‘रवीन्द्र दोस्रो मदन भण्डारी’

पोखरा ।
रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले नेपाल सरकारका तत्कालीन मन्त्री, राजनीतिक तथा विकासका अभियन्ता रवीन्द्र अधिकारीको चौथो स्मृति दिवस त्रिविसीय कार्यक्रम गरी मनाएको छ । प्रतिष्ठानले सोमबार स्मृति सभा विशेष कार्यक्रम तथा पत्रकार सुरज कुँवरलाई रवीन्द्र अधिकारी स्मृति पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बहुआयामिक व्यक्तित्व रवीन्द्र उदीयमान दोस्रो मदन भण्डारी भएको टिप्पणी गरे । उनले मदन भण्डारी जस्तै रवीन्द्रले अल्पायुमै ज्यान गुमाउनु परेको उल्लेख गरे । ‘विचार निर्माण, राजनीतिक परिवर्तन, विकास र समृद्धिमा रवीन्द्रको असीमित क्षमता थियो ।
त्यो क्षमता थोरै व्यक्तिसँग हुन्छ,’ मुख्यमन्त्री अधिकारीले भने, ‘वाक कला, लेखन क्षमता, व्यवहारिक ज्ञान, व्यक्ति व्यक्तिको सम्पर्क, गीत, संगीत, साहित्य र अर्थ राजनीतिको विषयमा राम्रा ज्ञान थियो ।’
मुख्यमन्त्री अधिकारीले सार्वजनिक सवारी साधनमा विद्यार्थीलाई ३३ प्रतिशत सहुलियतदेखि गायक प्रवीण गुरुङको हत्याको विरुद्धमा हस्ताक्षर संकलन गरेर दरबारमा लैजाने सामथ्र्य राख्ने व्यक्ति रवीन्द्र भएको उल्लेख गरे ।
उनले पार्टीको स्कुल विभागले लिएको परीक्षामा धेरै क्षेत्रमा रवीन्द्र सर्वोत्कृष्ट भएको स्मरण गरे । रवीन्द्रले अंगालेका असल परम्परा र संस्कारलाई सबै नेता तथा कार्यकर्ताले अनुशरण गर्नुपर्ने उनले उल्लेख गरे ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्राडा जगमान गुरुङले नेपालको राजनीति अस्थिर बनेका बेला रवीन्द्र अधिकारी जस्तो सक्षम, निश्वार्थ र राष्ट्रवादी नेता आवश्यक भएको उल्लेख गरे । उनले रवीन्द्रको चरित्रको केही अंश जीवनमा लागू गर्न सके देशको समृद्धि र राजनीतिक स्थिरता कायम गर्न सकिने दाबी गरे । उनले समृद्ध नेपाल र सुखी नेपाली निर्माण गर्न रवीन्द्र जस्तो सज्जन राजनीति गर्ने नेता आवश्यक भएको बताए ।
फरक प्रसंगमा संस्कृतिविद् गुरुङले कास्की र लमजुङका राजाले शान्ति सम्झौता र सहअस्तित्वको हिसाबले चिनेको पोखरा ३२ को राजाको चौतारो दक्षिण एसियाली सहयोग संगठन (सार्क) तथा संयुक्त राष्ट्र संघभन्दा पुरानो भएको दाबी गरे । उनले शान्ति सम्झौता र सहअस्तित्वका लागि विकास भएको त्यस ठाउँमा सार्क राष्ट्रका नेता आउँदा भ्रमण गराउन सुझाव दिए ।
उनले नेपालले अंग्रेजलाई पराजित गरेको कुश्मा र बागलुङको सिमानामा पर्ने अर्मादीघाटमा विजय स्मारक बनाउन आग्रह गरे । इन्जिनियरिङ अध्ययन संस्थानका पूर्व डिन प्राडा भरतराज पहारीले रवीन्द्रले घर परिवार, समाज र राष्ट्रलाई गरेका योगदान अविस्मणीय भएको जनाए । उनले जीवनलाई सार्थक बनाउनुपर्ने उल्लेख गरे ।
प्रतिष्ठानका अध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य विद्या भट्टराईले रवीन्द्रको विचार तथा मार्ग निर्देशनलाई प्रतिष्ठानले दर्शनको रुपमा लिएको जानकारी दिइन् । प्रतिष्ठानका महासचिव तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले राजनीतिलाई विकास र समृद्धिसँग जोड्नुपर्ने बताए । उनले समृद्धिसँग नजोडे राजनीति अपुरो हुने उल्लेख गरे ।
प्रतिभा छनोट समितिका संयोजक बद्रीविनोद प्रतिकले कान्तिपुर दैनिकका पत्रकार सुरज कुँवरलाई ५० हजार नगदसहित पुरस्कृत गरिएको बताए । कार्यक्रममा जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेल, प्रतिष्ठानका सचिव पुष्पज्योति ढुंगानाले राजनीतिक, विकास निर्माणको क्षेत्रमा रवीन्द्र अधिकारीले गरेको योगदानलाई चीरस्थायी बनाउनुपर्ने बताए ।
यसैबीच रवीन्द्रको चौथो स्मृति दिवसको अवसरमा प्रतिष्ठानले पोखरा १८ सराङकोट स्थित राष्ट्रिय विभूति तथा सहिद पार्कमा निर्माण गरिएको रवीन्द्र अधिकारीको पूर्ण कदको शालिकमा माल्यापर्ण तथा श्रदाञ्जली कार्यक्रम गरेको छ ।
पोखरा ३३ रवीन्द्र स्मृति गुफा सरसफाई तथा पोखरा वृद्धाश्रमका ज्येष्ठ नागरिकसँग मैत्रीपूर्ण भेटघाटसहित प्रतिष्ठानले मंगलबार उद्यमशीलता, युवा र रवीन्द्र विषयक अन्तक्र्रिया आयोजना गरेको छ ।
तपाईको प्रतिक्रिया