सन्ध्यालाई ललित गौचन स्मृति सम्मान

पोखरा ।
विश्वभर फैलिएको कोभिड महामारीका बेला धेरैलाई आफू र आफ्नै परिवारको मात्रै चिन्ता थियो । कमै थिए, जसले अरुको चिन्तामात्रै गरेनन्, सक्दो उद्धार र राहत, सहयोग पनि गरे । त्यस्तैमध्येकी थिइन् सन्ध्या गुरुङ ।
कुनै सम्मान र पुरस्कार लागि सन्ध्याले सेवा गरेकी थिइनन् । तर समाजले उनको सेवाको मूल्यांकन गरिहेकै थियो, सहयोग पाउनेहरुले आशीर्वाद पनि दिएकै थिए । त्यसमाथि झन् उनलाई नागरिक समाज कास्कीले ललित गौचन स्मृति समाजसेवा सम्मान–२०७९ प्रदान गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सन्ध्यालाई मंगलबार सम्मान अर्पण गरे ।
ललित गौचन स्वयं समाजसेवी थिए । उनको स्मृतिमा परिवारले सम्मान खातिर अक्षयकोष स्थापना गरेको थियो । गौचन स्मृति सम्मान प्राप्त गरेपछि सन्ध्याले रहर र परिवारको प्रेरणाका कारण समाजसेवामा लागेको सुनाइन् । ‘यो सम्मानले मलाई थप प्रोत्साहन मिलेको छ,’ उनले भनिन् ।
सन्ध्याले जीवनको केही समय हङकङमा बिताइन् । पोखरा भैरवटोलमा जन्मेहुर्केकी उनी अचेल लेकसाइडकी पर्यटन व्यवसायी हुन् । नागरिक समाजका प्रवक्ता गोकुलबहादुर कार्कीका अनुसार ललित गौचन स्मृति सम्मानबाट यसअघि प्रभा पन्त, गिरिराज अधिकारी, झपिन्द्रराज रेग्मी, विश्वरत्न शाक्य, शिवमाया श्रेष्ठ, विष्णुप्रसाद गुरुङ, दिलीपराज श्रेष्ठ सम्मानित भइसकेका छन् । पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्यले ललित गौचनलाई आफूले नजिकबाट चिनेको भन्दै सम्मान प्राप्त गर्ने सन्ध्यालाई शुभकामना दिए ।
प्रजिअ केसीले महिलाले परिवारबाट बाहिर निस्केर समाजसेवामा उत्रनु चुनौतीपूर्ण रहेको बताए । त्यो चुनौती सामना गरी समाजसेवामा लागेर सन्ध्याले उदाहरण प्रस्तुत गरेको प्रजिअ केसीको भनाइ थियो । उनले नागरिक समाज कास्कीको समय आन्दोलनको पनि प्रशंसा गरे । उनले भने, ‘११ बजे भनेर बोलाउने १ बजेसम्म कार्यक्रम सुरु नगर्न चलन छ, नागरिक समाजले समयको महत्व बुझेको छ, त्यसले समयमा तलमाथि गर्दैन ।’
नागरिक समाज कास्की संस्थापक संयोजक रामबहादुर पौडेलले २०६७ साल असोजमा स्थापित नागरिक समाजले पटाका आतंकविरुद्धको अभियानबाट काम थालेको सम्झना गरे । त्यतिबेलाका प्रजिअ शम्भु कोइरालाले कास्कीलाई पटाका निषेधित क्षेत्र घोषणा गरी आफूहरुको अभियानलाई साथ दिएको उनले सुनाए ।
समाजका कावा अध्यक्ष नरेन्द्र लालचनको अध्यक्षतामा भएको कार्यक्रममा अक्षयकोषदाता ओम गौचन, प्रतिभा छनोट समिति संयोजक दुर्गाकुमार शर्मा, पूर्व सम्मानित व्यक्तित्व शिवमाया श्रेष्ठ, खहरे आमा समूहका निवर्तमान अध्यक्ष लगायतले शुभकामना व्यक्त गरे । शर्माको संयोजकत्वमा रहेको छनोट समितिमा अर्जुन भण्डारी र रामचन्द्र लामिछाने थिए ।
तपाईको प्रतिक्रिया