नेपाल ८ वर्षपछि विश्व कपमा

पोखरा ।
एसिया क्षेत्र छनोटमा अन्तिम खेलमा युएईलाई ७ रनले पराजित गर्दै ८ वर्षपछि नेपाल आइसिसी यु १९ विश्वकपमा पुगेको छ । नेपालले निर्णायक खेलमा युएईमाथि रोमाञ्चक जित हात पार्दै २०१६ पछि विश्व कपमा स्थान बनाएको हो । नेपालले पछिल्लो पटक २०१६ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । त्यसपछि नेपालले यु १९ विश्वकप खेल्न सकेको थिएन ।
२०१९ को एसिया क्षेत्र छनोटमा नेपाल डकवर्थ लेविस पद्धतिको आधारमा युएईसँग १ रनले पराजित भएको थियो । त्यही १ रनको कारण २०२० मात्रै होइन, २०२२ को पनि विश्वकप पनि नेपालले खेल्न पाएन । २०२१ मा कोरोनाको कारण यु १९ विश्वकप एसिया क्षेत्र छनोट हुन सकेन । पछिल्ला ५ छनोटको प्रदर्शनको आधार मान्दा युएईअघि रहेको थियो । युएईअघि रहनमा त्यही १ रनको जित निर्णायक बनेको थियो ।
सन् १९८८ देखि सुरु भएको यु १९ विश्वकपमा नेपालले २००० मा डेब्यु गरेको थियो । नेपालले २००० देखि २०१६ सम्म ७ पटक यु १९ विश्वकप खेलेको थियो । नेपालले २००० देखि ८ सम्म ५ संस्करण विश्वकप लगातार खेलेको थियो । त्यसपछि २०१२ र २०१६ मा यु १९ विश्वकप खेलेको थियो ।
सन् २००६ मा न्युजिल्यान्डलाई हराउँदै प्लेट च्याम्पिन नै बनेको थियो । २००८ मा प्लेट च्याम्पियनसिपको फाइनलमा वेस्टइन्डिजसँग पराजित भएको थियो । नेपालले २०१६ पछि यु १९ विश्वकप खेलेको छैन । नेपाल २०१६ पछि पहिलो पटक विश्वकप खेल्नेछ ।
नेपालले दिएको १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको युएई ४८ ओभरमा १ सय ८४ रनमा अल आउट भयो । नेपाललाई नाटकीय जित दिलाउन स्पिनर दीपेश कँडेलले ह्याटिकसहित ५ विकेट लिए । युएईलाई जितका लागि ८ रन चाहिँदा दीपेशले ४८ औं ओभरको अन्तिम ३ बलमा लगातार विकेट लिएका थिए । हेमन्त धामी र सुवास भण्डारीले पनि समान २ विकेट लिए ।
तपाईको प्रतिक्रिया