पौडेललाई जिताउन कांग्रेस–माओवादीको संयुक्त बैठक

पोखरा ।
८ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिमा उम्मेद्वारी दिएका नेपाली कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताउनका लागि पोखरामा कांग्रेस र माओवादी केन्द्रको संयुक्त बैठक बसेको छ । पोखरामा बुधबार बसेको संयुक्त बैठकले कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा र माओवादीको गण्डकी अध्यक्ष गायत्री गुरुङ समेतको उपस्थितिमा पौडेललाई विजयी गराउनका लागि ऐक्यवद्धता जनाइएको हो ।
‘राष्ट्रपति निर्वाचनका लागि ८ दलको नयाँ गठबन्धन बनेको छ । सोही गठबन्धनको साझा उम्मेद्वार रामचन्द्र पौडेल हुनुहुन्छ,’ गण्डकी प्रदेशका कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले भने, ‘उहाँलाई निर्वाचित गराउन हामी सबै एकजुट भएका हौं ।’
गठबन्धनका सबै सांसदहरु समेतको उपस्थितिमा १९ गते बृहत बैठक डाक्ने निर्णय समेत भएको नेता पाण्डेले बताए । ‘अब १९ गते सबै सांसदहरु समेतको उपस्थितिमा बैठक हुन्छ । पोखरामा नै बैठक गरेर मतदानका लागि जाने योजना छ,’ पाण्डेले अघि भने, ‘दलका नेताहरुबीच औपचारिक भेटघाट गरिएको हो । सांसद ज्यूहरुसँग पुनः बस्छौं ।’
बैठकमा सहभागी माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले सांसदहरुसँगको बैठकको तयारी भैरहेको बताए । ‘यो बैठक अर्काे बैठकको तयारी हो । सबै माननीय ज्यूहरुलाई एकै ठाउँमा राखेर बैठक बस्ने तयारी भैरहेको छ,’ उनले भने ।
राष्ट्रपतिमा प्रदेश सांसदहरु पनि मतदाता हुन् । प्रदेश सभामा रहेका कांग्रेसका सांसद र माओवादीका सांसदहरुलाई पौडेलको पक्षमा मतदान गर्ने गरी बैठकको आयोजना गरिएको बताइएको छ । कांग्रेस संसदीय दलको कार्यालयमा भएको बैठकमा दुवै पार्टीका प्रदेश प्रमुखहरु पनि उपस्थित थिए ।
तपाईको प्रतिक्रिया