पोखराबाट आजदेखि रात्रिकालीन उडान सुरु हुने

समाधान संवाददाता २०७९ फागुन २५ गते १०:४२

पोखरा ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरले बिहीबारदेखि चार सहरमा नियमित रात्रिकालीन उडान गर्ने भएको छ । पहिलो दिन काठमाडौं, भैरहवा, नेपालगन्ज र भद्रपुरबाट रात्रिकालीन उडान भरेर जहाज पोखरा विमानस्थलमा अवतरण गर्नेछन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग सेड्युल पास गराएर बुद्धले पोखरा विमानस्थलबाट व्यावसायिक रूपमा पहिलो पटक रात्रिकालीन उडान सुरु गर्न लागेको हो ।

पोखराबाट चार सहरमा रात्रिकालीन उडान गर्ने गरी सम्पूर्ण तयारी पूरा भएको बुद्ध एयरका मार्केटिङ डाइरेक्टर रूपेश जोशीले बताए । काठमाडौंबाट दुई जहाज बिहीबार राति ९ बजेभित्र पोखरा आइपुग्ने जोशीले जनाए । काठमाडौंबाट पहिलो जहाज राति ७ः३५ बजे पोखराका लागि उडान भर्ने छ। यसैगरी भद्रपुर, नेपालगन्ज र भैरहवाबाट राति ८ बजेभित्र पोखरा विमानस्थलमा जहाज आएर राति यही बस्ने पनि उनले जानकारी दिए। बिहीबारदेखि ५ जहाज राति पोखरामा रहनेछन् ।

जहाजमा यात्रुको चापलाई हेरेर चार सहरमा रात्रिकालीन उडान थपघट हुने पनि उनले सुनाए । पोखरा पर्यटकीय सहर भएकोले रात्रिकालीन उडानमा पनि यात्रुको चाप बढ्ने उनले विश्वास गरे । यसअघि पोखराबाट काठमाडौं, भरतपुर, भैरहवा र नेपालगञ्ज दिउँसो मात्र उडान हुँदै आएका थिए । काठमाडौंबाट जहाज आएपछि मात्र पोखराबाट यात्रु लिएर उडान हुने गर्थ्यो ।

Advertisement

पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बुद्धले बिहीबारदेखि रात्रिकालीन सेड्युल फ्लाइट गर्ने बताए । अब पोखरामा रात्रिकालीन लाइफ अझै चलायमान हुने उनले सुनाए । पर्यटकीय सहरमा रात्रिकालीन उडानसमेत हुनु खुसीको कुरा भएको पोखराका पर्यटन व्यवसायीले बताएका छन् ।

रात्रिकालीन उडान सुरु भएसँगै पर्यटन क्षेत्र थप चलायमान हुने पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले बताए। भद्रपुरको उडानले सिलगुडीलगायत पश्चिमबंगालबाट धेरै पर्यटक आगमन बढ्ने उनले विश्वास गरे । यसअघि सौर्य एयरलाइन्सले दिउँसोको उडान मौसमका कारण समयमै हुन नसकेपछि राति ९ः०५ मा पोखराबाट काठमाडौं उडान गरेको थियो।

Advertisement

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल फागुन ११ गते बिहीबारदेखि रात्रिकालीन उडान र अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको थियो। विमानस्थलमा इन्स्ट्रमेन्ट प्लाइट रुल्स (आईएफआर) प्रणाली लागू भएसँगै रात्रिकालीन र अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थल तयार भएको थियो । विमानस्थलमा इन्स्ट्रमेन्ट प्लाइट रुल्स लागू भएसँगै रातिको समयमा पनि सहज रूपमा उडान र अवतरण गर्न सकिने गरी तयार भएको हो । फेब्रुअरी २३ देखि यो प्रणालीबाट विमान उडान र अवतरण भइरहेको छ । आईएफआर प्रणालीको परीक्षण गरेपछि फागुन ११ गतेदेखि पूर्ण रूपमा आईएफआर प्रणालीबाट जहाजले उडान र अवतरण सुरु भएको थियो ।

यो प्रणाली लागू हुनु अघिसम्म पोखरा विमानस्थलमा बिहान मौसमअनुसार ६ बजेदेखि दिउँसो ५ः३० बजेसम्म मात्र उडान हुँदै आएकोमा अब भने १८ घण्टासम्म उडान हुने गरी विमानस्थल तयार भएको छ । यो प्रणाली लागू भएसँगै बिहान ६ बजेदेखि राति १२ बजेसम्म जहाज उडान भर्न सक्ने गरी तयारी अवस्थामा रहेको विमानस्थलका प्रमुख गौतमले बताए । जहाज उडानको चाप कम भएकोले आवश्यकताअनुसार बढाउने गरी अहिलेलाई भने राति ९ बजेसम्म उडान हुने विमानस्थलले जनाएको छ ।

तपाईको प्रतिक्रिया