आविष्कार केन्द्र चलाउन जग्गा बेच्दै महावीर

रिखिराम जिसी २०७९ फागुन १६ गते १०:३३

रिखिराम जिसी, पोखरा ।
गण्डकी विश्वविद्यालयमा विभिन्न किसिमका साना कृषि औजार बनाउने काम भइरहेको छ । त्यसका लागि महावीर पुन अध्यक्ष रहेको राष्ट्रिय आविष्कार केन्द्रले सहकार्य गरेको छ । पुनले गण्डकी प्रदेशमा आइसिटी इनोभेसन सेन्टर खोल्न सिम्पानीमा पनि काम गरिरहेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिम्पानीमा दिएको एउटा घर छ । त्यसमा मर्मत लगायतको काम सुरु भइसकेको छ ।

पोखरा भ्यालीमा आइसिटी पढेको विद्यार्थीले केही गर्न चाहे वातावरण बनाइदिने उनको उद्देश्य हो । आवश्यक तालिमको व्यवस्था गर्ने उद्देश्यले उक्त कार्यक्रम थालनी गरिएको थियो । आविष्कार केन्द्रले गण्डकी प्रदेशका ६ वटा अस्पतालमा बिरामीका सबै किसिमको हेल्थ रेकर्ड कम्प्युटरमा राखेर, जहिले चाहिन्छ, त्यति बेला उपलब्ध गराउने किसिमको सिस्टम लागु गर्ने उद्देश्यले इलेक्ट्रोनिक हेल्थ रेकर्ड सिस्टमको काम पनि सुरुआत गरिसकेको छ ।

गण्डकी सरकारले दिने अनुदान निकासा हुन ढिलो भएपछि पोखरामा रहेको आफ्नो २८ रोपनी जग्गा बेच्ने तयारीमा महावीर पुन

Advertisement

यी सबै काम गण्डकी प्रदेशले दिने प्रतिवद्धता गरेको अनुदानबाट गर्ने गरी आविष्कार केन्द्रअगाडि बढेको थियो । गण्डकीसरकारले अनुसन्धान र नवप्रवर्तनका लागि भन्दै राष्ट्रिय आविष्कार केन्द्रलाई १० करोड रुपैयाँ दिने गरी चालू आर्थिक वर्ष २०७९÷८० बजेटमा विनियोजन गरेको पनि छ । तर, अहिलेसम्म उक्त अनुदान केन्द्रले पाएको छैन ।

केन्द्रका अध्यक्ष महावीर पुनले अनुदानबाट काम गर्ने गरी योजना सुरु गरे पनि अहिलेसम्म नपाएको सुनाए । ‘यी सबै काम गर्ने भनेकोचाहिँ गण्डकी प्रदेशले दिने १० करोडको अनुदानले भनेको हो । तर, पैसा आएन । उनीहरुको मुख हेरेर बस्यो भने यो आउन निकै ढिलो हुने भयो,’ पुनले भने ।

Advertisement

सरकारले कार्यविधि पूरा गर्दागर्दै अहिलेसम्म अनुदानको रकम नदिएको पुनले सुनाए । ‘सरकारले कार्यविधि अहिलेसम्म पूरा गर्न सकेको छैन । कार्यविधि पूरा गर्ने भन्छन्, छिटो छिटो गर्ने भन्छन् । तर, यत्रो महिना भयो, आएको छैन,’ पुनले गुनासो गरे ।

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता तोयनाथ लम्सालले आविष्कार केन्द्रको प्रस्ताव आएको र छलफलकै क्रममा रहेको बताए । ‘उहाँहरु (आविष्कार केन्द्र) को प्रस्ताव आएको छ, प्रस्ताव छलफलकै क्रममा छ । टुंगिसकेको विषय होइन,’ मन्त्रालयका प्रवक्ता लम्सालले भने ।

योजनालाई निरन्तरता दिन जग्गा बेच्दै पुन
सरकारले दिने भनेको अनुदान आउन ढिला भएपछि आविष्कार केन्द्रका अध्यक्ष पुनले पोखरामा रहेको आफ्नो जग्गा बेच्न लागेका छन् । उनले ५ वर्षअघि आविष्कार केन्द्रलाई दिएको २८ रोपनी जग्गा बेच्न लागेका हुन् । योजनाका काम सुरु भइसकेको र उक्त योजना चलाउन आफ्नो जग्गा बेच्न लागेको पुनले बताए ।

उनी भन्छन्, ‘उनीहरुको पैसा आउला भन्ने कुरा पनि राजनीतिक परिवर्तनले गर्दा यिनीहरुको पछि लाग्दालाग्दै दिक्क लाग्यो । दिए दिन्छन्, नदिए हामी आफैंले जग्गा बेचेर गर्ने भन्ने कुरा हो ।’ आविष्कार केन्द्र तथा अन्य सामाजिक कामका लागि खर्च गर्ने भन्दै जग्गा बिक्री गर्न लागेको पुनले बताए ।

पुनले ५ वर्षअघि आविष्कार केन्द्रलाई उक्त जग्गा दान दिने घोषणा गरेका थिए । ‘यो जग्गा मेरो नाममा छ तर ५ वर्षअघि नै मैले राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको हो,’ पुनले उल्लेख गरे । उनले त्यसबाट आएको रकम वीरगन्जको कृषि औजार कारखाना र यो वर्ष गण्डकी प्रदेशमा गर्ने भनिएका काममा प्रयोग गरिने जनाए । पोखराको ठूलाकोटमा रहेको जग्गाबाट पोखराको अन्तर्राष्ट्रिय विमानस्थल, बेगनास ताल, हिमाल, फेवाताल देख्न सकिन्छ ।

फेसबुकमा स्टाटस लेख्दै पुनले पोखरा २८ माझठानामा रहेको २८ रोपनी जमिन बिक्री गर्न चाहेको सूचित गरेका हुन् । ‘पोखरानजिकै को २८ रोपनी जग्गा बिक्रीमा छ ! इच्छा र पैसा हुनेले किन्नु होस् !! यो जग्गा बेचेर आएको पैसा वीरगन्जको कृषि औजार कारखानामा र यो वर्ष गण्डकी प्रदेशमा गर्ने भनिएको कामहरुमा प्रयोग हुनेछ । जसरी भए पनि नबेची नछाड्ने हो,’ उनले लेखेका छन् ।

डाँडाको टाकुरामा रहेको जमिन होटेल, रिसोर्ट खोल्न, आश्रम बनाउन, ध्यान केन्द्र बनाउन, मनोरन्जन पार्क बनाउन वा शान्त ठाउँमा प्राइभेट घर बनाएर जिन्दगी बिताउनेका लागि उपयुक्त हुने पुनले बताएका छन् । ‘जग्गाको मूल्य त्यो क्षेत्रमा चलेको दरभाउ अनुसार हुनेछ ।

मैले सुने अनुसार त्यो क्षेत्रमा मोटामोटी एक रोपनीको ३० देखि ५० लाख रुपैयाँ छ रे,’ पुनले लेखेका छन्, ‘त्यो जग्गाबाट पोखराको अन्तर्राष्ट्रिय विमानस्थल, बेगनास ताल, हिमाल, फेवाताल देखिन्छ । यो जग्गा भएको ठाउँको नाम ठूलाकोट हो । जग्गासम्म पिच बाटो गएको छ र बिजुली छ ।’ यो विषयलाई कसैले पनि होच्याएर र हावा कुरा गरेर खिल्ली नउडाउन पुनले अनुरोध गरेका छन् ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया