मनकारी मेजर सा’ब

रवीन्द्र माकाजु २०७९ फागुन १६ गते १२:१६

मेजर तुलसीप्रसाद गुरुङलाई मैले पहिलो पटक अमरसिंह माविमा देखेको, भेटेको हुँ । मेजर साहेब त्यस बेला विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुनुहुन्थ्यो । विद्यालयका संस्थापक मेजर गुरुङबारे सोधखोज गर्ने क्रममा अर्का मेजर तुलसीप्रसादसँग मेरो सम्बन्ध प्रगाढ बन्न पुग्यो । मैले त्यस बेला ‘मेजर वीरसिंह’ पुस्तक लेखेको थिएँ ।

म प्रायः सबैलाई भन्ने गर्दथे, मेजर गुरुङले जीवनका हरपल सदुपयोग गरेका छन् । जो सबैका लागि अनुकरणीय र प्रेरणादायी छ । उनी कहिल्यै खाली बसेनन् । निष्क्रिय भएनन् । अमरसिंह हाइ स्कूलमा अध्यक्षको भूमिका निभाए । स्कुलको भौतिक विकासमा महत्वपूर्ण योगदान दिए । चाहे महायज्ञ होस् या दातृ निकाय धाएर, मेजर साहेबले विद्यालयको कायापलट गरे ।

आज अमरसिंह स्कुलको जुन स्वरूप र प्रतिष्ठा छ, त्यसलाई स्थापित गर्नमा उहाँको भूमिकालाई कम आकलन गर्न मिल्दैन ।
मेजरसाहेब राजनीतिक मत, मतान्तरभन्दा माथि उठेकाले सर्वमान्य थिए । उनीप्रति सबैको आस्था र विश्वास थियो । उनमा लगनशीलता, निष्ठा र इमान्दारिता थियो । स्कुल उनका लागि सेवा गर्ने माध्यम र साधन थियो ।

Advertisement

मेजर तुलसीप्रसादले मेजर वीरसिंहको योगदानलाई मुक्तकण्ठले प्रशंसा गर्ने गरेको मैले पाएको छु । मेजर तुलसीप्रसादको मीठो बोली, वचन, सरल स्वभाव, हसिलो मुहार देख्दा उनका कति मित्र होलान् भन्ने लाग्थ्यो ।उनले अरुको आलोचना गरेको देखिएन, सुनिएन । उनी कहिल्यै वादविवादमा फस्न चाहेनन् । मैले यो गरें, उसो गरें भनेर अहंकार प्रदर्शन गरेनन् । मेजर जस्तो उच्च पदमा पुगेर पनि सबैसँग मित्रवत् व्यवहार गर्ने उनी सबैको मित्र बन्न पुगेका थिए ।

आज अमरसिंह स्कुलको जुन स्वरूप र प्रतिष्ठा छ, त्यसलाई स्थापित गर्नमा उहाँको भूमिकालाई कम आकलन गर्न मिल्दैन ।

Advertisement

तुलसीप्रसाद एक कर्मयोगी थिए । प्रायः भूपू सैनिक मोजमस्तीमा रमाइरहेको मैले देखेको छु । तर उनले जीवनका पल पललाई समाजसेवामा लगाए । उनी हरेक क्षेत्रमा निष्ठापूर्वक लागे । जीवनमा ठूल्ठूला सपना देखेनन् । आफूले प्राप्त गरेको जिम्मेवारीलाई निष्ठापूर्वक, इमान्दारितापूर्वक पूरा गरे ।

उनले यस्ता जिम्मेवारी पूरा गर्दा आफूलाई कति फाइदा हुन्छ, कति मेरो नाम हुन्छ, कति यश मिल्छ भन्नेसोचेनन् । उनका लागि कर्म नै पूजा थियो । मेजर साहेबले पूजा गरे गरेनन्, मठमन्दिर गुम्बा बिहार कति धाए ? तीर्थव्रत कति गरे ? दानपुण्य कति गरे ? मलाई थाहा छैन । म यत्ति विश्वस्त छु कि मेजर साहेबले न कसैलाई धोका दिए, न कसैको चित्त दुःखाए, न कसैको अहित गरे ।

विसं. १९९६ माघ ४ गते लमजुङको दशथर नाल्मामा जन्मिएका उनले भारतीय सेनामा जागिर खाएर रिटायर्ड भएपछि राजनीतिक यात्रा शुरु गर्दै गाविसको अध्यक्ष बने । उहाँको ध्यान गाउँको विकास निर्माणमा जान थाल्यो । पछि पार्टीले भूपू सैनिकलाई संगठित गर्ने जिम्मेवारी दियो । उनी भूपू सैनिक संघ कास्की अध्यक्ष बने । पछि राजनीतितिर खासै सक्रियता नदेखाई विशुद्ध समाजसेवातर्फ लागे ।

अन्नपूर्ण टोल समाजघर बनाउने, स्कुल, कलेज जस्ता शैक्षिक संस्थामा संलग्न हुने, सहकारीमा लाग्न थाले । वास्तवमा जसको मन पवित्र हुन्छ, त्यही मानिस सुखी हो । यस अर्थमा मेजर तुलसी खुसी र सुखी व्यक्ति हुन् । मेजर साहेबले ८ दशक पार गर्नुभएको छ । लामो आयु प्राप्त गर्नु पनि अहोभाग्य हो । मेजर साहेबको जीवन अहोभाग्यको रुपमा रुपान्तरण भएको छ ।

मैले सुनेको मेजर साहेबले जहाँ जहाँ नेतृत्व गर्नुभएको छ, ती संघ, संस्था अग्र गतिमा छन् । रोयल सहकारी यसको एउटा उदाहरणमात्र हो । आज रोयल सहकारी संस्थामध्येमा अग्रणी बनेको छ । जसको आफ्नै भवन छ बुद्धचोकमा । समाजमा मेजर तुलसीप्रसाद जस्ता साह्रै थोरै व्यक्ति छन् ।

रवीन्द्र माकाजु

(माकाजु स्वतन्त्र लेखक हुन् )

तपाईको प्रतिक्रिया