प्रदेश स्तरीय कविता प्रतियोगिता

पोखरा ।
प्रदेश स्तरीय बाल प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले गण्डकी प्रदेश स्तरीय कविता लेखन प्रतियोगिता गरेको छ । आर्थिक वर्ष २०७९/०८०को वार्षिक स्वीकृत कार्यक्रम भएको प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न विद्यालयमा आधारभूत तथा माध्यमिक विद्यालयमा अध्ययनरत १८ वर्षमुनिका बालबालिकाले प्रतिस्पर्धा गरेको मन्त्रालयका सचिव हेमराज सुवेदीले जानकारी दिए ।
आधारभूत विद्यालयतर्फ ८२ र माध्यमिक विद्यालयतर्फ १ सय ४२ विद्यार्थीको आवेदन परेकोमा दुबैतर्फबाट १०/१० रचनालाई छनोट गरी प्रतिस्पर्धा गराइएको छ । बाल अधिकारको प्रचारप्रसार तथा बाल संरक्षण सम्बन्धित विषयमा भएको प्रतियोगिताको माध्यमिक विद्यालयतर्फ परमानन्द संस्कृत गुरुकुल माध्यमिक विद्यालय देवघाट तनहुँका श्रीधर पाण्डे प्रथम भएका छन् ।
बाल परिषद् गण्डकी प्रदेशको समन्वयमा भएको प्रतियोगितामा महेश संस्कृत गुरुकुल माध्यमिक विद्यालय देवघाट तनहुँका विवेक पराजुली द्वितीय, पूर्णामृत माध्यमिक विद्यालय वालिङ स्याङ्जाका सन्तोष पंगेनी तृतीय भएका छन् । प्रतियोगितामा न्यूवेस्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयम बेनी म्याग्दीकी शिल्पिका घर्ती क्षत्री, राम माध्यमिक विद्यालय फलेबास पर्वतका शोभा भुषाल र गणेश माध्यमिक विद्यालय बागलुङकी कुसुम पौडेलले सान्त्वना पुरस्कार पाएको सचिव सुवेदीले बताए ।
आधारभूत विद्यालयतर्फको प्रतियोगितामा परमान्द संस्कृत गुरुकुल विद्यालय देवघाट तनहुँका रोहन खनाल प्रथम भएका छन् । प्रतियोगितामा जनप्रिय माध्यमिक विद्यालय भीरकोट स्याङ्जाकी सुजता पौडेल द्वितीय, एसओएस चिल्ड्रेन भिलेज नेपाल पोखरा १७ की सक्षम सुवेदी तृतीय भएका छन् । दुर्गा आधारभूत विद्यालय बागलुङकी करिस्मा नेपाली, मदरल्यान्ड माध्यमिक विद्यालय पोखराका डेविड जमरकट्टेल र धौलगिरी बोर्डिङ स्कुल हेमजाकी माधवी पौडेलले सान्त्वना पुरस्कार पाएका छन् ।
मन्त्रालयका सचिव सुवेदीले प्रतियोगितामा प्रथम, द्वितीय, तृतिय र सान्तोना स्थान हासिल गर्ने विद्यार्थीले क्रमशः ३० हजार, २०हजार, १० हजार ५/५ हजार नगद र प्रमाणपत्र पाएको जानकारी दिए । ‘बाल अधिकारः हामी सबैको सरोकार’ भन्ने नाराका साथ भएको प्रतियोगिताको मूल्यांकनकर्ताको संयोजकमा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सहप्रा कृष्णप्रसाद पौडेल, सदस्यमा पृथ्वीनारायण क्याम्पसका उपप्रा विष्णुप्रसाद शर्मा, इन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालयकी शिक्षक सीता पौडेल थिए ।
गण्डकी प्रदेशका सामाजिक विकास तथा जनसंख्यामन्त्री पञ्चराम गुरुङले उद्घाटन गरेको प्रतियोगितामा सचिव सुवेदीले कविताको माध्यमबाट बाल प्रतिभा पहिचान गर्न सकिएको बताए । शिक्षा विकास निर्देशनालयका निर्देशक अम्बिकाप्रसाद आचार्यले विद्यार्थी तथा बालबालिका लक्षित धेरै कार्यक्रम गरेको जानकारी दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, मन्त्रालयका शाखा अधिकृत देवी शर्मा, प्रदेश बाल परिषद्का अध्यक्ष सुदीप पौडेल लगायतले प्रदेश स्तरीय बाल प्रतिभा पहिचान कार्यक्रमका बारेमा बोलेका थिए ।
तपाईको प्रतिक्रिया