गण्डकीमा राप्रपाले तत्काल सरकार नछाड्ने

समाधान संवाददाता २०७९ फागुन १५ गते १०:३९

सञ्जय रानाभाट, पोखरा ।
राष्ट्रपति भागबन्डाका कारण सत्ता गठबन्धन भत्किएपछि संघमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरियो । आकस्मिक बैठक डाकेर संघ र प्रदेश सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने राप्रपाको निर्णयपछि गण्डकी सरकार संकटमा परेको थियो ।

Advertisement

केन्द्रको यो निर्णयपछि धेरैले गण्डकीमा १ महिनाभित्र नयाँ सरकार बन्ने अड्कलबाजी गरे । तर, राप्रपाबाट प्रदेश सभा सदस्य विन्दु अधिकारी पहाडी राष्ट्रपति निर्वाचनसम्म परिदृश्य हेर्ने बताउँछिन् । ‘प्रदेश १ मा पनि तत्काल सरकारबाट नबाहिरिने भनिएको छ । हामी पनि राष्ट्रपति निर्वाचनसम्म हेर्छौं,’ पहाडीले भनिन्, ‘बाहिरिने निर्णय भए सल्लाह गरेर एकैचोटि बाहिरिन्र्छौं ।’

केन्द्रमा सरकारबाट बाहिरिएको राप्रपा गण्डकीमा चर्को दबाबबीच तत्काल सरकारमै रहने

गण्डकीमा राप्रपाबाट पञ्चराम गुरुङ खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी छन् । गुरुङले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । माघ २५ गते अधिकारीले आफूसँगै गुरुङलाई सपथ खुवाएका थिए । फागुन ९ गतेमात्र गुरुङले मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

केन्द्रको निर्णय बमोजिम राप्रपाले समर्थन फिर्ता लिए अधिकारी नेतृत्वको सरकार अल्पमतमा पर्छ । शनिबार राप्रपा गण्डकी प्रदेशको आकस्मिक बैठक बसेको थियो । बैठकमा धेरैले तत्काल राजीनामा दिन सुझाए पनि मन्त्री गुरुङ तत्काल राजीनामा नदिने पक्षमा छन् ।

Advertisement

‘केन्द्रको समीकरण अझै के हुने हो थाहा छैन, अझै राष्ट्रपति निर्वाचन आउन करिब १० दिन बाँकी छ । यस कारण हामी पुनः पार्टीको बैठक बस्र्छौं । त्यसपछि निर्णय गर्छाैं,’ सांसद पहाडीले भनिन् ।

गुरुङलाई समर्थन फिर्ता लिएर सहयोग गर्न कांग्रेस सांसदले लबिइङ गरे पनि मुख्यमन्त्रीले हतारिएर कुनै पनि निर्णय नलिन सुझाएका छन् । ‘मुख्यमन्त्रीज्यूले नहतारिन भन्नुभएको छ । यहीँ भएर होला उहाँ अहिले सरकार छाड्ने मनस्थितिमा छैनौं,’ स्रोतले भन्यो ।

तर, राप्रपा गण्डकी अध्यक्षसमेत रहेका मन्त्री गुरुङलाई सरकार छाड्न चर्को दबाब छ । स्रोतले भन्छ, ‘सरकार छाड्न चर्को दबाब आइरहेको छ । तर, ११ वटा जिल्लाबाट निर्णय गराएर अहिले सरकार नछाड्ने पक्षमा मन्त्रीज्यू हुनुहुन्छ ।’

राप्रपाले सरकार छाडे गण्डकी सरकार अल्पमतमा पर्छ । माघ २९ गते अधिकारी सरकारलाई ६० सदस्यीय गण्डकी प्रदेशसभामा ३१ सदस्यले विश्वासको मत दिएका थिए । २ सदस्य रहेको राप्रपाले समर्थन फिर्ता लिनासाथ सरकार अल्पमतमा पर्छ ।

राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको माओवादी केन्द्रले प्रदेशमा अब के गर्ला भन्ने चासोको विषय छ । गण्डकीमा माओवादीबाट कृष्ण धिताल सभामुख । माओवादीको समर्थनबिना अधिकारी नेतृत्वको सरकार रहन असम्भव हुने अंकगणित छ ।

तपाईको प्रतिक्रिया