कक्षामा सिद्धान्त, बारीमा अभ्यास

सुन्दरकुमार थकाली २०७९ फागुन २५ गते १०:५५
जनआदर्श अमरसिंह माध्यमिक विद्यालयमा खेतीपाती सिक्दै विद्यार्थी । तस्विर: खेम गुरुङ

जोमसोम ।
मुस्ताङमा ३ दर्जनभन्दा बढी सामुदायिक विद्यालय छन् । यीमध्ये ९ वर्षदेखि कृषि प्राविधिक विषय पढाउँदै आएको छ मुस्ताङको थासाङ २ कोवाङको जनआदर्श अमरसिंह माध्यमिक विद्यालयले । यो विद्यालयले विद्यार्थीलाई कृषि बिषयको सैद्धान्तिक र व्यवहारिक शिक्षा दिने गरेको छ ।

ा कृषि विषयमा अध्ययन गर्दै आएका विद्यार्थी सामूहिक रुपमा खेतीपाती गर्न जुट्छन् । कृषि शिक्षकको निर्देशनमा उनीहरुले विभिन्न फलफूल तथा तरकारी लगाउने र गोडमेल गर्ने गरेका छन् । विद्यार्थीलाई फिल्डको कृषि तालिम दिएर शिक्षा दिँदा सिकाई प्रभावकारी हुन्छ । विद्यार्थी पनि कक्षाकोठामा भन्दा फिल्डको प्राविधिक शिक्षा लिन पाउँदा उत्साहित छन् ।

जनआदर्श २०१७ मा स्थापना भएको थियो । सुरुवाती क्रममा निमावि तहको पढाइ सञ्चालन गर्ने विद्यालयले २०३९ मा माध्यमिक तहको शैक्षिक पठनपाठन गर्ने अनुमति पायो । मावि स्वीकृत भएको दोस्रो वर्षमै विद्यालयले कृषि प्राविधिक धारको पढाइ सञ्चालन गर्न थाल्यो ।

Advertisement

मावि तहको कृषि शिक्षा सञ्चालन गरेको जनआदर्शले २०७३ देखि प्लस २ सम्मको कृषि प्राविधिक शिक्षा दिन थाल्यो । यहाँ कृषि बिषयमा प्लस २ उत्तीर्ण गरेका विद्यार्थी कृषि बिषयको ब्याचलर पढ्न पोखरा, काठमाडौं लगायतका कलेजमा पढ्न जाने गर्छन् । विद्यालयमा अहिले ८ कृषि विषय पढाउने शिक्षक छन् ।

कृषि धारतर्फको यस विद्यालयमा मुस्ताङसहित अन्य जिल्लाका विद्यार्थी कृषि शिक्षा लिन आउँछन् । विद्यालयमा आवासीय सुविधा उपलब्ध छ । कृषि र पशुपालनको सम्भावना भएको हिमाली जिल्ला मुस्ताङमा विगतमा दक्ष कृषि प्राविधिक जनशक्ति नहुँदा यहाँका कृषकले भरपर्दो कृषि कर्मलाई व्यवहारिक बनाउन सकेका थिएनन् ।

Advertisement

यहाँका कृषकलाई कृषिको प्राविधिक ज्ञान, सीप र व्यवहारिक शिक्षा प्रदान गर्न विद्यालयले महत्वपूर्ण योगदान दिएको छ । जनशक्ति उत्पादन र कृषिको व्यवहारिक शिक्षा प्रदान गर्दै आएको जनआदर्शले व्यवहारिक र सैद्धान्तिक शिक्षा दिने गरेको प्रधानाध्यापक खेम गुरुङ बताउँछन् ।

चालु वर्षको प्लस टु नतिजामा जिल्लाकै सर्वाधिक १२ विद्यार्थी यहाँबाट उत्तीर्ण भएका थिए । जनआदर्शमा अहिले ६२ विद्यार्थीले आवासीय सुविधा लिएका छन् । छात्रावासमा बस्ने विद्यार्थीलाई चाहिने तरकारी विद्यालय आफैंले उत्पादन गर्ने गरेको छ ।

आगामी आर्थिक वर्षदेखि उत्पादन क्षमता वृद्धि गरी व्यवसायिक बनाउँदै लैजाने योजना प्रधानाध्यापक गुरुङले सुनाए । अहिले यस विद्यालयमा कृषि विषयमा कक्षा ९ देखि १२ सम्म ७० जना विद्यार्थी छन् । कुल विद्यार्थी भने १ सय ६८ जना छन् ।

नआदर्शको स्वामित्वमा ६४ रोपनी जग्गा छ । जसमा कृषि शिक्षा पढ्ने विद्यार्थीले प्रयोगात्मक शिक्षा लिने गरेका छन् । कृषि विषयका शिक्षकले विद्यार्थीलाई विभिन्न फलफूल तथा तरकारी खेती गर्ने तरिका सिकाउँदै आएका छन् । विद्यालयको जग्गामा ५० वटा उच्च घनत्व प्रविधिमा आधारित स्याउका बोट छन् ।

ती स्याउका बोटले उत्पादन दिन थालेका छन् । १३ वटा लोकल ओखरका विरुवा लगाइएका छन् भने गत वर्ष थप २० उच्च घनत्व प्रविधिमा आधारित ओखरका बिरुवा लगाइएको छ । । विद्यालयले हरियो सागसब्जीका लागि ६ ग्रिन हाउससमेत निर्माण गरेको छ । बर्सेनि आलु, बन्दा, गाँजर, काउली, फापर, केराउ लगायतका तरकारी विद्यालयमा उत्पादन हुन्छन् ।

यस वर्ष ३ सय क्विन्छल आलुको बिउ लगाइएको उनले जनाए । ‘विद्यार्थीलाई विद्यालयकै जग्गामा तालिम दिने गरिएको छ । यसो गर्दा विद्यार्थीलाई व्यवहारिक प्राविधिक शिक्षा लिन सहज भएको छ,’ उनले भने, ‘यहाँ उत्पादन गरिएको फलफूल र तरकारी यही खपत हुन्छ, छात्रावासका लागि केही किन्नु पर्दैन ।’

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया