आजबाट मतदाता नामावली अद्यावधिक

समाधान संवाददाता २०७९ फागुन २२ गते १०:३६

पोखरा ।
गण्डकी प्रदेश निर्वाचन कार्यालय कास्की (प्रमुख नाम दर्ता अधिकारीको कार्यालय)ले सोमबारदेखि स्थानीय तहका वडा कार्यालयबाट मतदाता नामावली अद्यावधिक (दाबी, विरोधसमेत) थाल्ने भएको छ । निर्वाचन आयोग नेपालको वार्षिक कार्यक्रम अन्तर्गत फागुन २२ गतेदेखि चैत १ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्न लागेको प्रदेश निर्वाचन अधिकारी तथा प्रमुख नाम दर्ता अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए ।

Advertisement

उनले मतदाता नामावलीको अद्यावधिकको काम फागुन १ गतेदेखि अनौपचारिक रुपमा भएता पनि फागुन २२ गतेदेखि मुख्य कार्यक्रम सुरु हुने बताए । ‘प्रत्येक वडामा मतदाता नामावली पठाएर त्रुटि भएमा सम्बन्धित प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा निवेदन दिन सकिन्छ,’ उनले भने, ‘मतदाता नामावली अद्यावधिकको क्रममा कसैले झुट्टा विवरण दिएर नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोधमा उजुरी दिन सक्ने व्यवस्था गरिएको छ । मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिन सकिन्छ ।’

उनले मतदाता नामावलीमा कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएकोमा एक स्थानमा कायम गर्न निवेदन दिन सकिने जानकारी दिए । उनले बसाई सरी अन्यत्र गएका, मृत्यु भएका तथा नागरिकता त्यागेका वा रद्द गरेका मतदाताको विवरण स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट विवरण प्राप्त गर्न सकिने बताए । स्थानीय पञ्जिकाधिकारीले दिएको विवरणको आधारमा बसाई सरी अन्यत्र गएका तथा मृत्यु भएका मतदाताको जाँचबुझ गरी प्रमुख नाम दर्ता अधिकारी हटाउने निर्णय गर्न सक्ने उल्लेख गरे ।

निर्वाचन आयोगले देशैभरी मतदाता नामावली अद्यावधिकको अभियान चलाएको छ । गत मंसिरमा भएको आम निर्वाचन यता प्रदेश निर्वाचन कार्यालय कास्कीका ५ सय १६ जनाले नाम दर्ता गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाट, नेकपा (एमाले) जिल्ला कमिटी कास्कीका सचिव बैनबहादुर अधिकारी क्षत्री, कास्कीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कार्यक्रम व्यवस्थापन समितिका संयोजक टेकबहादुर केसी, नेकपा (माओवादी केन्द्र) कास्कीका संयोजक केशव पौडेल, प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपाने लगायतले मतदाता नामावली अद्यावधिकका बारेमा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया