आनन्दज्योति स्कुल ५१ वर्षमा

समाधान संवाददाता २०७९ फागुन २१ गते ११:१२

पोखरा ।
पोखरा महानगरपालिका ३१ बेगनासमा अवस्थित आनन्द ज्योति माध्यमिक विद्यालयको ५० औं वार्षिकोत्सव एवं अभिभावक दिवस मनाइएको छ । बुधबार विद्यालयले एक कार्यक्रम आयोजना गरेको छ ।

Advertisement

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सामुदायिक विद्यालयहरुको गुणस्तर बढाउन अभिभावकको भूमिका सबैभन्दा महत्वपूर्ण हुने बताए । हिजोभन्दा आज केही सुधार भएको भए पनि अझै अपेक्षित सुधार हुन नसकेको उनले औंल्याए ।

अभिभावकले आफ्ना बालबालिकालाई निजीमा लैजान प्रतिस्पर्धा गर्ने तर सामुदायिक जिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न प्रयास नगरेका कारण नै सामुदायिक विद्यालयहरुको गुणस्तर कमजोर बन्दै गएको उनको भनाइ छ ।

आफैंले पढेको विद्यालयको वार्षिकोत्सवमा मुख्यमन्त्री अधिकारीले १८ अघि वेगनासमा भएको सडक दुर्घटनामा परी गुमेका आफ्ना समकालीन साथीहरुको सम्झना गथरे । उनले भौतिक पूर्वाधारको अभावका बीच आफूले अध्ययन गरेका दिन स्मरण गरे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तीर्थराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अर्थ मन्त्रालयका उपसचिव वसन्तराज तिवारी, शिक्षक अभिभावक संघका अध्यक्ष सन्दीप अधिकारी, नेपाली कांग्रेसका श्रीराम कँडेल, नेकपा एमालेका गणेशबहादुर थापा, राप्रपाका प्रकाशचन्द्र तिवारी, अमरसिद्ध मावि पचभैयाका प्रधानध्यापक विष्णु पौडेल, शिक्षक सत्यराज कँडेल र बसन्त पहारीले बोलेका थिए ।

Advertisement

समारोहमा प्रधानाध्यापक शिवराज अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरे । सो अवसर १० लाख रुपैयाँको गुरुप्रसाद अक्षयकोष र १ लाख ११ हजार १ सय ११ रुपैयाँको छविलाल सरास्वती अक्षयकोष घोषणा भएका छन् ।

इन्जिनियर चिरञ्जीवी तिवारी र रमा तिवारीले बुबा गुरुप्रसाद तिवारीको नाममा १० लाख रुपैयाँको अक्षयकोष र डा श्रीप्रसाद कँडेल, शिवराज कँडेल, शुक्रराज कँडेल र श्रीराम कँडेलले बुबाआमा छविलाल/सरस्वती कँडेलको नाममा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

सागर पौडेलले बुबाआमा राकेश/विजया पौडेलको नाममा ५० हजार रुपैयाँ र शिक्षक अभिभावक संघका अध्यक्ष सन्दीप अधिकारीले हजुरआमा दमयन्तीको नाममा १५ हजार रुपैयाँ विद्यालयलाई प्रदान गरेका छन् ।

तपाईको प्रतिक्रिया