आविष्कार केन्द्र चलाउन पोखराको २८ रोपनी जग्गा बेच्दै महावीर पुन

समाधान संवाददाता २०७९ फागुन १५ गते २१:२५

रिखिराम जिसी
पोखरा ।
गण्डकी विश्वविद्यालयमा विभिन्न किसिमका साना कृषि औजारहरु बनाउने कामहरु भइरहेका छन् । त्यसका लागि महावीर पुन अध्यक्ष रहेको राष्ट्रिय आविष्कार केन्द्रले सहकार्य गरेको छ । पुनले गण्डकी प्रदेशमा आइसिटी इनोभेसन सेन्टर खोल्ने भनेर सिम्पानीमा पनि काम गरिरहेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिम्पानीमा दिएको एउटा घर छ ।

त्यसमा मर्मत लगायतको काम सुरु भइसकेको छ । पोखरा भ्यालीमा आइसिटी पढेको विद्यार्थीले केही गर्न चाहन्छ भने उनीहरुलाई वातावरण बनाइदिने उद्देश्य हो । आवश्यक किसिमका तालिमको व्यवस्था गर्ने उद्देश्यले उक्त कार्यक्रमको थालनी गरिएको थियो ।


आविष्कार केन्द्रले गण्डकी प्रदेशका ६ वटा अस्पतालमा बिरामीको सबै किसिमको हेल्थ रेकर्डहरु कम्प्युटरमा राखेर, जहिले चाहिन्छ, त्यतिबेला उपलब्ध गराउने किसिमको सिस्टम लागु गर्ने उद्देश्यले इलेक्ट्रोनिक हेल्थ रेकर्ड सिस्टमको काम पनि सुरुआत गरिसकेको छ ।

Advertisement


यी सबै काम गण्डकी प्रदेशले दिने भनेको अनुदानबाट गर्ने गरी आविष्कार केन्द्र अगाडि बढेको थियो । गण्डकी प्रदेश सरकारले अनुसन्धान र नवप्रवर्तनका लागि भन्दै राष्ट्रिय आविष्कार केन्द्रलाई १० करोड रुपैयाँ दिने गरी चालू आर्थिक वर्ष २०७९÷८० बजेटमा विनियोजन गरेको पनि छ । तर, अहिलेसम्म उक्त अनुदान नपाएको गुनासो आविष्कार केन्द्रले गरेको छ ।
आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अनुदानबाट काम गर्ने गरी योजना सुरु गरेपनि अहिलेसम्म नपाएको बताए । ‘यी सबै काम गर्ने भनेको चाहिँ गण्डकी प्रदेशले दिने १० करोडको अनुदानले गर्ने भनेको हो । तर, पैसा आएन । उनीहरुको मुख हेरेर बस्यो भने यो आउन निकै ढिलो हुने भयो,’ पुनले भने ।


सरकारले कार्यविधि पूरा गर्दागर्दै अहिलेसम्म अनुदानको रकम नदिएको पुनले सुनाए । ‘सरकारले कार्यविधि पूरा गर्दागर्दै यिनीहरुले अहिलेसम्म पूरा गर्न सकेका छैनन् । कार्यविधि पूरा गर्ने भन्छन्, छिटोछिटो गर्ने भन्छन् । तर, यत्रो महिना भयो, आएको छैन,’ पुनले गुनासो गरे ।

Advertisement


गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता तोयनाथ लम्सालले आविष्कार केन्द्रको प्रस्ताव आएको र छलफलकै क्रममा रहेको बताए । ‘उहाँहरु (आविष्कार केन्द्र) को प्रस्ताव आएको छ, प्रस्ताव छलफलकै क्रममा छ । टुंगिसकेको विषय होइन,’ मन्त्रालयका प्रवक्ता लम्सालले भने ।


योजनालाई निरन्तरता दिन जग्गा बेच्दै पुन
सरकारले दिने भनेको अनुदान दिन ढिला गरेपछि आविष्कार केन्द्रका अध्यक्ष पुनले पोखरा रहेको आफ्नो जग्गा बेच्न लागेका छन् । उनले ५ वर्षअघि आविष्कार केन्द्रलाई दिएको २८ रोपनी जग्गा बेच्न लागेका हुन् । योजनाका काम सुरु भइसकेको र उक्त योजना चलाउन उनले आफ्नो जग्गा बेच्न लागेको आविष्कार केन्द्रका अध्यक्ष पुनले बताए । उनी भन्छन्, ‘उनीहरुको पैसा आउला भन्ने कुरा पनि राजनीतिक परिवर्तनले गर्दा यिनको पछि लाग्दा लाग्दै दिक्क लाग्यो । दिए दिन्छन् नदिए हामी आफैले जग्गा बेचेर गर्ने भन्ने कुरा हो ।’


आविष्कार केन्द्र तथा अन्य सामाजिक कामका लागि खर्च गर्ने भन्दै जग्गा बिक्री गर्न लागेको पुनले बताए । पुनले ५ वर्षअघि आविष्कार केन्द्रलाई उक्त जग्गा दान घोषणा गरेका थिए । ‘यो जग्गा मेरो नाममा छ तर ५ वर्षअघि नै मैले राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको हो,’ पुनले भने ।


उनले त्यसबाट आएको रकम वीरगन्जको कृषि औजार कारखाना र यो वर्ष गण्डकी प्रदेशमा गर्ने भनिएको कामहरुमा प्रयोग गरिने पुनले बताए । पोखराको ठूलाकोट रहेको जग्गाबाट पोखराको अन्तर्राष्ट्रिय विमानस्थल, बेगनास ताल, हिमाल, फेवाताल देख्न सकिने उनले बताए ।


फेसबुकमा स्टाटस लेख्दै पुनले पोखरा २८ माझठानामा रहेको २८ रोपनी जमिन बिक्री गर्न चाहेको सूचित गरेका हुन् । ‘पोखरा नजिकै को २८ रोपनी जग्गा बिक्रीमा छ ! ईच्छा र पैसा हुनेले किन्नु होस् !! यो जग्गा बेचेर आएको पैसा वीरगन्जको कृषि औजार कारखानामा र यो वर्ष गण्डकी प्रदेशमा गर्ने भनिएको कामहरुमा प्रयोग हुनेछ । जसरी भए पनि नबेची नछाड्ने हो,’ उनले लेखेका छन् ।


डाँडाको टाकुरामा रहेको जमिन होटेल÷रिसोर्ट खोल्न, आश्रम बनाउन, ध्यान केन्द्र बनाउन, मनोरन्जन पार्क बनाउन वा शान्त ठाउँमा प्राइभेट घर बनाएर जिन्दगी बिताउनेका लागि उपयुक्त हुने पुनले बताएका छन् । ‘जग्गाको मूल्य त्यो क्षेत्रमा चलेको दर भाउ हुनेछ । मैले सुने अनुसार त्यो क्षेत्रमा मोटामोटी एक रोपनीको ३० देखि ५० लाख रुपैयाँ जति छ रे,’ पुनले लेखेका छन्, ‘त्यो जग्गाबाट पोखराको अन्तर्राष्ट्रिय विमानस्थल, बेगनास ताल, हिमाल, फेवाताल देखिन्छ । यो जग्गा भएको ठाउँको नाम ठूलाकोट हो । जग्गासम्म पीच बाटो गएको छ र बिजुली छ ।’ यो विषयमा कसैले पनि होच्याएर र हावा कुरा गरेर खिल्ली नउडाउन पुनले अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया