एमालेका ८ मन्त्रीले एकैचोटि दिए राजीनामा

समाधान संवाददाता २०७९ फागुन १५ गते १६:२०

पोखरा ।
नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेर एमाले मन्त्रीहरूले राजीनामापत्र प्रधानमन्त्री दाहाललाई बुझाएका हुन् ।

Advertisement

साेमबार बसेको एमाले सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिएको थियाे । प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट विष्णु पौडेलको नेतृत्वमा आठ जना सहभागी थिए । पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री थिए ।

यस्तै ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी विकास, दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, राजेन्द्रकुमार राई भूमि व्यवस्था, शहकारी तथा गरिबी निवारण, विमला राई पौड्याल परराष्ट्र, पदम गिरी स्वास्थ्य तथा जनसंख्या, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र हरिप्रसाद उप्रेती रक्षामन्त्री थिए ।

पुस १० गते सरकार गठन गर्दा भएको सहमति पालना नभएको जनाउँदै सरकारबाट बाहिरने निर्णय गरेको बैठकपछि उपप्रधान तथा अर्थमन्त्री पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिए । उनले सरकारमा रहेर काम गर्ने सोच रहेपनि प्रधानमन्त्रीबाट एमाले र पार्टीबाट सहभागी मन्त्रीबारे गरिएको पछिल्ला अभिव्यक्ति र व्यवहारले सरकारमा बस्न नसकिएको आरोप लगाए ।

सरकार गठन सत्ता पदको बाँडफाँट मात्र नभइ राष्ट्रिय अभिभारासमेत रहेकोले राष्ट्रमा रहेको सामाजिक, राष्ट्रिय स्वाधिनता, संविधानको रक्षा गर्नका लागि वर्तमान सरकारमा सहभागी भएको उनको भनाइ रहेको थियो । सरकारलाई सफल बनाउन सरकारको नीतिगत प्रथामिकता र न्यूनतम कार्यक्रम सत्तारुढ दलकै सहमतिमा सार्वजनिक गरेका उल्लेख गर्दै उनले भने, “सरकारले आफ्नो नीति तथा कार्यक्रमलाई ग्रहण गरेर अगाडि बढाएको थियो । हामी चाहान्थ्यौ त्यो नीतिगत प्राथमिकता प्रभावकारी रुपमा कार्यान्वयन होस् र सरकार गठनका निम्ति खासगरी पुस १० दुई दलबीचमा भएको सहमति अनुसार नै अघि बढ्छ भन्ने लागेको थियो, तर घटनाक्रम त्यस अनुसार अगाडि बढेन ।”

Advertisement

गत पुस १० गते प्रधानमन्त्री दाहालको नेतृत्वमा गठन भएको सरकारमा एमाले सहभागी थियो । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सरकारबाट बाहिरिने निर्णय गर्दै प्रधामन्त्री पुष्पकमल ‘दाहाल प्रचण्ड’ लाई राजीनामा बुझाइसकेको छ ।

तपाईको प्रतिक्रिया