फागुमा रंगियाे लेकसाइड

पर्यटक भन्छन्: विकासले फड्को मारे पनि, मानिस उस्तै सहयोगी रहेछन्

सञ्जय रानाभाट २०७९ फागुन २३ गते १०:२४

सञ्जय रानाभाट, पोखरा ।
‘खासमा मलाई भन्नुहुन्छ भने होली नेपालमा भन्दा भारतमा रमाइलो लाग्छ । किनभने नेपालमा धेरै मान्छेले यो पर्व मनाएको देख्दिनँ । भारतमा ठूलो संख्याले होली मनाउँछन् । होली हेर्ने र खेल्ने मानिसको जमात नै हुन्छ । धेरै मान्छेले होली मनाउँदा मलाई आनन्द आउँछ ।

तर, पनि मेरी श्रीमती र मैले सल्लाह गर्‍यौं, यस पटक नेपाल गएर होली मनाउनुपर्छ । त्यसैले आज यहाँ छौं,’ सोमबार पोखरा लेकसाइडमा होली मनाइरहेका प्रान्सेली मुलका अमेरिकी जोन लिगले भने । पटक पटक नेपाल आउनुमा नेपालीले देखाएको आत्मीयता कारक रहेको उनले सुनाए ।

अघिल्लो पटक नेपाल आउँदा उनीहरुलाई नेपालीहरुले गर्ने व्यवहार र नेपालीको चालचलनले मन छोएको थियो । यसअघि नै ३ पटक पोखरा घुमिसकेका जोन प्रत्येक वर्ष जस्तो घुम्न निस्कन्छन् । तर, नेपाल नआएको ६ वर्ष भएको थियो । उनी प्रायः भारत र नेपालका विभिन्न ठाउँ पुगेका छन् ।

Advertisement

अघिल्लो पटक कास्की आसपासका हिमालको फेदसम्म पुगेको उनको जोडी यस पटक ट्रेकिङ जाने कि नजाने दोधारमा छ । दोधारकैबीच फागु पूर्णिमा अर्थात् होली मनाउन उनीहरु आइतबार पोखरा आइपुगेका हुन् । मौसमले साथ दिए कास्की आसपास घुम्ने योजना बनाएका जोनको घुम्ने ठाउँको फेरिस्त लामो छ ।

सोमबार पोखरामा फागुपूर्णिमा मनाए । ‘पटक पटक नेपाल आएको छु । यहाँ आउनुमा २ चिज छन्ः हिमाल र यहाँका मान्छेहरु । यहाँबाट देखिने प्राकृतिक सन्दरताले म मोहित छु । अघिल्लो पटक र अहिले यहाँ धेरै परिवर्तन भएछ,’ उनले भने, ‘अहिले विकासले गति लिएछ । सरसफाइमा पोखराले अझ बढी ध्यान दिएछ । यसअघि आउँदा फेवातालमा जलकुम्भी भेटिन्थ्यो । तर, अहिले आनन्द आयो ।’

Advertisement

पोखरा आसपासमा धेरै घुम्न र भुलाउन सक्ने जिपलाइन, केबलकार र डाँडाहरुमा रेस्टुरेन्ट बनिसकेको उनले सुनाए । ‘आज होलीमा रमाइरहँदा मैले फिल नै गरेको छैन, म स्वदेशमा छुु कि विदेशमा । यसले मलाई आनन्दित बनाएको छ । नेपालीको विदेशीलाई गर्ने व्यवहार नै मलाई मनपर्छ,’ उनी थप खुले ।

जोन दम्पतीमात्र होइन, सोमबार पोखराको लेकसाइडमा होली मनाउन स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लाग्यो । रंगीबिरंगी रङसँगै लाउड म्युजिकमा उनीहरु झुमेका थिए । सडक पेटीमा एकापसमा अबिर दल्दै रमाएका स्वदेशी—विदेशी पर्यटकले सोमबार लेकसाइड गुलजार बन्यो ।

स्कटल्यान्डबाट पहिलो पटक नेपाल आएकी ‘जोइ’ पनि पोखराको सुन्दरतादेखि मोहित भइन् । १८ वर्षीय जोइ ३ साथीसँग नेपाल घुम्न आएकी हुन् । उनले यसअघि होली मनाएकी थिइनन् । फोटोमा देखेकी थिइन् । पहिलो पटक रंगसँग खुसी साट्न रमाइलो र आनन्द आएको उनी सुनाउँछिन् । ‘यो पर्व नै रंगीचंगीको रैछ । यहाँबाट देखिने सुन्दरता नै मलाई मन प¥यो । अझ यहाँबाट देखिने हिमाल, ताल अझ बढी आर्कषक लाग्यो,’ उनले भनिन् ।

होलीको दृश्य र वरिपरिको वातावरण साँच्चै मनमोहक र रंगीन हुन्छ । होली मनाउनुको रहस्य होलिका दहनसँग जोडिएको छ । अचेल रङ खेल्ने, पिचकारी हानेर आपसी सदभाव बाँडेर होली मनाइन्छ । रंगहरुको पर्व होलीमा विदेशी पर्यटक पनि रमाएका हुन् । रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान)ले पोखरामा आयोजना गरेको होली महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकहरु रमाएका हुन् ।

लेकसाइडमा आयोजित कार्यक्रममा ५/६ सय विदेशी पर्यटक सहभागी बनेको रेवनले जनाएको छ । तर, सोचे जति पर्यटक यस पटक नभएको रेवन पोखराका सदस्य वीरेन्द्र शेरचन बताउँछन् । लेकसाइडमा होली नियमित कार्यक्रम बनेको छ । तर, सोचे अनुरूप पर्यटन नआएको उनले उल्लेख गरे ।

कोरोना भाइरसपछि पोखराको पर्यटन अझै लयमा आइसकेको छैन । सरकारको उदासीनताले महामारीका कारण थला परेको पर्यटन क्षेत्र लयमा फर्किन नसकेको व्यवसायीको गुनासो छ । कोभिड–१९ महामारीले थला परेको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने सरकारी योजना प्रभावकारी हुन नसक्दा पर्यटक विगतमा भन्दा घटेको उनीहरु बताउँछन् । अहिले पोखरा काठमाडौंको सडक मार्ग पृथ्वी राजमार्ग असहज हुनु र माघ १ गतेको विमान दुर्घटनाले पनि पर्यटक घटेको उनीहरु बताउँछन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया