सम्पादकीयः राजनीतिलाई स्वच्छ बनाऊ

समाधान संवाददाता २०७९ फागुन १८ गते ११:५८

प्रतिनिधि सभा निर्वाचन २०७९ मा कुनै दलले पनि बहुमत ल्याउन सकेनन् । यस्तो नतिजा आउने करिब पक्का नै थियो । संघ र प्रदेश कतै पनि कुनै दलको एकल सरकार बन्ने अवस्था सिर्जना नहुनु नै अस्थिरताको मुख्य कारक बन्यो । मत परिणाम सार्वजनिक हुनेबित्तिकै दलहरुको अहं चुलियो ।

निर्वाचनमा सँगै गएका दलहरुबीच सहमति भएन, नयाँ गठबन्धन बन्यो । निर्वाचनमा कुनै पनि दलले कतै पनि स्पष्ट बहुमत ल्याउन नसकेपछिसरकार गठनका लागि दलहरुबीच तालमेल र समीकरणका प्रयास हुनु स्वाभाविकै हो । यद्यपि, यस्तो तालमेल स्वच्छ र पारदर्शी हुनुपर्छ । संसदीय प्रणालीमा चुनावपछि पनि गठबन्धन बन्न र भत्कन उति कठिन हुँदैन ।

तर, सत्ताका लोभमा वा नेताका स्वार्थमा जनादेशको उपहास गर्नेगरी गठबन्धन बनाउने र भत्काउने गरिँदा अहिले जनसाधारणमा समेत राजनीतिप्रति वितृष्णा देखिएको छ । यो घातक छ । चुनावपछि प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसकै नेतृत्वमा सरकार गठन गरिनु जनादेशअनुरूप हुन्थ्यो । तर बदलिएको परिस्थितिले अर्काे गठबन्धन बन्यो ।

Advertisement

तेस्रो बनेको दल माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्यो । राजनीतिको अस्थिरता यत्तिमै सकिएन । सरकारले विश्वासको मत लिने बेलामा करिब ९९ प्रतिशत मत पायो । प्रमुख प्रतिपक्षी कांग्रेस पनि सरकारलाई विश्वासको मत दिएर फरक कित्तामा गयो ।

राष्ट्रपतिको निर्वाचनले भइरहेको सत्ता गठबन्धनमा उलटफेर भयो । फेरि नेकपा एमाले विपक्षी बनेको छ । कांग्रेस सत्तामा जाने तारतम्यमा छ । कांग्रेस र एमालेले राष्ट्रपतिमा उम्मेदवार उठाएका छन् । सत्ता गठबन्धनमा ठूलै उलटफेर नभए कांग्रेससहितको अहिलेको नयाँ गठबन्धनले समर्थन गरेका कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति बन्ने पक्का छ ।

Advertisement

नेपालको राजनीति तरल अवस्था हुँदा सधै विदेशी चलखेल बढेको देखिन्छ । यसपालि पनि देखिने गरी नै विदेशी कूटनीतिज्ञ, राजदूतसहित नेताहरुको चलखेल देखियो । गठबन्धन निर्माण, कार्यकारी पददेखि राष्ट्रपति चयनसम्म विदेशीको चलखेल हाम्रालागि स्वभाविक हुँदै होइनन् । दलहरुबीच एकता नहुँदा यस खालका चलखेललाई थप बल पुगेको देखिन्छ ।

सांसद् किनबेच र अनुचित उपायद्वारा समर्थन जुटाउन खोजियो भने राजनीति र प्रकारान्तरले लोकतन्त्रप्रति नै जनसाधारणको विश्वास टुट्छ । जुन विगतमा पनि देखिएकै हो । अहिले सरकार बनाउँदा पारदर्शी र स्वच्छ प्रक्रिया अपनाए सरकारप्रति जनविश्वास बढ्छ । सत्ताका लागि पर्दापछाडि कुनै गोप्य सम्झौता हुनु हुँदैन ।

जनताका लागि राजनीति गरेको भन्ने दलहरुले जनतालाई नै गुमराहमा राखेर गठबन्धन निर्माण, पदको बाँडफाँट गर्नु हुँदैन । राजनीतिमा प्रतिश्पर्धा र सहकार्य दुवै हुन्छ तर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने र समृद्ध देश निर्माण गर्ने अभिभारा सबै दलको हो । यसबाट विचलित र विमुख हुने छुट दलहरुलाई छैन ।

तपाईको प्रतिक्रिया