लघुकथा लेख्न साह्रै गाह्रो !

पोखरा ।
लघु आकारको कथा लघुकथा होइन, कथाको छोटकरी वा सारांश पनि लघुकथा होइन । आख्यानकार र जानकारहरुले नेपाली लघुकथा क्षेत्रका यस्तै, यस्तै कमजोरीबारे छलफल गरे । उनीहरुले लघुकथा लेख्न एकदमै सजिलो भएको तर राम्रो लघुकथा सिर्जना गर्न एकदमै कठिन भएको निष्कर्षसमेत निकाले ।
लघुकथा प्रतिष्ठान, पोखराले शनिबार पोखरामा आयोजना गरेको लघुकथा लेखनसम्बन्धी प्रशिक्षणका प्रशिक्षक, अतिथि, जानकार र सहभागीले लघुकथाका विविध आयाम, इतिहास र अवस्थाबारेसमेत छलफल गरे । प्रशिक्षणमा ३२ जना सहभागी थिए ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पदमराज ढकाल लगायतले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै सिकेको सीपलाई लेखनमा उतार्न आग्रह गरे । प्रशिक्षणका लागि गण्डकी प्रज्ञाप्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानले सघाएका थिए ।
लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले नेपाली लघुकथाको सैद्धान्तिक तथा व्यावहारिक पक्षबारे प्रकाश पारे । नेपाली साहित्यमा लघुकथा कृति प्रकाशनको सुरुआत २००७ सालमा पूर्णप्रसाद ब्राह्मणको ‘झिल्का’ बाट भएको बताए ।
सान्दर्भिक र समसामयिक विधा भएकाले लघुकथामा धेरैको आकर्षण भएको उनको भनाइ छ । सिद्धान्तलाई अनुशरण गर्दै मौलिक तवरले सिर्जना गरिनुपर्ने उनको भनाइ छ । रोदन भन्छन्, ‘लघुकथा साँचोमा हालेर बनाइएको मूर्ती होइन, ढुंगा कुदेर बनाइएको मूर्ती हो ।’
आकर्षक शीर्षक, बिना भूमिका, प्रतीकात्मक र सूत्रात्मक लेखन शिल्प अंगाल्न उनले प्रशिक्षार्थीलाई सुझाए । उनले भने, ‘कथालाई छोटकरीमा भन्दा लघुकथा हुँदैन । कथाको सारांश, चुटकिलाबाट यसलाई जोगाउनुपर्छ ।’ कथा लेखिसकेपछि एक पटक समीक्षक, अर्काे पटक पाठक बनेर परिमार्जन गर्न र समापनलाई चोटिलो, झड्का दिन सक्ने बनाउन उनले आग्रह गरे ।
आख्यानकार प्राडा भवानीप्रसाद पाण्डे ‘भाष्कर’ले लघुकथालाई आख्यानकै प्रविधाको रुपमा चिनाए । उनी भन्छन्, ‘लघुकथा छोटो, सानो, आफैंमा पूर्ण विधा हो । यो स्वरुप लिने, परिभाषा बन्ने क्रम जारी छ । पौराणिक, नीति र बोधकथाको विकल्पमा आएको लघुकथालाई यिनीहरु जस्तै बन्ने जोखिमबाट बचाउनुपर्छ ।’
प्रतिष्ठानका अध्यक्ष विष्णु अल्पविरामले लघुकथा विधाको विकास र विस्तारका लागि विभिन्न प्रयास गर्दै आएको बताए । प्रतिष्ठानले बेला बेलामा लघुकथाबारे अन्तक्र्रिया र हरेक महिनाको दोस्रो शनिबार नियमित लघुकथा वाचन आयोजना गर्दै आएको सचिव कल्याण पन्तले जानकारी दिए ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया