्याण्डका अध्यक्ष ईश्वर गुरुङले उक्त रकम पोखरेली युवा सांस्कृतिक परिवारका संस्थापक सदस्य संगीतकार, गीतकार तथा गायक विक्रम गुरुङलाई हस्तान्तरण गरे । जापानमा सन् १९८९ मा जापानी र नेपाली सदस्यहरू मिलेर नमस्ते ब्याण्ड.को स्थापना भएको थियो ।

ब्याण्डमा ईश्वर गुरुङ लीड भोकल, मिनामी हिरोयुकी बेस गिटार, तेराकाडो लीड गिटार, गान्टा ड्रम्स, नोमुरा युमी ड्रम्स, तबलामा सुनील गुरुङ, ढोलकमा शान्तिराम रायमाझी, किबोर्डमा अयाको योकोयामा र अम्बर गुरुङ ‘पोखरेली’, तबलामा महेश केसी, बाँसुरीमा पञ्च लामा र सुरज श्रेष्ठ आवद्ध छन् ।

Advertisement

देश विदेशमा रहेर नेपाली गीत, संगीत, गायन र वाद्यवादनमा योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई प्रत्येक दुई वर्षमा प्रदान गर्न ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ स्थापना भई सञ्चालनमा आएको छ । करीब चार वर्ष अघि भेटरान ग्रुप हङकङले गायक तथा संगीतकार विक्रम गुरुङको ‘मेरो संगीत यात्रा’ कार्यक्रम आयोजना गरेको थियो । हङकङमा आयोजित उक्त कार्यक्रमबाट वचत भएको रकम ५ लाख रुपैयाँ अम्बर गुरुङको नाममा पुरस्कार स्थापना गर्न यस परिवारलाई हस्तान्तरण गरिएको थियो ।

३ वर्षअघि पोखरेली मञ्च युकेले संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तको ‘सिर्जनाको घेराभित्र सरुभक्त’ नामक कार्यक्रम अयोजना गरेको थियो । उक्त कार्यक्रमबाट वचत भएको २ लाख ५० हजार रुपैयाँ पनि सोही कोशमा थपिएको थियो ।

Advertisement

उक्त कोष बृद्धिका लागि नेपथ्यले १ लाख, नेपालयले एक लाख, पलेँटीले १ लाख रुपैयाँ र संगीतकार, गीतकार तथा गायक विक्रम गुरुङले व्यक्तिगत तर्फबाट पनि १ लाख रुपैयाँ सहयोग गरिसकेका छन् । उक्त कोषमा करिब १८ लाख जम्मा भइसकेको छ । अझै पनि विभिन्न व्यक्ति र संघ संस्थाबाट सहयोग आउने क्रम जारीरहेको संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवं पुरस्कार स्थापना समितिका संयोजक सरूभक्तले बताए ।

‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’को राशी नगद २ लाख रुपैयाँ, ताम्रपत्र र दोसल्ला रहनेछ । पुरस्कार यो वर्षदेखि प्रदान गरिने छ । संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरूभक्त श्रेष्ठ संयोजक रहेको पुरस्कार स्थापना समितिमा उक्त प्रज्ञा प्रतिष्ठानका पूर्व सदश्य सचिव तीर्थ श्रेष्ठ सहसंयोजक र सदस्यहरूमा विक्रम गुरुङ, आनन्द श्रेष्ठ, टोपबहादुर थापा, उषा शेरचन, अमृत गुरूङ, रमेश श्रेष्ठ, सरस्वती प्रतीक्षा, प्रकाश ज्ञवाली, डा. चैतन्य अधिकारी, शिव त्रिपाठी, मोती भुजेल (परिवारका निवर्तमान अध्यक्ष, र एमडी काफ्ले (परिवारका संगीत संयोजक) र पोयुसांपका अध्यक्ष उपेन्द्र पौडेल छन् ।

नेपाली गीत–संगीतका धरोहर, नेपाली राष्ट्रगानका संगीतकार, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति अम्बर गुरुङको जन्म विसं १९९४ फागुन १५ गते बाबु उजीरसिंह गुरुङ र आमा रेणुका गुरुङका पुत्रका रूपमा भारतको दार्जिलिङमा भएको थियो ।

अम्बर गुरुङको पुख्र्यौली घर तनहुँ जिल्ला हो । संगीतकार गुरुङले कोलकातामा पहिलोपटक सन् १९६१मा ‘नौ लाख तारा उदाए…’ भन्ने अगमसिंह गिरीले रचेको गीत रेकर्ड गरेका थिए । उनी विसं २०२६ मा संगीत विभागका प्रमुखका रूपमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्रवेश गरेका थिए ।

उनले लक्ष्मीप्रसाद देवकोटाको गीति नाटक कुन्जिनी र मुनामदनमा संगीत संयोजन गरेका थिए । उनले सत्यमोहन जोशीका चार नाटक लगायत माधवप्रसाद घिमिरेको मालतीमंगले नामको गीति नाटकमा समेत संगीत दिएका थिए । उनले चलचित्र मनको बाँध, जीवनरेखामा पार्श्व संगीत दिएका थिए । आदिकवि भानुभक्त नामको वृतचित्रमा पनि पाश्र्व संगीत र स्वर दिएका थिए ।

तपाईको प्रतिक्रिया