सहिद परिवारलाई भत्ता

गण्डकी ।
बागलुङको ताराखोला गाउँपालिकाले सहिद सप्ताहको अवसर पारेर आइतबार जनयुद्धका सहिद र बेपत्ताजनका २७ परिवारलाई मासिक भत्ता वितरण गरेको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले प्रति परिवारलाई मासिक १ हजारका दरले ८ महिनाको एकमुष्ठ भत्ता ८ हजार प्रदान गरे । सहिद र बेपत्ताजनका परिवारलाई भत्तासँगै ‘हटकेस’ पनि वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
सोही समारोहमा गाउँपालिकाभित्रका ४० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । ज्येष्ठ नागरिकलाई उपहारस्वरुप ‘थर्मस’ पनि प्रदान गरिएको थियो । सहिद सप्ताहकै अवसरमा जनयुद्धका बेला बन्दी जीवन बिताएका गाउँपालिकाका १७ जनालाई सम्मान गरिएको छ । मन्त्री चुमानले उनीहरूलाई दोसल्ला र सम्मानपत्र प्रदान गरे ।
मन्त्री चुमानले राजनीतिक परिवर्तनमा ताराखोलाका बासिन्दाले अग्रगामी भूमिका खेलेको बताए । उनले गाउँपालिकाले जनमुखी योजना र कार्यक्रममार्फत समृद्धि ताराखोलाको लक्ष्य पछ्याएकामा खुसी व्यक्त गरे । मन्त्री चुमानले गाउँपालिकाको केन्द्र जोड्ने सहिद मार्ग कालोपत्रका लागि प्रदेश सरकारबाट सक्दो बजेटको प्रबन्ध गरिने प्रतिबद्धता जनाए ।
जनयुद्धमा जीवन गुमाउने सहिद र बेपत्ताजनको सम्मानका लागि मासिक भत्ता दिन थालिएको गाउँपालिका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले बताए । ‘रकम थोरै भए पनि सहिदको योगदानको कदर गर्न खोजिएको छ, यो सुरुआतमात्र हो, पछि भत्ता रकम वृद्धि पनि हुँदै जाला’, उनले भने ।
गाउँसभाले बनाएको कार्यविधि अनुसार सहिद र बेपत्ताजनका परिवारलाई भासिक भत्ता दिन थालिएको हो । ताराखोला जनयुद्धबाट बढी प्रभावित क्षेत्र हो । युद्धमा परी त्यहाँका २६ जनाले ज्यान गुमाएका छन् भने २ जना बेपत्ता छन् । गोली नै लागेर गम्भीर घाइते भई अपांगता भएकाको संख्या १३ र सामान्य घाइतेको संख्या २२ छ ।
गाउँपालिकाको चालु आवको नीति तथा कार्यक्रममा पनि जनयुद्धबाट प्रभावित परिवार र तिनका सदस्यलाई मासिक भत्ता उपलब्ध गराउने उल्लेख थियो । गाउँपालिकाले सहिद, बेपत्ता तजा घाइतेजनका परिवारलाई लक्ष्य गरी स्वरोजगारमूलक कार्यक्रम सञ्चालनको पनि तयारी गरेको छ ।
सहिद सप्ताहमा सम्मानसहित नृत्य प्रतियोगिता, निःशुल्क स्वास्थ्य परीक्षण लगायतका कार्यक्रम गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैरेले जानकारी दिए ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया