तारको गुजुल्टो, दुर्घटनालाई निम्तो

रिखिराम जिसी २०७९ फागुन १९ गते १०:१७

रिखिराम जिसी, पोखरा ।
गण्डकी प्रदेश सभामा बुधबार प्रहरीको भ्यानबाट खसेर एक प्रहरी घाइते भए । प्रदेश प्रमुख पृथ्वीमान गुरूङले सम्बोधन गर्ने कार्यक्रमको व्यवस्थापन गर्न सलामीका लागि झन्डा राख्न भ्यानमा लगिएको फलामको पोल बिजुलीको तारमा अल्झिँदा पोलले हुत्याएर प्रहरी जवान पटक बुढा घाइते भएका हुन् । उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

पोखरा महानगरपालिका १७, घारीपाटन आँखा अस्पताल अगाडिको बिजुलीको पोलमा सोमबार दिउँसो एक्कासि आगो दन्कियो । बिजुली, टेलिफोन, केबुल र इन्टरनेटका तारहरुको गुजुल्टो रहेको पोलमा विद्युत सर्ट हुँदा आगो लागेको स्थानीय हरि बास्तोला बताउँछन् ।

पोलमा आगालागीपछि वरिपरिको क्षेत्रमा विद्युत सेवा केही दिन अवरुद्ध भयो । २०७५ साउन २६ गते महेन्द्रपुलबाट रानीपौवातर्फ गइरहेको मोटरसाइकलमा सवार व्यक्तिमाथि अचानक बिजुलीको तार चुँडिएर लाग्यो । तारले लागेका विष्णु बस्ताकोटीको उपचारका क्रममा मृत्यु भयो । सोही वर्ष बसको छतमा राखेर ल्याइँदै गरेको ट्याक्टर पोखरा अमरसिंहको बिजुली तारमा अड्कियो ।

Advertisement

बिजुलीका पोलमा तारको गुजुल्टो एकातिर छन्, अर्काेतिर सडकको बिचबिचमै बिजुलीका पोल ठडिँदा पनि समस्या छ । केही वर्षअघि अमरसिंहचोक सडकको पोलमा मोटरसाइकल ठोक्किँदा २५ वर्षमुनिका दुई युवा अनुप र सोनित गुरुङले ज्यान गुमाएका थिए ।

बिजुलीका तार र खम्बाहरुको अव्यवस्थाका कारण मानिसको ज्यानै जानेसम्मका घटना पोखरामा नयाँ होइन । बजार क्षेत्रमा बिजुलीको तारसँगै विभिन्न केवल नेटवर्क, टेलिफोन तथा इन्टरनेट कम्पनीहरु थपिँदै गएका छन् । पोखरा महानगरले थालेको पोलमा थाम्नै नसक्ने तारको गुजुल्टो र दूरसञ्चार उपकरणहरु हटाउने अभियान अपुरै छ ।

Advertisement

पोखरा महानगरपालिकाले २०७५ मंसिर २७ गते विद्युतीय पोलका थाम्नै नसक्ने तारको गुजुल्टो र दूरसञ्चार उपकरणहरु हटाउने भन्दै अभियान थालेको थियो । तत्कालीन मेयर मानबहादुर जिसीले सिद्धार्थ चोकमा गुजुल्टो परेकोमध्ये एउटा तार काटेर अभियानको सुरुआत गरेका थिए । महानगरले एक महिनाभित्र पोखराका मुख्यमुख्य ठाउँमा गुजुल्टो परेका तारहरु हटाउँछौं भनेको ३ वर्ष पुग्दासम्म पोलपोलमा भएका गन्जागोल तारहरु व्यवस्थित हुन सकेको छैन । प्रविधिको प्रयोगसँगै तारहरु झन्झन् बढ्दै गएका छन् ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत जेठमा पोखरा आएर यहाँका मुख्य सडकको बिजुली तार अन्डरग्राउन्ड केही दिनमै सुरु हुने बताएका थिए । (एसियाली विकास बैंक) एडिबीसँगको सम्झौतामा सहरी विद्युत वितरण प्रणाली सुदृढीकरण र सहरी सौन्दर्यीकरणका लागि लेखनाथदेखि पोखरासम्मको बिजुली तारलाई भूमिगत गर्न लागिएको घिसिङले उल्लेख गरेका थिए । तर, उक्त काम पनि अहिलेसम्म सुरु हुन सकेको छैन । अव्यवस्थित तार भूमिगत गर्ने विषय महानगरको नीति तथा कार्यक्रममै समेटिएर आएपनि काम भने हुन सकेको छैन ।

महानगरले भने तार अन्डरग्राउन्ड गर्ने काम महानगरको योजनामै रहेको बताउँदै आएको छ । तार अन्डरग्राउन्डको काम १ वर्षभित्र सकिसक्ने गरी महानगर अगाडि बढेको महानगरका प्रवक्ता वडा नम्बर २५ का वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले बताए । ‘तार अन्डरग्राउन्डको काम हाम्रो योजनामै छ । १ वर्षभित्र तारलाई अन्डरग्राउन्ड गरिसक्ने भन्ने छ । प्रोसेस अगाडि बढिसकेको छ,’ प्रवक्ता तिमिल्सिनाले भने ।

कहिले हुन्छ तार भूमिगत ?
पोखरामा विद्युतीय तार भूमिगत गर्न ठेक्का सम्झौता भएको पनि १ वर्षभन्दा बढी भइसकेको छ । पोखरा र भरतपुरमा तार बिछ्याउन भारतीय कम्पनी टाटा प्रोजेक्टसले २ अर्ब ५० करोड ३३ लाखमा जिम्मा पाएको हो । २ वर्षमा सक्ने गरी २०७८ मा निर्माण जिम्मा लिएको प्रोजेक्टसले अहिलेसम्म काम सुरु गरेको छैन ।

नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र पोखराका निमित्त प्रमुख इन्जिनियर लक्ष्मीकेशर आगन्जाले तार अन्डरग्राउन्डको काम सुरु हुने प्रक्रियामा रहेको बताए । ‘डिजाइन फेजमा हुनुहुन्छ, डिजाइन फेज फाइनल भइसकेको छैन, फिल्डमा काम सुरु हुने अवस्था छ भनौं अहिले त,’ उनले भने ।

सडक पोलहरु पनि उतार्दा केही सयम ढिलो भएको इन्जिनियर आगन्जाले जनाए । उनी भन्छन्, ‘सुरुसुरुमा डिजाइन फेज बढी भएकाले चाहिँ डिजाइन फेजमा छौं भनौं न । काम सुरु गर्नेचाहिँ कुँडहरबाट हो, त्यहाँ सडकको पोलहरु उतार्नुपर्ने त्यहाँ फेरि अलि ढिलो भइराछ ।’

आयोजना अन्तर्गत पोखरा सिर्जनाचोक, राष्ट्रबैंकचोक, लेकसाइड, सभागृहचोक, न्युरोड, चिप्लेढुंगा, कुँडहरदेखि जिरो किमीसम्मको मुख्य राजमार्ग लगायत क्षेत्रमा तार भूमिगत गरिने भएको हो । पोखरामा ११ केभीको ४८ सर्किट किलोमिटर, ४०० भोल्टको ३३ सर्किट किलोमिटर र ५५ किलोमिटर अप्टिकल फाइबर लाइन भूमिगत गर्ने गरी सम्झौता भएको छ ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया