समृद्धिका लागि जनजातिले देशको नेतृत्व गर्नुपर्छः मन्त्री मगर

समाधान संवाददाता २०७९ फागुन १५ गते १९:२९

पोखरा ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादर जुग्जाली मगरले जनजातिले नेतृत्व गरेको क्षेत्र सफल भएको भन्दै मुलुकको नेतृत्व जनजातिले गर्न आवश्यक रहेको बताएका छन् । नेपाल मगर संघको ४१ औं स्थापना दिवसको अवसरमा नेपाल मगर संघ कास्कीले आयोजना गरेको मगर एकता दिवसलाई सम्बोधन गर्दै मन्त्री मगरले मुलुकको समृद्धिका लागि जनजातिले देशको नेतृत्व गर्न आवश्यक देखिएको बताएका हुन् ।

Advertisement


‘देशको महत्वपूर्ण क्षेत्रमा जनजातिले नेतृत्व गर्न आवश्यक छ, जनजातिले नेतृत्व गरेको क्षेत्रमा सफलता मिलेको छ,’ मन्त्री मगरले भने, ‘कुलमान घिसिङले उर्जामा सफलता दिलाए, महावीर पुनले बन्द अवस्थामा रहेको आविष्कार केन्द्र सञ्चालनमा ल्याए । त्यसैले यो एक सफलताको उदाहरण हो ।’


मन्त्री मगरले जनजातिले नेतृत्व गरेको क्षेत्रमा सफलता पाएको भन्दै अब देशको कार्यकारी पदमा जनजातिले नेतृत्व गर्न अधिकार खोज्नै पर्नेमा जोड दिए । उनले फरक प्रसंगमा बोल्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न पोखराको मात्र नभएर गण्डकी प्रदेशका ग्रामीण क्षेत्रमा रहेका पर्यकीय क्षेत्रको प्रचार र पूर्वाधार विकास गर्न आवश्यक रहेको बताए ।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आयो, अहिले फोटो खिच्ने र टिकटक बनाउने भन्दा अरु भएन,’ उनले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न पोखराको मात्र नभएर गण्डकी प्रदेशका सबै जिल्लाको पर्यटकीय क्षेत्रको विकास गर्न सके मात्र विमानस्थल सञ्चालन गर्न सहज हुनेछ ।’


मगर जातिले विदेशी मोह त्यागेर निजामती क्षेत्रमा प्रवेश गर्न आवश्यक रहेको मन्त्री मगरले बताए । उनले भने, ‘मगर तथा जनजाति समुदायहरु विदेशी मोहमा बढी क्रियाशिल छन्, यसलाई रोक्न जनजाति समुदायले निजामती सेवा प्रवेशका लागि लोकसेवाका कक्षा सञ्चालन गर्न आवश्यक छ, तबमात्र जनजाति समुदायको केही हदसम्म विकास र उत्थान हुन्छ ।’
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले मगर तथा जनजाति समुदायले देश र जनताका लागि महत्वपूर्ण योगदान दिएको धारणा राखे । ‘मुलक जोगाउन र बनाउन मगर तथा जनजाति समुदायको महत्वपूर्ण योगदान छ,’ केसीले भने, ‘देश र जनताका लागि केही गर्नुपर्छ भनेर इतिहास कालदेखि हरेक क्षेत्रमा जनजाति समुदायको योगदान छ ।’
नेपाल मगर संघ गण्डकी प्रदेशका उपाध्यक्ष तारा थापा मगरले मगर जातिको भाषा संस्कृतिलाई पाठ्यक्रममा समावेश गर्नुपर्ने तर्क राखिन् । तमु धिं नेपाल कास्कीका अध्यक्ष हुम बहादुर गुरुङले राज्यको कार्यकारी क्षेत्रमा रहेर काम गर्न जनजाति समुदाय एकजुट हुन आवश्यक रहेको बताए ।


नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका महासचिव सुजन लामा, नेपाल मगर विद्यार्थी संघका सल्लाहकार बालकृष्ण काउछा मगर लगायतले बोलेको थिए । नेपाल मगर संघको ४१औं स्थापना दिवसको अवसरमा पोखराको चिप्लेढुङ्गाबाट सुरु भई झाँकी तथा ¥याली महेन्द्रपुल, नयाँबजार, लखनचोक हुँदै पोखरा रंगशालास्थित मगर संघ कास्कीको सभाहलमा गएर कोण सभामा परिणत भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया