सम्पादकीय: फेवातालमा सुरक्षाको प्रश्न

समाधान संवाददाता २०७९ फागुन २२ गते १२:००

सहरको प्रमुख पर्यटकीय गन्तव्य फेवातालको जल यातायातको सुरक्षामा फेरि प्रश्न उठेको छ । शनिबार तुफानी हावाहुरीले ४ वटा डुंगा र कायक पल्टायो, १० जना पानीमा डुबे । धन्न उनीहरुको उद्धार हुनसक्यो, तर दुर्भाग्य एकजनाको भने ज्यानै गयो । पोखरा १ की ७० वर्षीया यममाया गिरीको घाइते भएर उपचारका क्रममा मृत्यु भयो । फागुन चैतको मौसममा मध्यान्हपछि फेवातालमा तुफानी हावाहुरी चल्छ ।

यस्तो बेला र अरु बेला पनि फेवामा डुंगा दुर्घटना भएर धेरैजनाले यसअघि ज्यान गुमाएका छन् । दशकअघिदेखि डुंगा चढ्नेले अनिवार्य रुपमा लाइफज्याकेट लगाउनुपर्ने नियम बन्नु त्यस्तै दुर्घटनाको पाठ सिकाइ थियो । जब कि धेरै मुलुकमा जल यातायातमा लाइफज्याकेट अनिवार्य भएको धेरै पहिलादेखि थियो । तर आफैंले दुर्घटना भोगेरमात्रै नेपालीले नियम बसाल्यौं । ढिला भए पनि त्यो नियमले सुरक्षा बढाएको छ । जुन सुखद हो ।

दुर्घटना न्यूनीकरण गर्न अपर्झट दुर्घटना भइहाले उद्धारका लागि सजिलो होस् भनेर सुरक्षा टावर पनि फेवा किनारको बाराहीघाटमा छ । त्यो पनि एउटा उपलब्धि मान्नुपर्छ । शनिबारको घटनाले फेरि झस्काएको छ र सन्देश दिएको छ—लाइफ ज्याकेट, सुरक्षा टावर मात्रै फेवातालको जल यातायात र अरु दुर्घटनाका जोखिम न्यूनीकरणमा पर्याप्त छैनन् । त्यो के भने हावाहुरी चल्ने मौसममा डुंगा र अरु साधन चलाउन होसियारी अपनाउनुपर्छ र यस्तो बेला सकेसम्म मौसम हेरेरमात्रै डुंगा चलाउन दिनुपर्छ ।

Advertisement

समुद्रमा आँधी आउने, सुनामी आउने संकेत पहिल्यै थाहा पाउने यन्त्र र उपकरण तथा प्रविधिको विकास भइसकेर प्रयोगमा छ । तर फेवा जस्ता साना जलक्षेत्रमा त्यस्तो प्रबन्ध भइसकेको छैन । नेपालको मौसम विभागले हिजोआज देशका कुनकुन ठाउँमा हावाहुरी आउँछ र सतर्क रहनुपर्छ भन्ने सन्देश पहिल्यै दिने व्यवस्था गरिसकेको छ । त्यस्तो सूचना विभाले बेलाबेला दिन्छ । तर फेवा ताल जस्तो सीमित र सानो क्षेत्रको मौसमी पूर्वामान नेपालका हकमा अझै कठिन हुने मौसमविद बताउँछन् ।

विज्ञहरुकै भनाइमा तालको मौसम र यहाँ हावाहुरी चल्न सक्ने पूर्वानुमानका लागि तालमै वा वरिपरि कुनै यन्त्र, उपकरण राखेर थाहा हुँदैन । यहाँसम्म आउने हावा र हुरीका सम्भावित स्रोतहरुसम्म संकेत यन्त्रहरु चाहिन्छ । र, तुरुन्ता तुरुन्तै उत्पन्न हुने र बिलाउने मौसमी परिवर्तनको पूर्वानुमान आफैमा कठिन कार्य हो ।

Advertisement

तत्काललाई त्यस्तो पूर्वानुमान व्यवस्था गर्न नसकिए पनि हावाहुरी लाग्ने मौसमयमा जुनसुकै बेला पनि तालमा डुंगा लैजान दिन वा लैजाने प्रवृत्तिमा नियन्त्रण जरुरी छ । हावाहुरीको मौसममा मध्यान्हपछि विशेष होसियारी अपनाउन सरोकारवाला सबैले ध्यान दिनुपर्छ । दुर्घटनाकै कारण फेवातालमा ज्यान गएको खबरले सिंगो पोखराको पर्यटनमा नकारात्मक सन्देश जान्छ, त्यसतर्फ सचेत हुनुपर्छ ।

तपाईको प्रतिक्रिया