तनहुँ १ उपनिर्वाचन
पौडेल राष्ट्रपति हुने भएपछि तनहुँ १ मा भट्टराईको तयारी
देउवाले भट्टराईलाई भने– उपनिर्वाचनको तयारी गर्नुस्

पोखरा ।
तनहुँ १ बाट प्रतिनिधिसभा सदस्य बनेका रामचन्द्र पौडेल राष्ट्रपतिका लागि उम्मेदवार बनेसँगै उक्त क्षेत्रमा उपनिर्वाचनको चर्चा सुरु भएको छ । राष्ट्रपतिमा रामचन्द्र निर्वाचित हुने र उक्त क्षेत्रमा उपनिर्वाचनको तयारीमा जुट्न कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
संविधानको धारा ६२ को उपधारा ६ मा ‘निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति यस धारा बमोजिम राष्ट्रपति निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुनेछ,’ भनिएको छ । पौडेल राष्ट्रपति बनेमा त्यहाँ उपनिर्वाचन हुनेछ । उपनिर्वाचनमा विभिन्न पार्टीबाट उमेदवार प्रतिस्पर्धामा उत्रनेछन् ।
सभापति देउवाले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उपनिर्वाचनको तयारी गर्न निर्देशन दिएका छन् । आठ गठबन्धनको मतले पौडेल जित्ने आकलन गरेर उपनिर्वाचनको विषयमा कुरा गर्न भट्टराई सभापति देउवालाई भेट्न धुम्बाराही गएका थिए । भट्टराईले सभापति देउवालाई उद्धृत उपनिर्वाचनको तयारी गर्न भनेको बताए ।
मंसिर ४ गते भएको निर्वाचनमा तनहुँ १ मा भट्टराई उम्मेदवार प्रत्यक्षतर्फ सिफारिस भएका थियो । पौडेल नै उम्मेदवार हुने भएपछि उनले टिकट पाउन सकेका थिएनन् । गत मंसिर ४ मा सम्पन्न प्रनिनिधिसभा निर्वाचनमा पौडेल २५ हजार २६१ मतका साथ तनहुँ–१ बाट विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेददवार एकबहादुर रानामगरले १९ हजार ९८१ ल्याउँदा स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८८६ प्राप्त गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ४४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विनोदकुमार घर्तीले २ हजार ८८४ मत ल्याएका थिए ।
राष्ट्रपतिमा पौडेल विजयी हुँदा संविधानअनुसार पद स्वतः रिक्त भए उनले प्रतिनिधिसभा सदस्य निर्वाचन जितेको तनहुँ–१ मा उपनिर्वाचन हुनेछ ।
गएको निर्वाचनमा समानुपातिक उमेदवारको बन्दसूचीबाट नाम फिर्ता लिएर कांग्रेस नेता गोविन्द भट्टराई प्रत्यक्ष प्रतिस्पर्धा गर्ने तयारीमा लागेका थिए । तर, पौडेल उमेदवार बनेपछि उनलाई नै सहयोग गर्न बाध्य भएका थिए । उपनिर्वाचन लड्न आफू प्राकृतिक उमेदवार भएको उनी बताउँछन् ।
‘सभापतिज्यूसँग भेट भएको थियो । उहाँले चुनाव जितेर आउन भन्नुभएको छ,’ भट्टराईले भने, ‘म तनहुँ–१ कै बासिन्दा हुँ । त्यहाँ रहेका पुराना नेताहरूदेखि नयाँ नेता साथीहरूले पनि मलाई नै अघि बढाउने कुरा गर्नुभएको छ ।’
भट्टराई ०५४ सालमा नेविसंघका अध्यक्ष बनेका थिए । ०७२ सालदेखि केन्द्रीय सदस्य भएका हुन् । सार्वजनिक लाभको पदमा उनले अहिलेसम्म काम गरेका छैनन् ।
आठ दल एक ठाउँमा उभिए कांग्रेसका वरिष्ठ नेता पौडेल ३१ हजारभन्दा बढी मतभारका साथ राष्ट्रपतिमा विजयी हुने निश्चितप्रायः छ । संघीय संसदका दुवै सदन र प्रदेश सभाका सदस्य मतदाता हुने राष्ट्रपति निर्वाचनमा कांग्रेसको मतभार १६ हजार २ सय २१ छ भने माओवादी केन्द्रको ७ हजार ७ सय ७६ छ । एकीकृत समाजवादीको २ हजार ६ सय ७३, जसपाको २ हजार १ सय ४५, जनमत पार्टीको १ हजार २ सय ४२, लोसपाको ९ सय ७१, नागरिक उन्मुक्तिको ८ सय ४ र राष्ट्रिय जनमोर्चाको २ सय २३ मतभार छ । फागुन २५ गते हुन गइरहेको निर्वाचनबाट पौडेल नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भए संविधानको धारा ६२ को उपधारा ६ अनुसार सांसद पद स्वतः रिक्त हुने छ ।







गृह र अध्यागमनको टोली कोरला नाकामा
२ महिनापछि गण्डकी प्रदेशसभा बैठक आज बस्दै
राजनीतिक पाठशालाको सन्देश
‘निजी क्षेत्र हतोत्साहित हुँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया