महिला संघ पोखराको नेतृत्व विकास अभियान

समाधान संवाददाता २०७९ फागुन १७ गते १६:०८

पोखरा ।
नेपाल महिला संघ पोखरा महानगर समितिले महिलाहरूको नेतृत्व विकास गर्ने अभियान मंगलबारदेखि पोखरामा सुरु गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ बाट अभियानको सुरुवात गरिएको नेपाल महिला संघ पोखरा महानगर समितिका सभापति माया बरालले जानकारी दिइन् ।

Advertisement

अभियानलाई ३३ वटै वडामा सञ्चालन गरी प्रत्येक टोलमा महिलाको नेतृत्व स्थापित गराउने अभियानको उदेश्य रहेको सभापति बरालले जानकारी दिइन् । २०७२ सालमा नेपाल महिला संघ पोखरा महानगर समितिले पोखरा महानगरका ३३ वटा वडामा अभियान गर्ने निर्णय गरेको भएता पनि विभिन्न कारणले अभियान सञ्चालन गर्न नसकिएको सभापति बरालले बताइन् ।

पोखरा महानगर पालिका वडा नम्बर १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले महिलाको नेतृत्व बिना लैंगिक समतामूलक समाज निर्माण गर्न नसकिने बताए । वडा स्तरमा गठन हुने उपभोक्ता समिति, विद्यालय व्यवस्थापन समितिमा महिलाको प्रतिनिधित्व गराउन खोज्दा महिलाहरुले अग्रसरता नदेखाउने गरेको उनले सुनाए । अध्यक्ष तिमिल्सिनाले महिलाका लागि नेतृत्व विकास तालिम अति आवश्यक तालिमका रुपमा रहेको बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिबक्ता सरिता तिम्सिना पगेनीले राज्यका हरेक निकायमा महिलाको अर्थपूर्ण सहभागिताका लागि पनि हरेक समुदायका महिलाको नेतृत्व विकास हुनुपर्ने आवश्यकता औंल्याइन् । नेपाली कांग्रेस पोखरा १६ का उपसभापति मीनबहादुर गुरुङले राज्यले महिलाको लागि उपलब्ध गराएका हक अधिकार प्राप्त गर्नका लागि पनि महिला नेतृत्वमा पुग्न आबश्यक रहेको बताए ।

कांग्रेसका नेता मञ्जुश्री बस्नेतले राजनीतिक दलले महिलाहरूको नेतृव विकासमा भन्दा सभा समारोह र जुलुसमा देखाउन बढी प्रयोग गरेको परिप्रेक्ष्यमा नेपाल महिला संघ पोखरा महानगर समितिको महिलाका लागि नेतृत्व विकास अभियान राजनीतिक दलका लागि पनि अनुकरणीय अभियान भएको बताइन् ।

Advertisement

नेपाल महिला संघ पोखरा महानगर समितिका सभापति माया बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दलित संघ क्षेत्र नम्बर २ ख का सचिव प्रदीप लामिछाने, नेपाली कांग्रेस पोखरा १६ का सचिव बलराम आचार्य, नेपाल महिला संघ पोखरा १६ का सभापति कमला तिमिल्सिना, नेपाल दलित संघ पोखरा १६ का सभापति ओममाया नेपाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिवक्ता सरिता तिम्सिना पगेनीले नेतृत्व विकास कार्यक्रमको सहजीकरण गरेकी थिइन् । कार्यक्रममा पोखरा १६ का दलित समुदायका महिलाहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया