सरकारबारे निर्णय गर्न माओवादीमा केन्द्रकै भर

सञ्जय रानाभाट २०७९ फागुन १७ गते १०:१४

सञ्जय रानाभाट, पोखरा ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नेकपा एमालेका मन्त्रीहरूले सोमबार सामूहिक राजीनामा बुझाए । एमालेले दाहाल सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने निर्णय गरिसकेको छ । त्यसो भए अब एमाले नेतृत्वको गण्डकी सरकारमा चाहिँ माओवादीले चाहिँ कस्तो कदम चाल्छ ?

गण्डकीमा माओवादी केन्द्रसमेतको समर्थनमा एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकार छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २२, माओवादीका ८ र राप्रपाको २ गरी कुल ३१ सदस्यको विश्वासको मत मुख्यमन्त्री अधिकारीले पाएका थिए । तर, केन्द्रमा राष्ट्रपति निर्वाचनलाई लिएर ८ दलीय गठबन्धन बनेपछि साढे २ महिनामै खगराज अधिकारी नेतृत्वको गण्डकी सरकार संकटमा परेको छ ।

केन्द्रमा एमालेले झै गण्डकीमा माओवादीले सरकार र समर्थन दुवै फिर्ता लिएर कांग्रेसको नेतृत्वमा सरकार बनाउन भूमिका खेल्ने चर्चा छ । माओवादी सांसदहरु पनि यो कुरा घुमाउरो पाराले स्वीकार्छन् । एकजना माओवादी प्रदेश सभा सदस्यले भने, ‘प्रदेशमा भागवन्डा गर्दा मुख्यमन्त्री खगराज अधिकारीले एकलौटी निर्णय गर्नुभयो ।

Advertisement

यही सरकारमा रहने/नरहनेबारे केन्द्रको कुनै निर्देशन आएको छैनः हरिबहादुर चुमान
केन्द्रमा जे भए पनि स्थिरताका लागि प्रदेशमा मिलेर जानुपर्छः खगराज अधिकारी

मुख्यमन्त्रीसहित ४ वटा मन्त्रालय आफ्नो पार्टीमा राख्नुभयो । २ वटा मन्त्रालय मात्र माओवादीलाई दिँदा हाम्रो पार्टीमा असन्तुष्टि व्यापक छ ।’ यसले गर्दा गण्डकीमा बहुमत माओवादी सांसद खगराज अधिकारी नेतृत्वको सरकार ढल्नुपर्ने पक्षमा भएको उनले बताए । केन्द्रमा एमालेले समर्थन फिर्ता लिएर आफूहरुलाई सहज भएको ती माओवादी सांसदले बताए ।

Advertisement

माओवादी संसदीय दलका नेता तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री हरिबहादुर चुमानले भने आफूहरुलाई सरकार फेरबदलबारे केन्द्रबाट कुनै पनि निर्देशन नआएको बताउँछन् । ‘आजको दिनसम्म केन्द्रबाट हामीलाई यस्तो केही निर्देशन छैन । सरकारमा रहने/नरहने हामीबिच पनि छलफल भएको छैन,’ उनले भने । केन्द्रबाट निर्देशन नभइन्जेल आफूहरुले कुनै कदम नचाल्ने चुमानले सुनाए । उनी थप्छन्, ‘केन्द्रको समीकरण बिग्रिँदा त प्रदेशमा फरक पर्छ तर, अहिलेसम्म यस्तो केही भएको छैन ।’

चुमानले नेताहरुको सहमति भए आफूहरु एमाले नेतृत्वको सरकारलाई निरन्तरता दिने बताए । स्रोतका अनुसार मुख्यमन्त्री अधिकारीले माओवादीका संसदहरुलाई भेटेर मिलेर जान आग्रह गरेका छन् । ‘एमाले—माओवादी मिलेरै अगाडि बढ्नुपर्छ । संघमा जस्तो भएपछि प्रदेशलाई प्रदेश जस्तै बनाऔं । संघमा जस्तो भएपनि प्रदेश संरचनामाथि पनि आक्रोश बढ्दो छ,’ मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार संसदीय दलका नेता चुमानलाई भेटेर भने, ‘सरकार फेरबदल हुँदा जनतामा निराशा बढ्छ । यसैले हामीहरु मिलेर जानुपर्छ ।’

माओवादी सांसद फणीन्द्र देवकोटाले प्रदेश स्वायत्त नभएको हुँदा पार्टी सिस्टममा अछुतो हुन नसक्ने बताए । ‘प्रदेशमा राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेपनि बाहिरिएको छैन । केन्द्रीय राजनीति एउटा अभिन्न अंग भएकाले प्रदेश स्वायत्त भएपछि पार्टी सिस्टममा केन्द्रको जे हुन्छ त्यहीँ प्रदेशमा हुने नै भयो,’ उनले भने, ‘केन्द्रका गतिविधि अनुसार नै हामीले स्टेप चाल्नुपर्ने हुन्छ ।’

देवकोटाले सरकार फेरबदलको कुरा राष्ट्रपति निर्वाचनको दिन फागुन २५ पछि थाहा हुने बताए । ‘जे हुन्छ अब राष्ट्रपति निर्वाचनपछि हुन्छ,’ उनले भने । राष्ट्रपति निर्वाचनलाई लिएर पाँच दलीय गठबन्धन भत्किएपछि संघमा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि (राप्रपा) सरकारबाट बाहिरियो । सांसदले विन्दु थापा पहाडीका अनुसार राप्रपाले संघमा झै प्रदेश सरकारबाट पनि बाहिरिने भनेपनि गण्डकीमा राष्ट्रपति निर्वाचनसम्म कुर्छ । यद्यपि राप्रपा प्रदेशतर्फ बागमतीबाट बाहिरिएको छ ।

राप्रपा गण्डकी प्रदेशको बैठकले पनि सरकारबाट बाहिरिन निर्णय गरेपनि सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङ तत्काल राजीनामा नदिने पक्षमा छन् । गण्डकीमा २ सदस्य रहेको राप्रपाले समर्थन फिर्ता लिनासाथ अधिकारी नेतृत्वको सरकार अल्पमतमा पर्छ । समर्थन फिर्ता लिएर सहयोग गर्न कांग्रेस सांसदले लबिङ गरे पनि मुख्यमन्त्री अधिकारीले हतारिएर कुनै पनि निर्णय नलिन सुझाएपछि मन्त्री पञ्चराम पछि हटेका हुन् ।

‘मुख्यमन्त्रीज्यूले राप्रपाले सरकार छाड्ने परिस्थिति भएसँगै मन्त्रीज्यूलाई हतारिएर कुनै पनि निर्णय नलिनु भन्नुभएको छ,’ मुख्यमन्त्री स्रोतले भन्यो, ‘बरु सरकार छाड्न परेसँगै निर्णय लिउँला अहिले हतार नगर्नुस् भनेर सुझाउनुभएको थियो । यहीँ भएर होला उहाँ अहिले सरकार छाड्ने मनस्थितिमा उहाँहरु देखिनुभएको छैन ।’

स्रोतका अनुसार मुख्यमन्त्री खगराज नेतृत्वको सरकारलाई माओवादीले समर्थन कायम राख्ने कि नराख्ने भन्ने ८ दलीय गठबन्धनको फागुन १९ गते हुने ‘क्लोज क्याम्प’ले निक्र्याेल गर्नेछ । ‘मलाई जानकारी भएसम्म १९ गते ८ दलीय गठबन्धनको राष्ट्रपति निर्वाचनलाई लिएर क्लोज क्याम्प काठमाडौंमा छ । त्यहाँ थाहा होला, पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीज्यूले हामीहरुलाई कस्तो निर्देशन गर्नुहुन्छ,’ एक माओवादी सांसदले भने ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया