कोरलाका सीमा स्तम्भ अनुमगन

सुन्दरकुमार थकाली २०७९ फागुन २२ गते १०:२४

जोमसोम ।
उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको मुस्ताङको कोरला नाका क्षेत्रमा नेपाली र चिनियाँ सुरक्षाकर्मीले शनिबार संयुक्त रुपमा सीमा स्तम्भ अनगुमन गरेका छन् । चिनियाँ पक्षबाट कोरला नाकामा खटिएका चाइना आम्ड पुलिस फोर्सका सुरक्षाकर्मी र नेपाल पक्षबाट मुस्ताङको लोमान्थाङ २ नेचुङ स्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) टोलीले कोरला क्षेत्रमा एविभिन्न सीमा स्तम्भ अनुगमन गरेको हो ।

Advertisement

नेपाल पक्षबाट लोमान्थाङ स्थित नेचुङमा रहेको सशस्त्र प्रहरीको बिओपी टोलीले बर्खा याममा महिनैपिच्छे सीमा स्तम्भ अनुगमन तथा गस्ती गर्ने गर्छ । हिउँद याममा अत्यधिक चिसो र हिमपात हुने भएकाले त्यहाँ रहने बिओपी टोलीलाई सीमा स्तम्भको गस्ती र अनुगमन गर्न कठिनाइ पर्छ । हिउँद याम सकिएर गर्मी सुरु भएलगत्तै उत्तरी कोरला नाका क्षेत्रमा आपसी समन्वयमा सीमा स्तम्भ अनगुमन तथा गस्तीलाई तीव्रता दिइएको सशस्त्र प्रहरी बल ३३ नं. गुल्मले जनाएको छ ।

हिउँदपछिको पहिलो सीमा नाका अनुगमनमा नेपाल पक्षबाट नेचुङ स्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी)बाट सशस्त्र प्रहरी निरीक्षक गोपाल बिष्टको कमान्ड र चिनियाँ पक्षबाट चाइना आम पुलिस फोर्सका इन्स्पेक्टर माओ चुहानको कमान्ड थियो । सशस्त्र प्रहरीको बिओपीबाट ९ जना र चाइना आम पुलिस फोर्सको तर्फबाट १२ जना सम्मिलित संयुक्त टोलीले कोरला क्षेत्रको सीमा अनुगमन गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

चिनियाँ सुरक्षाकर्मी र नेपाली बिओपीको संयुक्त टोलीले कोरला क्षेत्रमा रहेका सीमा स्तम्भहरु अनुगमन गरेको हो

चिनिया र नेपाली सुरक्षाकर्मीले कोरला क्षेत्रमा आ–आफ्नो भूमिबाट संयुक्त सुरक्षा अनुगमन गरेका हुन् । मुस्ताङको लोमान्थाङ स्थित नेचुङमा सशस्त्र प्रहरीको (बिओपी) ३ वर्षअघि नै स्थापना भइसकेको छ । त्यहाँ एक जना सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा २५ जना सशस्त्र प्रहरी टोली सुरक्षाका लागि बसेको छ । मुस्ताङको उत्तरी कोरलानाका क्षेत्रमा कुल १६सीमा स्तम्भ छन् । जसमध्ये कोरलादेखि डोल्पातर्फ १८ देखि २३ नं. सीमा स्तम्भ पर्छन् भने कोरलादेखि मनाङतर्फ २५ देखि ३३ नं सीमा स्तम्भ पर्छन् ।

Advertisement

कोरलानाका उत्तरी चीनको तिब्बत जोड्ने २४ नं. सीमा स्तम्भ ट्रान्जिट प्वाइन्ट हो । मुस्ताङको उत्तरी कोरला नाका क्षेत्रमा विगत ३ वर्षदेखि सशस्त्र प्रहरीको (बिओपी)टोलीले अनुकूल समयमा नियमित सीमा अनुगमन गरिरहेको छ । नेपाली सेनाको सानो टुकडी केही वर्षअघि लोमान्थाङ तल थुर्रलुङ फाँटमा क्याम्प खडा गरी व्यवस्थापन गरिसकेको छ । नेपाली सेनाले चालु वर्षको भदौमा उत्तरी कोरलानाकाको ३३ नं सीमा स्तम्भको अनुगमन गरेको थियो ।

कोरलानाका स्थित ३३ नं. सीमा स्तम्भ २०४५ सालमा स्थापना गरिएको थियो । भौगोलिक रुपमा अत्यन्तै विकट मानिएको ३३ नं. सीमा स्तम्भ गत वर्षसम्म अज्ञात थियो । सशस्त्रले मुस्ताङ र चीनको कोरला क्षेत्रमा १८ देखि ३२ नं. सीमा स्तम्भको अनुगमन गरे पनि ३३ नं. सीमा स्तम्भको अनुमगन गर्न सकेको थिएन ।

जोमसोम स्थित नेपाली सेनाको पहलमा स्थानीय २ युवाको सहयोगमा ३३ नं. सीमा स्तम्भको ३४ वर्षपछि पहिचान गरिएको थियो । चीन र नेपालबीचको सीमाना कोरला नाकाबाहेक मनाङ्तर्फ ९ वटा र डोल्पातर्फ ६ वटा सीमा स्तम्भ छन् ।

उत्तरी कोरला नाका क्षेत्रको सीमा स्तम्भ अनुगमनका लागि नेपाली सेनाको टोली आइतबार बिहान त्यस क्षेत्रतर्फ प्रस्थान गरेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त बस्नेतले जानकारी दिए । उत्तरी कोरलानाका क्षेत्रको १८ देखि २८ नं. सीमा स्तम्भहरुको अनुमगन गर्ने उद्देश्यले सेनाको टोली त्यसतर्फ जाँदै छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया