सञ्जयको टोलीलाई गल्फ उपाधि

पोखरा ।
प्रोफेसनल गल्फर सञ्जय लामा सम्मिलित टोलीले सूर्य नेपाल वेस्टर्न ओपन प्रोएमको उपाधि जितेको छ । पोखरा स्थित पार ६९ हिमालयन गल्फ कोर्समा शनिबार भएको प्रतिस्पर्धामा प्रो सञ्जय लामा तथा एमेच्योर खेलाडीहरु राजु थकाली, सन्तोष गुरुङ र ब्रिगेडियर जनरल सुदर्शन सिलवालले १ सय ३८ अंक जोडदै उपाधि जितेका हुन् ।
प्रो सञ्जय र एमेच्योर गल्फर सिलवालले ३४ अंक जोडे भने अन्य २ एमेच्योर थकाली र गुरुङले समान ३५ अंक बनाए । प्रो निरज तामाङ सम्मिलित टोली १ सय २३ अंक जोडेर दोस्रो भएको छ । नीरजले ३२ स्कोर गर्दा एमेच्योर सुष्मा सिग्देलले ३२, दीपक कार्कीले ३० र अर्जुनकुमार कार्कीले २९ अंक जोडे ।
१ सय ७ अंक जोडेर प्रो बलभद्र राईको टिम तेस्रो बन्यो । बलभद्रले २८ तथा एमेच्योर राजेन्द्र गौचनले २८ सन्देश सिग्देलले पनि २८ र रवीन्द्र तिवारीले २८ अंक जोडे । महिलातर्फ सुष्मा सिग्देलले ३२ अंकसहित उत्कृष्ट कार्डको ट्रफी हात पारिन् ।
प्रकाश गुरुङले लङ्गेस्ट ड्राइभ र दीपक कार्कीले क्लोजेस्ट टु दी पिनको उपाधि जिते । सर्वाधिक स्कोर गर्ने प्रो र उत्कृष्ट ३ एमच्योर गल्फर विजेता टोलीमा परेका हुन् । दोस्रो स्थानका प्रो खेलाडी र चौथो, पाँचौ र छैटौं स्थानका एमेच्योर खेलाडी दोस्रो भए । यसैगरी तेस्रो भएका प्रो तथा सातौं, आठौं, नवौं स्थानका एमेच्योर खेलाडी तेस्रो भएका हुन् ।
स्टेबलफोर्ड फुल ह्यान्डिक्याप फरम्याटमा खेलाइएको इभेन्टमा १५ प्रो र ५५ एमेच्योर खेलाडीले भाग लिएका थिए । विजेतालाई पिजिए नेपालका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र हिमालयन गल्फ कोर्सका निर्देशक किरण केसीले पुरस्कार वितरण गरे।
शुक्रबार भएको ५४ होलको इभेन्टमा धरानका शुक्रबहादुर राईले १ अन्डर २ सय ६ को कुल स्कोरका साथ उपाधि जितेका थिए । सञ्जय लामा र भुवन नगरकोटीले १ ओभर २ सय ८ मा सम्युक्त दोस्रो स्थान हासिल गरेका थिए । २३ औं संस्करणको प्रतियोगितामा कुल ८ लाख नगद पुरस्कार थियो ।
तपाईको प्रतिक्रिया