तनहुँ १ मा भट्टराईको तयारी

देउवाले भने– उपनिर्वाचनको तयारी गर्नुस्

समाधान संवाददाता २०७९ फागुन १६ गते १०:४२

दमाैली ।
तनहुँ १ बाट प्रतिनिधिसभा सदस्य बनेका रामचन्द्र पौडेल राष्ट्रपतिका लागि उम्मेदवार बनेसँगै उक्त क्षेत्रमा उपनिर्वाचनको चर्चा सुरु भएको छ । राष्ट्रपतिमा रामचन्द्र निर्वाचित हुने हुँदा उक्त क्षेत्रमा उपनिर्वाचनको तयारीमा जुट्न कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यकर्तालाई निर्देशन दिएका छन् ।

Advertisement

संविधानको धारा ६२ को उपधारा ६ मा ‘निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति यस धारा बमोजिम राष्ट्रपति निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुनेछ,’ भनिएको छ । पौडेल राष्ट्रपति बनेमा त्यहाँ उपनिर्वाचन हुनेछ । उपनिर्वाचनमा विभिन्न पार्टीबाट उमेदवार प्रतिस्पर्धामा उत्रनेछन् ।

सभापति देउवाले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उपनिर्वाचनको तयारी गर्न निर्देशन दिएका छन् । ८ दलीय गठबन्धनको मतले जित्ने आकलन गरेर उपनिर्वाचनको विषयमा कुरा गर्न भट्टराई सभापति देउवालाई भेट्न धुम्बाराही गएका थिए । भट्टराईले सभापति देउवालाई उद्धृत गर्दै उपनिर्वाचनको तयारी गर्न भनेको बताए ।

मंसिर ४ गते भएको निर्वाचनमा तनहुँ १ मा भट्टराई प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका थियो । पौडेल नै उम्मेदवार हुने भएपछि उनले टिकट पाउन सकेका थिएनन् । गत मंसिर ४ मा सम्पन्न प्रनिनिधिसभा निर्वाचनमा पौडेल २५ हजार २६१ मतका साथ तनहुँ १ बाट विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेददवार एकबहादुर रानामगरले १९ हजार ९ सय ८१ ल्याउँदा स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ प्राप्त गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ४४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विनोदकुमार घर्तीले २ हजार ८ सय ८४ मत ल्याएका थिए । गएको निर्वाचनमा समानुपातिक उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिएर कांग्रेस नेता गोविन्द भट्टराई प्रत्यक्ष प्रतिस्पर्धा गर्ने तयारीमा लागेका थिए । तर, पौडेल उम्मेदवार बनेपछि उनलाई नै सहयोग गर्न बाध्य भएका थिए । उपनिर्वाचन लड्न आफू प्राकृतिक उम्मेदवार भएको उनी बताउँछन् ।

Advertisement

‘सभापतिज्यूसँग भेट भएको थियो । उहाँले चुनाव जितेर आउन भन्नुभएको छ,’ भट्टराईले भने, ‘म तनहुँ १ कै बासिन्दा हुँ । त्यहाँ रहेका पुराना नेतादेखि नयाँ नेता साथीहरूले पनि मलाई नै अघि बढाउने कुरा गर्नुभएको छ ।’ भट्टराई ०५४ सालमा नेविसंघका अध्यक्ष बनेका थिए । उनी ०७२ सालदेखि केन्द्रीय सदस्य भएका हुन् ।

सार्वजनिक लाभको पदमा उनी अहिलेसम्म पुगेका छैनन् । ८ दल एक ठाउँमा उभिए कांग्रेसका वरिष्ठ नेता पौडेल ३१ हजारभन्दा बढी मतभारका साथ राष्ट्रपतिमा विजयी हुने निश्चित प्रायः छ । संघीय संसदका दुवै सदन र प्रदेश सभाका सदस्य मतदाता हुने राष्ट्रपति निर्वाचनमा कांग्रेसको मतभार १६ हजार २ सय २१ छ भने माओवादी केन्द्रको ७ हजार ७ सय ७६ छ ।

एकीकृत समाजवादीको २ हजार ६ सय ७३, जसपाको २ हजार १ सय ४५, जनमत पार्टीको १ हजार २ सय ४२, लोसपाको ९ सय ७१, नागरिक उन्मुक्तिको ८ सय ४ र राष्ट्रिय जनमोर्चाको २ सय २३ मतभार छ । फागुन २५ गते हुने निर्वाचनबाट पौडेल नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भए संविधानको धारा ६२ को उपधारा ६ अनुसार सांसद पद स्वतः रिक्त हुनेछ ।

तपाईको प्रतिक्रिया