शीतलज्योति कपमा ६ खेल समापन

समाधान संवाददाता २०७९ फागुन २२ गते ११:०२

पोखरा ।
तेस्रो शीतलज्योति कप सेभेन ए साइड फुटबल प्रतियोगितामा अन्तर्गत आइतबार पहिलो चरणका ६ खेलहरु सम्पन्न भएका छन् । शीतलज्योति युवा क्लबको आयोजनामा पोखराको अम्मरसिंह खेल मैदानमा आइतबार भएको खेलमा तिला फुटबल क्लब, दीप युनाइटेड, इलाइट एफसी, भद्रकाली एफसी, बी थट्टीन र कमल पोखरी बीले जित हासिल गरेका छन् ।

आइतबारको पहिलो खेलमा तिला एफसीले जेम्स एफसीलाई ४—० को एकतर्फी फराकिलो गोल अन्तरले पराजित गर्‍यो । तिलाको जितमा अभिषेक थापा, बादल रानाभाट, सञ्जु मगर र रविन तामाङले गोल गरे । दोस्रो खेलमा इलाइट एफसीले कमल पोखरी एको समूहलाई २—१ को झिनो गोलअन्तरले पराजित गर्‍यो । इलाइटको जितमा कृष्ण कुमाल र सुदीप थापाले एक/एक गोल गर्दा कमल पोखरीका सागर गुरुङले एक गोल गरे ।

तेस्रो खेलमा दीप युनाइटेडले युनाइटेड अर्चलबोटलाई १—० को झिनो गोल अन्तरले पराजित गर्‍यो । दीपका प्रनिल रानाभाटले गरेको एक गोल नै निर्णायक बन्न पुग्यो । चौथो खेलमा भद्रकाली एफसीले सहज जित दर्ता गर्‍यो । प्रतियोगितामा नेपाल मुस्लिम युथ क्लब सहभागि नभएको हुँदा भद्रकालीले वाकओभरमा सहज जित दर्ता गरेको हो ।

Advertisement

पाँचौं खेलमा बि थट्टीनले याम्दी एफसीलाई ३—० को सान्दार जित हासिल गर्‍यो । बि थट्टीनको जितमा दीपेश गुरुङले दुई र मिलन गुरुङले गोलको योगदान दिए । आइतबारको अन्तिम खेलमा कमल पोखरी बीले काउरे बयर घार्र २—१ को गोल अन्तरले पराजित गर्‍यो । कमल पोखरीको जितमा सन्दीप गुरुङले दुई गोल गरे । काउरेका समीर गुरुङले एक गोल गरे । सोमबार पनि पहिलो चरणकै ६ खेलहरु हुने भएको रेफ्री सौरभ गुरुङले बताए ।

फागुन २७ सम्म चल्ने प्रतियोगितामा २९ टिमको सहभागिता रहेको संयोजक सन्तोष गुरुङले बताए । प्रतियोगिताका बिजेताले १ लाख ५५ हजार ५ सय ५५, उपविजेताले ८५ हजार ५ सय ५५ रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र वितरण गरिने भएको उनले जनाए । सेमिफाइनलमा प्रबेश गर्ने टिमलाई १० हजार, प्रतियोगिताको क्वाटरफाइनलबाट म्यान अफ दी म्याच घोषित गरिने भएको छ ।

Advertisement

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई माउन्टेन वाइक पुरस्कार वितरण गरिने क्लबका अध्यक्ष नरप्रसाद गुरुङले बताए । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजारको साथमा ट्रफी प्रदान गरिने भएको सचिव पूर्ण गुरुङले जनाए । स्थानीय खेलाडी उत्पादन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया