इञ्जा फोटो पत्रकारिता पुरस्कार सुरज श्रेष्ठलाई

समाधान संवाददाता २०७९ फागुन १९ गते १३:४१

पोखरा ।
पोखराका फोटोपत्रकार सुुरेशकुमार श्रेष्ठ (सुुरज श्रेष्ठ) अन्तर्राष्ट्रिय फोटो पत्रकारिता पुुरस्कारबाट पुुरस्कृत भएका छन्।अमेरिकाबाट सञ्चालित नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल “इञ्जा” द्वारा काठमाडौंमा आयोजित इञ्जा फोटो पत्रकारिता पुरस्कारबाट श्रेष्ठलाई पुरस्कृत गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सम्मान पत्र, ५० हजार राशि सहित उनलाई पुरस्कृत गरेका हुन् ।

पोखरालाई कार्यक्षेत्र बनाएर फोटो पत्रकारितालाई निरन्तरता दिँदै आएका श्रेष्ठलाई फोटोपत्रकारिता मार्फत समाजमा खेलेको भूमिका प्रशंसनिय रहेको भन्दै पुरस्कृत गरिएको हो । पुरस्कार ग्रहण गर्दै श्रेष्ठले पत्रकारिता क्षेत्रमा लागिरहन आफुलाई प्रेरित गरेको अभिव्यक्ति दिए । उनले अन्तर्राष्ट्रिय स्तरको पुरस्कार पाउनु आफ्ना लागि पनि राम्रो अवसर भएको उल्लेख गरे ।

‘पुरस्कारले मलाई फोटो पत्रकारिता क्षेत्रमा लागिरहन प्रेरित गरेको छ । काम गर्दै जाँदा सफलता मिल्ने रहेछ भन्ने विश्वास बढ्दै गएको छ । इञ्जा फोटो पत्रकारिता पुरस्कारका लागि मलाई छनोट गर्नुहुने जुरी टीमलाई धन्यवाद व्यक्त गर्दछु ।’, उनले भने ।
अन्तर्राष्ट्रिय स्तरको फोटो पत्रकारिता पुरस्कारका लागि पहिलो पटक नै पोखरालाई रोज्नु आफ्नो र समग्र पोखराका लागि नै राम्रो अवसर भएको उनको भनाइ थियो । उनले पोखरा र आसपासका क्षेत्रलाई फोटोपत्रकारिता मार्फत प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन सँगै सामाजिक रुपान्तरणमा लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

Advertisement

कार्यक्रममा बोल्दै सभामुख देवराज घिमिरेले देश र जनताका हितमा खोजी र अनुसन्धानलाई आधार बनाएर पत्रकारिता गर्न सुझाव दिएका छन् । व्यवस्था परिवर्तन भएसँगै पत्रकारिता क्षेत्रको भूमिका र जिम्मेवारी पनि फेरिएको भनाइ उनको छ । संसद र सरकारलाई प्रभावकारी तुल्याउन पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण भएको उनले बताए ।

कार्यक्रममा इञ्जा बौद्धिक पत्रकारिता पुरस्कार त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक जगत नेपाल र दैनिकी डटकम अनलाइनका सम्पादक माधव तिवारी तथा इञ्जा खोजी पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका मात्रिका दाहाल र आइएनएस डटकम अनलाइनका तारा वाग्लेलाई प्रदान गरिएको थियो ।

Advertisement

इञ्जा ग्रामीण पत्रिकारिता पुरस्कार रेडियो समग्र एफएम १०७ मेघाहर्ज लाहान र युवा पत्रकार सरिता चलाउनेलाई तथा इञ्जा फोटो पत्रकारिताबाट सुरज सँगै नरेन्द्र श्रेष्ठलाई प्रदान गरिएको थियो । ती सबै पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ सहित सम्मानपत्र रहेको थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार रघु मैनाली, सम्पादक समाजका संरक्षक किरण वैद्य, वरिष्ठ पत्रकार कुमार यात्रु र जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्मालाई इञ्जा अग्रज पत्रकारिता सम्मान अर्पण गरिएको थियो । यसै गरी समाजसेवामा योगदान पुर्याए बापत शङकर भट्टराई, महिला हक अधिकारका क्षेत्रमा क्रियाशिल विजया शाह र युवा व्यवसायी प्रदीप गुरुङलाई समेत विशेष सम्मान प्रदान गरिएको थियो ।

सो अवसरमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले इञ्जाले पत्रकारिताका सबै महत्वपूर्ण विधालाई समेट्दै पत्रकारिताको हित र कल्याणका लागि गरेको योगदान प्रशंसनीय रहेको बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले नेपाली प्रेसले भोगेका समस्या सम्बोधन गर्ने विषयमा सरकार र सदनको ध्यान पुग्नुपर्ने अभिव्यक्ति दिए ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्का, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष विष्णु सापकोटा र समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठ र सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले पत्रकारिता क्षेत्रमा अवसर प्रदान गरिँदासमेत राजनीतिका छायाँ झल्कने भइरहेकोे अवस्थामा इञ्जा भने त्यसबाट मुक्त देखिएको उल्लेख गरे ।

इञ्जाका ग्लोबल अध्यक्ष गुणराज लुइँटेल, एसिया अध्यक्ष टंक पन्तलगायतले नेपाली पत्रकारिता क्षेत्रको श्रीवृद्धि र पत्रकारको उन्नयनका लागि विभिन्न फेलोसिप, पुरस्कार र सहयोग गर्दैआएको जानकारी दिए ।

सुरज श्रेष्ठका बारेमा
पोखरालाई आफ्नो कार्यक्षेत्र बनाएर फोटो पत्रकारितालाई निरन्तरता दिँदै आएका श्रेष्ठ २०६२ सालबाट पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । पोखरा सिटीडकम र ठीकठाक डटकमबाट फोटो पत्रकारिता शुुरु गरेका श्रेष्ठले कान्तिपुर, कान्तिपुर साप्ताहिक, नागरिक म्याग्जिनमा फोटो पत्रकारको रुपमा काम गरे ।

श्रेष्ठले खिचेका फोटो पोखराबाट सञ्चालित पत्रिकाहरुमा पनि प्रकाशित भएका छन् । हाल श्रेष्ठको आफ्नै मिडिया एस टु प्रोडक्सन, ह्याप्पी पोखरा डटकम सञ्चालनमा छ । २०७० सालमा आफ्नै प्रोडक्सन हाउस एस टु प्रोडक्सन संचालनमा ल्याई थुप्रै म्युजिक भिडियो, विज्ञापन,डकुमेन्ट्री र प्रोमो निर्माण गर्दै आएका छन् ।

फोटो पत्रकारिता सँगै उनको अर्को परिचय भनेको गायन हो । २०५८ सालमा गायक बन्छु भनेर हिँडेका श्रेष्ठले ‘अन्जान मायालुु’ गीति एल्बम निकाले । उक्त एल्बमको ‘सम्झना छ छोडी जानेलाई, माया छ बिर्सी जानेलाई’ बोलको गीतले प्रसिद्धि कमायो । जुन गीत अहिले पनि उत्तिकै रुचाइन्छ ।

श्रेष्ठले नेपालको चर्चित रियालिटी शो हिमालयन रोडीजमा सिनेमेटोग्राफीको काम समेत गरेका छन् । सगरमाथा क्याम्पमा आयोजना गरिएको वल्र्ड भ्लग च्यालेन्जमा पनि उनले सिनेमेटोग्राफीको काम गरिसकेका छन् । अनुभवले खारिएका श्रेष्ठले राष्ट्रिय फोटो पत्रकार संघले २०७० सालमा आयोजना गरेको राष्ट्रिय स्तरको ‘नेपाल फोटो कन्टेस्ट’ बाट समेत सम्मान प्राप्त गरेका छन् । उक्त कार्यक्रममा उनले खिचेको फोटो उत्कृष्ट भएको थियो । नेपालका तत्कालिन उपराष्ट्रपति बाट उनले सम्मान र पुरस्कार पाएका थिए ।

२०७५ सालमा पोखरामा ट्रेनर नेपालले आयोजना गरेको फेशन अवार्ड नेपालमा श्रेष्ठले बेष्ट फेशन फोटोग्राफरको अवार्ड हात पारे । पोखरामा भएका सौन्दर्य प्रतियोगिताहरुमा निणार्यकको भुमिका समेत उनले निर्वाह गर्दै आएका छन् । सुरजको सक्रियता समाजसेवामा पनि देखिन्छ । श्रेष्ठ नेपाल पत्रकार महासंघ कास्की र चलचित्र पत्रकार संघ कास्कीमा पनि आबद्ध छन् । नेपाल फोटो पत्रकार संघ कास्कीको कोषाध्यक्षको जिम्मेबारी सम्हालेका श्रेष्ठको दैनिकी भनेकै फोटोग्राफी हो ।

तपाईको प्रतिक्रिया