‘यातायात क्षेत्रको लगानी जोखिममा छ’

पोखरा ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन माइक्रोबस इकाइ कमिटीको ९ औं अधिवेशन सोमबार भएको छ । अधिवेशनले अध्यक्ष राम थापाको नेतृत्वमा ११ सदस्यीय नयाँ इकाइ कमिटी चयन गरेको छ ।
कमिटीको उपाध्यक्ष सञ्जीव श्रेष्ठ, सचिव यमन सारुमगर, सहसचिव पदमबहादुर थापा, कोषाध्यक्ष मनोज गुरुङ छन् ।सदस्यमा कृष्णप्रसाद भण्डारी, छविराम पौडेल, दीपक घले, राजुदास नेपाली, ईन्द्र श्रेष्ठ र सुमन विश्वकर्मा छन् । अधिवेशनले कृष्ण थापा, भानुभक्त सुवेदी, रवीन्द्र वाग्ले, लक्ष्मण गिरी र ऋषि ढकाल रहेको सल्लाहकार समिति चयन गरेको छ ।
कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपमहासचिव तथा गण्डकी इन्चार्ज विष्णुबहादुर पराजुलीले यातायात मजदुर तथा व्यवसायीले सार्वजनिक यातायात क्षेत्र सुधारका लागि आन्दोलन गरेको बताए ।
‘सार्वजनिक यातायात क्षेत्र अस्तव्यस्त भएका कारण यातायात श्रमिकले सास्ती व्यहोर्नु परेको छ,’ उनले भने, ‘ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र निलम्बन गर्नेदेखि अनेक बाहानमा जरिवाना लगाएको छ । सार्वजनिक यातायात क्षेत्रमा लगानी अनुसारको प्रतिफल, दिगोपन र सुरक्षा प्रमुख समस्या छ ।’ उनले व्यवसायीले लगानी अनुसारको मुनाफा तथा श्रमिकको लगानी अनुसारको प्रतिफल पाउन नसकेको दाबी गरे ।
उनले सरकारले २० वर्षे सवारीलाई विस्थापन गर्न लागेकोमा असहमति प्रकट गरे । उनले बर्सेनी ६ हजार सवारी विस्थापन गर्दा ९ अर्ब ३५ करोड रकम विस्थापित हुनुका साथै धेरै व्यवसायी र मजदूर सडकमा पुग्ने दाबी गरे । उनले प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले यान्त्रिक परीक्षणका आधारमा उपयुक्त सवारी साधनलाई मात्र चल्न दिने व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको जानकारी दिए ।
पृथ्वीराजमार्ग बस कम्पनी प्रालि अध्यक्ष योगेन्द्रबहादुर केसीले यातायात व्यवसायीका समस्या पहिचान गरी अल्पकालीन र दीर्घकालीन रुपमा समाधान गर्न प्रस्ताव गरे । उनले यातायात क्षेत्रमा निजी क्षेत्रको लगानी संरक्षण गर्न सरकारसँग माग गरे ।
यातायात मजदूरले मादक पदार्थ गाँजा सेवन गरेर सवारी चलाएर लापरवाही गरेमा नैतिक जिम्मेवारी नलिने घोषणा गर्दै अध्यक्ष केसीले यातायात व्यवसायीको पेशागत स्थायित्व नहुँदासम्म योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्न नसक्ने जिकिर गरे ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश कमिटी अध्यक्ष विष्णुबहादुर केसीले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा ल्याउन सके यातायात क्षेत्रमा समेत पेन्सनको व्यवस्था हुन सक्ने तर्क गरे । उनले यातायात मजदूरले ट्राफिक नियम र सवारी ऐनको बारेमा जानकारी राख्न सके कारवाही भोग्न नपर्ने उल्लेख गरे ।
जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी वरिष्ठ ट्राफिक प्रहरी नायब निरीक्षक शिवप्रसाद पाठकले ट्राफिक नियम पालना गरेर सवारी चलाउन अनुरोध गरे । उनले माइक्रोबसको समस्या हरेक दिन जसो आउने गरेको जानकारी दिए ।
कार्यक्रममा जनजागृति माध्यमिक विद्यालय पोखरा १८ का प्रधानाध्यापक यम थापा, अखिल नेपाल यातायात मजदुर संघ गण्डकी प्रदेश सचिव अर्जुन पाैडेल, नेपाल यातायात स्वतन्त्र मजदूर संगठन गण्डकी प्रदेश कमिटी सहसचिव तथा माइक्रो बस सहइन्चार्ज भरत आलेमगर, संगठन माइक्रोबस इकाइ कमिटी अध्यक्ष भानुभक्त सुवेदी, उपाध्यक्ष रवीन्द्र वाग्ले लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया