सम्पादकीय: लघुवित्तको अनुगमन गर

लघुवित्तका कारण समाजमा आर्थिक, सामाजिक क्षेत्रमा ठूलै समस्या देखिएका छन् । पुराना जमानामा सुनेका साहुँका कहर र चलचित्रमा भूमिपति जस्तै लघुवित्तको ज्यादती सञ्चार माध्यममा आइरहेका छन् । ऋण तिर्न नसक्दा घरमा ताला लगाउनेदेखि ऋणीले आत्महत्या गरेकासम्म घटना आएका छन् । यस्ता घटनाक्रमले लघुविबारे राष्ट्रिय स्तरमा बहस भइरहेको छ । यस विषय गाउँ, टोल, चिया पसलदेखि सदनसम्म पुगको छ । गाउँ गाउँमा वर्षौंदेखि यो समस्या देखिए पनि हालैमात्रै यो विषय राष्ट्रिय बहसमा आइपुगेको हो ।
यो विषयलाई एउटा निष्कर्षमा पुर्याएर लघुवित्तको प्रभावकारी अनुगमन जरुरी छ । लघुवित्तलाई जनताको समृद्धिको साधक बनाउन जरुरी छ । अनेक खालका समस्या देखिन थालेपछि नेपाल राष्ट्र बैंकले लघुवित्तलाई ऋण लगानीमा कडाइ गरेको छ । एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै कर्जा लगानीदेखि कमाएको नाफाबाट लाभांश वितरणमा समेत कडाइ गरिएको छ । राष्ट्र बैंकले एक ऋणी, एक लघुवित्तको अवधारणा लागू गर्न निर्देशन दिएको छ । जुन अत्यावश्यक पनि छ ।
अन्य बैंक तथा वित्तीय संस्थाका ऋणीलाई लघुवित्तले ऋण दिन नपाउने व्यवस्था भएको छ । यसअघि एउटै ऋणीले डेढ दर्जनसम्म लघुवित्तबाट ऋण लिएको देखिएको थियो । देशमा आएको आर्थिक संकटका बेला लघुवित्तका कारण आर्थिक अराजकता भएको देखिएको छ । राष्ट्र बैंकले लघुवित्तमा धितो राखेर कर्जा लिन पाउने व्यवस्था नै हटाएको छ ।
यस्ता कदमले लघुवित्तमा सुधार आउने अपेक्षा त गर्न सकिन्छ तर यी व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनु जरुरी छ । ग्रामीण क्षेत्रका विपन्न मानिसको आर्थिक स्तर उकास्ने मुख्य उद्देश्यका साथ लघुवित्त आएको हो । गरिबलाई उद्यमी बनाउनका लागि यस्ता संस्थाले बिनाधितो ऋण प्रवाह गर्नुपर्छ । केहीले यस्तो दायित्व निर्वाह पनि गरेका छन् तर कतिपय लघुवित्त यो मान्यताविपरीत गएपछि समस्या सिर्जना भएको हो ।
लघुवित्तको ऋण निजी सम्पत्तिको धितोमा आधारित नभएर समूह जमानतमा आधारित हुन्छ । यो सामाजिक कारोबार हो । अन्य वित्तीय संस्थाको ऋण तिर्न नसक्दा ऋणीको धितो लिलाम हुन्छ तर लघुवित्तमा ऋण तिर्न नसक्दा ऋणीको सामाजिक प्रतिष्ठा र सम्बन्ध नै लिलाम हुने देखिन्छ । यही कारण सामाजिक द्वन्द्व र विखण्डनसमेत हुन सक्छ ।
लघुवित्तले ऋण लिने दिने दुबै पक्षमा वित्तीय साक्षरता फैलाउनु जरुरी छ । हरेक ऋणीमा ऋण तिर्नैपर्ने बोध गराउनुपर्छ । कसैले लिएको ऋण अर्को मानिसले गरेको बचतको रकम हो । बचत गर्नेले प्रतिफल पाउनै पर्छ । लघुवित्तका संस्थापक, लगानीकर्ता, कर्मचारी र ऋणीसमेत सुशासनमा बस्नुपर्छ । चाँडै नाफा कमाउने केही लघुवित्तले गरेका हर्कतले सबै लघुवित्त बदनाम हुने खतरा छ ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया