उपसभामुख हुँदा खुसी, पार्टी त्याग्नुपर्दा दुखी

प्रमिला कुँवर २०७९ फागुन २१ गते १०:२४

प्रमिला कुँवर, पोखरा ।
गण्डकी प्रदेश सभामा उपसभामुखको सपथ लिँदै गर्दा बिनाकुमारी थापालाई खुसी र दुख एकैचोटि लागिरहेको थियो । तीन दशकभन्दा लामो समय राजनीतिमा सक्रिय थापा गत माघ २ गते उपसभामुखमा निर्वाचित भएकी छन् । उपसभामुख भएपछि जनता र प्रदेशको जिम्मेवारी उनको काँधमा आएको छ तर पार्टीको जिम्मेवारी भने टाढियो । लक्ष्य प्राप्त गरेको भएपनि पनि उपसभामुख भएलगत्तै पार्टीको सदस्यता त्याग्नु पर्दा उनको मुटु पोलेको थियो ।

‘राजनीतिक यात्राको सुरुआतदेखि नै नेकपा एमालेमा आवद्ध रहेर काम गरेँ, पार्टीकै कारण आज उपसभामुख भएकी छु, साधारण सदस्य पनि नरहने गरेर सदस्यता त्याग्नु पर्दा आँसु नै झरेको थियो,’ उनले भनिन्, ‘त्यो क्षण पीडादायी थियो, अभिभावकसँग छुटिएजस्तो लागेको थियो । बरु पद चाहिन्न म पार्टीकै सदस्य भएर बस्छु भन्ने सोचसम्म आएको थियो । तर अब म साझा व्यक्ति हो निष्पक्ष भएर काम गर्नुपर्छ ।’

तर त्यो बेला थापाले भावुक होइन व्यावहारिक भएर सोचिन् । जनताका आवश्यकता पूरा गर्न यहाँसम्मको यात्रा तय गरेकी थिइन् । कमजोर भएर होइन, जनताका कारण यो स्थानमा आएकी छु जनताको काम गर्नुपर्ने छ ।

Advertisement

पार्टीकै कारण आज उपसभामुख भएकी छु, साधारण सदस्य पनि नरहने गरेर सदस्यता त्याग्नु पर्दा आँसु नै झरेको थियो
बिनाकुमारी थापा

उपसभामुखको कार्यकाल सकिएपछि भने एमालेमै फर्किने÷नफर्किनेमा थापा अनिश्चित छिन् । ‘परिस्थितिले कस्तो बनाउँछ, जोडिन्छु वा जोडिन्न, पार्टीले नै यो ठाउँमा पुर्‍याएको हो,’ उनले भनिन्, राजनीतिक संगठनसँगै आवद्ध रहेका सामाजिक संघसंस्थाको जिम्मेवारी र जागिर पनि छोडेँ ।’

Advertisement

बागलुङको बडिगाड गाउँपालिका १ ओबाङमा २०३० मा जन्मिएकी थापा स्कुले समयदेखि नै एमालेमा आबद्ध भएकी थिइन् । गाउँमा ७ कक्षा पढेर ८ कक्षा पढ्न गुल्मीको रेसुंगा झरेकी थिइन् । गाउँमा ७ कक्षासम्म मात्र पढाइ हुन्थ्यो, टाढा जानुपर्ने अवस्थाले धेरैजनाले पढाइलाई निरन्तरता दिन सक्दैन्थे । परिवारले पनि छोरीलाई घरबाहिर बसेर पढ्न सजिलै अनुमति दिन्थेनन् । छोरीहरु बाहिर बसेकाे समाजले राम्रो मान्दैन्थ्यो, आर्थिक समस्याले पनि पढाइ छोड्नपर्ने अवस्था हुन्थ्यो । थापाले भने पढाइलाई निरन्तता दिइरहिन्, परिवारबाट पनि राम्रो साथ मिल्यो ।

कलेजका दिनहरुमा आन्दोलनमा निकै जोडिइन् । २०५१ मा आइए सकेर थापा गाउँमै फर्किएर सामाजिक संस्थामा जागिरसँगै समाजसेवामा सक्रिय भइन् । समाज परिवर्तन गर्नुपर्छ, महिलाको अधिकारका लागि लड्नुपर्छ, कमजोर र अन्यायमा परेकालाई साथ दिनुपर्छ भन्ने उनको सानैदेखि सोच थियो । उनले आफ्नै पहलमा महिला जागरण केन्द्र स्थापना गरिन् । अनि केन्द्रको संस्थापक सचिव भएर काम गरिन् ।

उनको एउटै लक्ष्य र सोच थियो महिलाका क्षेत्रमा काम गर्ने त्यसबीचमा उनले बडिगाड महिला तथा बालबालिका संस्था, दिदीबहिनी बचत तथा ऋण सहकारी, अल्पकालीन सेवा केन्द्रको स्थापना गरिन् । जसले हिंसा पीडित महिलाका लागि महिला सशक्तीकरण महिला सुदृढीकरणका काम गर्छन् । उनले उद्देश्यलाई अझै प्रभावकारी बनाउन रेडियो सारथि पनि स्थापना गरिन् । मिडियासँग ठूलो शक्ति हुने र यसले छिटो र व्यापक रुपमा प्रभाव पार्ने उनी बताउँछिन् । अहिले उनी रेडियोको उपाध्यक्ष हुन् ।

एनजिओ/आइएनजिओको सहकार्यमा थुप्रै विकास निर्माणका कार्य पनि गरेकी छन् उनले । ती काम अहिले सम्झिँदा आनन्द मान्छिन् । एउटा घटना त कहिल्यै बिर्सन सक्दिनन् । एउटा दिदी र उनकी बच्चालाई श्रीमान् र श्रीमान्को परिवारले स्वीकारेको थिएन सम्बन्धबिच्छेदका लागि जिल्ला अदालत बागलुङमा परेको निवेदनसमेत फिर्ता गरेर पारिवारिक मिलन गराएकी थिइन् बिनाले ।

‘हामीले त्यो दिदीलाई साथ दिँदा हामीलाई लौरोले लखेट्नु पनि भएको थियो । मिलनपछि हामीलाई सम्मान गर्नुभएको थियो । दिदीसँगै उहाँको बच्चाले पनि हक अधिकार पायो । उसले बुबाआमा दुबै पायो, उसको भविष्य राम्रो भयो, अहिले त्यो परिवार खुसी र पर्फेक्ट छ । यो कुराले आज पनि सन्तुष्टि मिल्छ । पछि त त्यो परिवारले हामीलाई सम्मान दिनुभयो यो मेरो लागि ठूलो उपलब्धि हो,’ उनले भनिन् ।

समाजसेवा, जागिर, पढाइ र राजनीतिमा सँगसँगै अघि बढिरहिन् । २०५१ मै बागलुङको महेन्द्र (धौलागिरी) क्याम्पसमा स्नातकमा भर्ना भइन् तथा पार्टीको जिल्ला कमिटीको सदस्य भइन् । राजनीतिक कार्य सदरमुकाममा उनको कार्यथलो ओबाङमा । एकैचाटी व्यवस्थापन गर्न गाह्रो थियो तर पनि उनी निरतन्तर जागिर र पार्टीमा लागिरहिन् ।

बडिगाडमा मोटर बाटो पुगेको थिएन । पार्टीका छलफल, बैठक सदरमुकाममा हुन्थे, उनी पैदलै आउजाउ गर्थिन् । एकदिनमै सदरमुकाम पुग्न सम्भव थिएन, बाटोमै बास बसेको, भोकभोकै हिँडेको, जूनको उज्यालोमा हिँडेर १२/१ बजे घर पुगेको अनुभव उनीसँग धेरै छने ।

दुखकष्ट हुँदा पनि उनी विचलित भइनन् । त्यसलाई शक्तिमा परिणत गरेर निरन्तर लागिरहिन् । ‘समाज परिवर्तन गर्न उद्देश्य बोकेर हिँडेको मान्छे यस्ता कुराले फरक पर्थेन । उद्देश्यले साहस दिन्थ्यो, ऊर्जा मिल्थ्यो,’ उनले भनिन्, दुख कष्ट भएपनि पार्टी छोडौं कहिल्यै भएन पार्टीसँग भावनात्मक रुपमा जोडिएकी थिएँ ।

कुनै पनि कुरामा उनलाई परिवारबाट अवरोध भएन । आफ्नो निर्णय आफैं लिने छुट थियो उनलाई । परिवारको साथले नै यहाँसम्म आएको उनी बताउँछिन् । उनको राजनीतिक यात्रा ३ दशकभन्दा लामो हुँदा पनि राजनीतिमा महिलाको अवस्थामा परिवर्तन नभएको उनको तर्क छ ।

२०४६/४७ मा पञ्चायतविरुद्ध आन्दोलनको समयमा उनकी फुपूदिदी ओबाङ गाउँ उपाध्यक्ष थिइन्, उनकी दिदी सदस्य थिइन् । उनको छिमेकी गाविस पाण्डवखानीमा पनि उपाध्यक्ष महिला थिइन् । यसले उनमा राजनीति प्रभाव पारेको थियो । राजनीतिमा महिलाको नेतृत्व न्यून रहेकोमा यो बलियो उदाहरण थियो ।

२०४७ बाट २०७९ सम्म आउँदा पनि महिलाको नेतृत्व कम छ, नेतृत्व गर्न वर्ग, क्षेत्रले अवरोध पुग्ने उनले विचार राखिन् । ‘अहिले पनि सबै दलले महिलालाई उपप्रमुख र सदस्यमै सीमित राख्ने गरेका छन् । महिलाले चुनाव जित्न सक्छन् भन्ने मानसिकता नै छैन,’ उनले भनिन्, ‘यहाँसम्म आउँदा पनि र उपमै सीमित राखिएको छ । महिलाले टिकट पाउनै मुश्किल छ पाए पनि आर्थिक हिसाबले सबल नहुँदा पुरुषलाई जति सहज छैन, केहीमात्रामा सुधार भएको छ ।’

बिना एमाले बागलुङ जिल्ला कमिटी सचिवालय सदस्य हुन् । गत स्थानीय निर्वाचनमा गाउँपालिकाको उपाध्यक्षका लागि कुरा राखे पनि उनले टिकट पाइनन् । प्रदेश सभा सदस्यको प्रत्यक्ष उम्मेदवारीको कुरा राख्दा पनि उनलाई पन्छ्याइयो तर समानुपातिक प्रणालीबाट सांसद भइन् ।

‘प्रत्यक्षमा टिकट नपाएर ठिकै भयो, योग्य व्यक्तिले नै पाउनु भएजस्तो लाग्छ,’ उनले भनिन्, ‘यो ठाउँमा कसरी आएँ भन्ने कुराले फरक पार्दैन मैले जनताका लागि कति गर्न सके भन्ने कुरा महत्वपूर्ण हो । समानुपातिक नै भएपनि जनताको मतले नै यो ठाउँमा ल्याएको हो ।’

प्रदेश सभालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा केन्द्रित हुने बिना बताउँछिन् । सभालाई कार्य गर्न मिल्ने वातावरण बनाइदिए उनीहरुले जनताको काम गर्नसक्छन् भन्ने उनको विश्वास छ । ‘मेरो भूमिका सक्रिय नभए पनि निस्क्रिय पनि पक्कै होइन,’ उनी भन्छिन्, ‘जनताका लागि काम गर्ने हुटहुटीले यहाँसम्म ल्याएको छ । कानुन बनाउने ठाउँमा छु सही कानुन बनाउन सकियो भने जनताको आवश्यकता पूरा हुनेछन् ।’

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया