प्रदेशस्तरीय विज्ञान प्रविधि महोत्सव हुँदै

पोखरा ।
हिमालयन साइन्स फाउण्डेसनको आयोजनामा पोखरामा आउँदो जेठमा विज्ञान प्रविधि महोत्सव हुने भएको छ । देशभित्र रहेका वैज्ञानिक प्रतिभालाई प्रष्फुटनको मौका दिने उद्देश्यसहित आउँदो जेठ ४ र ५ गते गण्डकी प्रदेशस्तरीय हिमालयन साइन्स फेस्टिबल पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुन लागेको आयोजनाले जनाएको छ ।
फाउण्डेसनले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रदेशभित्रका सरकारी र निजी विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले ८ प्रकारमध्ये एउटा विषयमा केन्द्रीत भएर आविष्कार गर्न सक्ने जनाएको हो ।
फाउण्डेसनका अध्यक्ष आतंक बस्नेतका अनुसार नवीनतम फोहोर व्यवस्थापन परियोजना, अपांगता भएका व्यक्तिहरूलाई सहयोग गर्ने प्रविधि, दैनिक समस्या समाधान गर्न हार्डवेयर उपकरण र सफ्टवेयर एप्लिकेसन, किसानलाई सहयोग गर्ने नवीन कृषि औजार र उपकरण, वायु र जल प्रदूषणको मात्रा पत्ता लगाउने र शुद्धीकरण गर्ने प्रविधि, उर्जाको वैकल्पिक स्रोतहरु, रासायनिक मलको वैकल्पिक स्रोत र लिफ्टिङ प्रविधिसम्बन्धी गरेर ८ प्रकारका आविष्कार महोत्सवमा देखाउन पाइने
गण्डकी प्रदेशमा हुने महोत्सवमा देखाइने आविष्कारमध्ये प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २५ हजार र २० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
महोत्सवमा सहभागी हुने विद्यालयले स्टलबापत ५ हजार रूपैयाँ शुल्क तिर्नुपर्ने छ । ७ प्रदेशबाट प्रत्येक प्रदेशको उत्कृष्ट ७ टिम गरी ४९ टिमको प्रतिस्पर्धा काठमाडौंमा हुने फाउन्डेसनका अध्यक्ष बस्नेतले बताए ।
तपाईको प्रतिक्रिया