सम्पादकीयः तारका गुजुल्टो हटाऊँ

सडक किनारका खम्बाका बिजुली, इन्टरनेट, टेलिफोन र केबुलका तारका गुजुल्टाले जति सहरलाई कुरुप बनाएका छन्, उत्तिकै जोखिम पनि बढाएका छन् । पोखरा १७ घारीपाटनस्थित आँखा अस्पताल अगाडिको खम्बामा फागुन १५ गते लागेको आगोको कारण विद्युत सर्ट थियो ।
धन्न त्यो आगोले धेरै क्षति पुर्याउन पाएन, उक्त क्षेत्रमा केही समय विद्युती अवरुद्ध भयो, इन्टरनेट र केबुल सेवामा पनि क्षति पुग्यो । बिजुलीको खम्बामा भएका तारका गुजुल्टोले दुर्घटना निम्त्याएको पोखरामा त्यो पहिलो घटना थिएन । नियमित आकस्मिकताका रुपमा त्यस्ता दुर्घटना हुने गरेका छन् । केही वर्षअघि बिजुलीको तार चुँडिएर खस्दा एकजनाको ज्यानैसमेत गएको थियो । अरु थुप्रै दुर्घटना भइरहेका छन् ।
सहरी क्षेत्रका तारहरु भूमिगत बनाउने कुरा चुनावका बेला निकै उठ्छ । महानगरपालिकाको मेयरका मात्रै हैन, वडाध्यक्षसम्मका उम्मेदवारले तार भूमिगत बनाउने प्रतिबद्धता जनाउँछन् । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदा पोखराका मेयर धनराज आचार्यले तार भूमिगत गर्ने उल्लेख गरेका थिए । तर त्यसको कार्यान्वयन भएको देखिएको छैन ।
पोखरामा आजसम्म पनि कहिँ कतै पनि तारहरु भूमिगत भएका छैनन्, बनाइएको छैन । पोखरा र भरतपुरका तार भूमिगत गर्ने भनी नेपाल विद्युत प्राधिकरणले एक भारतीय कम्पनीलाई ठेक्का पनि दिइसकेको हो । तर २ वर्षभित्र गर्नुपर्ने काम त्यो कम्पनीले सम्झौताको १ वर्ष बितिसक्दा पनि सुरु गरेको छैन ।
यसबारे महानगरपालिका र प्राधिकरणले नै चासो देखाउनुपर्ने हो । ठेकेदार कम्पनीलाई जवाफदेही बनाएर काम सुरु गराउने उनीहरुको दायित्व हो । सबै ठाउँमा नसके पनि सहरका मूल क्षेत्रमा तारहरु भूमिगत भएदेखि त्यसले सम्भावित दुर्घटना न्यूनीकरण गर्छ ।
तारहरुको झल्याङझुलुङ र गुजुल्टो सहरी सौन्दर्यको दुश्मन हुन् । दुर्घटनाका लागि धराप हुन् । सडक, बिजुली, खानेपानी र टेलिफोनका तारहरुको काम समन्वयनमा नहुँदा धेरै बेथिति निम्तिएका छन् । त्यसले हाम्रो विकास अव्यवस्थित त भएको छ नै सरकारी खर्च पनि अनावश्यक रुपमा खेर गएको छ । कहिले उही सडक भत्काउने, कहिले बिजुलीका पोल सार्ने त कहिले खानेपानी खन्ने गरी पटकपटक काम हुँदा खर्च दोहोरिन्छ र खेर पनि जान्छ । यस्तोखाले विकासे प्रणालीले देश उँभो लाग्दैन ।







माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया