आज रातिदेखि पृथ्वीराजमार्गको विमलनगर-घाँसीकुवा खण्ड ४ घन्टा बन्द हुँदै

दमौली ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा काम गर्नका लागि आज राति १२ बजेदेखि दैनिक चार घण्टा राजमार्ग बन्द गर्न लागिएको हो ।
मुग्लिन पोखरा सडकखण्डको विस्तार कार्यअन्तर्गत उक्त खण्डमा सुरक्षितरुपमा काम गर्नका लागि आज राति १२ बजेदेखि बिहान ४ बजेसम्म उक्त खण्ड बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए । उक्त खण्डमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधन पूर्णरुपमा बन्द गरी काम गरिने मुग्लिन पोखरा सडक योजना (पूर्वी) खण्डले जनाएको छ । अत्यावश्यक सवारी साधन भने उक्त समयमा पनि सञ्चालन हुने योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए ।
“राजमार्ग बन्द नहुँदा सवारी साधन सञ्चालन भइरहने र काम गर्न अप्ठ्यारो हुने भएकाले हाललाई दश दिनका लागि बाटो बन्द गर्ने निर्णय गरिएको हो”, उनले भने । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा दुई वटा खण्ड विभाजन गरी काम भइरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्म एउटा खण्ड र जामुनेदेखि पोखरासम्म अर्को खण्ड विभाजन गरी राजमार्ग विस्तारको काम भइरहेको छ ।
दुवै खण्डको हालसम्मको प्रगति १० प्रतिशत छ । सम्पन्न गर्नुपर्ने म्याद १४ महिना बाँकी रहँदा कामको प्रगति सुस्त हुँदा समयमै काम सम्पन्न नहुने आशंका उब्जिएको छ । पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति १५ दशमलव पाँच प्रतिशत छ । सुवेदीका उनका अनुसार यस खण्डमा नाली निर्माण, रिटेनिङ वाल निर्माण, भित्ता काट्ने र सडक फराकिलो बनाउने काम भइरहेको छ । विद्युत पोल स्थानान्तरण नहुँदा काम सुस्त छ ।
त्यस्तै जामुनेदेखि पोखरासम्मको खण्डको प्रगति चार दशमलव एक प्रतिशत मात्रै छ । यो खण्डमा पनि कामको गति सुस्त देखिएको छ । यो खण्डमा पनि भित्ता काट्ने र वाल बनाउने काम भइरहेको छ । पूर्वी खण्डको कामका लागि २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछन् । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको काम गर्ने म्याद २०८१ वैशाखसम्म छ ।
पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको काम गर्ने म्याद २०८१ भदौसम्म रहेको छ । विसं २०२६ मा रेखांकन भएकोउक्त सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया